सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यस्ताे छ

काठमाडौँ । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आबको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताइन् ।

उनले देशको अर्थतन्त्रलाई उत्पादनशील र सुदृढ तुल्याइने जानकारी दिइन् । कोभिड–१९ ले राष्ट्रको अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसको पुनरुत्थानका लागि सरकारले विविध कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिने उनले बताइन् । आर्थिक गतिविधि बढाउने, उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी गर्ने, फजुल खर्च घटाउने, विकास–निर्माणको समन्यायिक वितरण, रोजगारीका अवसरको सिर्जनालाई विशेष जोड दिइने राष्ट्रपतिले बताइन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण वैदेशिक सहयोगमा कमी आउने अनुमान गर्दै उनले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई अधिक प्राथमिकता दिने तथा आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित रहने बताइन् ।

कोभिड–१९ को महामारीसँग लड्नु परेको अहिलेको विषम परिस्थितिमा मुलुकको समग्र अर्थतन्त्रको उत्थानका लागि कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, औद्योगिक विकास तथा उत्पादकत्व वृद्धि, राष्ट्रिय गौरवका आयोजनाको तोकिएको समय र लागतमा सम्पन्न गरिने तथा अन्य आयोजनको पुनःप्राथमिकीकरण गरेर अघि बढ्ने नीति अवलम्बन गरिने उनले बताइन् ।

कोरोना भाइरसको महामारीका बीच आएको सरकारको नीति तथा कार्यक्रम स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासमा बढी केन्द्रित देखिएको छ । कोभिड–१९ को महामारीका कारण विश्वभरी नै ठूलो संकट पैदा गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मौजुदा स्वास्थ्य सेवा र सुविधा अपर्याप्त देखिएको बताइन् । राष्ट्रपति भण्डारीले वर्तमान सरकारले दुई वर्षको छोटो अवधिमै उत्साहवर्द्धक उपलब्धि हासिल गर्न सफल भएको बताइन् ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ

भर्खरै

सम्बन्धित खबर

Language »