सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजकाे पत्रपत्रिकाः चीनबाट फर्किएका नेपाली, ललिता निवास जग्गा प्रकरण, सानेपा हत्याकाण्ड,

आज फागुन ५ गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुमा चीनबाट फर्किएका नेपाली, ललिता निवास जग्गा प्रकरण, सानेपा हत्याकाण्ड, पूर्व सभमुख महराकाे मुद्धाकाे फेसला लगायत समाचारले प्राथमिकता पाएका छन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी दर्ता भएको कान्तिपुर दैनिकमा समाचार छ । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार जाहेरी दिइएको हो । १० महिना लगाएर तयार पारेको छानविन समितिको प्रतिवेदनका आधारमा गत साता सीआईबीले १७२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय गृहमा पेस गरेको थियो । गृहले त्यही रायअनुसार आरोपितविरुद्ध जाहेरी दिएको हो । गृहले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी तथा डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलगायतविरुद्ध ठगी , किर्ते र प्रचलित भ्रष्टाचार कानुनअनुसार अनुसन्धान गर्न माग गर्दै सीआईबीमा जाहेरी दिएको हो । सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार गृह मन्त्रालयका तर्फबाट परेको जाहेरीमा अब शून्यबाट अनुसन्धान अघि बढ्नेछ । उनले हिनामिना प्रकरणमा व्यक्ति–व्यक्तिको संलग्नता खुलाएर अनुसन्धान गर्ने र भाग्ने आशंका गरिएकालाई अदालतबाट पुर्जी लिएर पक्राउ गरिने बताए । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ६ मा आरोपितहरुलाई पक्राउ गरेर वा नियरानीमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था छ । ‘सरकारी जग्गा व्यक्तिका नाममा लैजान को–को संलग्न भए, क–कसले त्यसमा सघाए र कसरी किर्ते र ठगी भयो भन्ने विषयमा सूक्ष्म रुपमा अनुसन्धान गर्छौं,’ पाण्डेले भने ।

बालुवाटारको मुद्दा कमजोर बनाउने प्रयासमा सरकार लागेको नयाँ पत्रिका दैनिकमा समाचार छ । बालुवाटारस्थित सरकारी जग्गा किर्ते र ठगीमा संलग्नविरुद्ध अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अलमलमा परेको छ महान्यायाधिवक्ताको कार्यालयले बालुवाटारको सरकारी जग्गा किर्ते र ठगीमा संलग्न सबै आरोपीलाई एकैपटक पक्राउ गर्न नहुने राय दिएसँगै सिआइबी अन्योलमा परेको हो । सिआइबीको छानबिन प्रतिवेदनले दोषी ठहर गरिएकाविरुद्ध गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीले शुक्रबार किर्ते र ठगीको जाहेरी दर्ता गरेको थियो । तर, सरकारी तहबाटै किर्ते र ठगीविरुद्धको मुद्दालाई कमजोर बनाउने प्रयास भएसँगै अनुसन्धानमा अलमल देखिएको हो । सिआइबीका प्रवक्ता एसपी बेलप्रसाद पाण्डेले भने जग्गा हिनामिना गर्नेविरुद्ध किर्ते र ठगी मुद्दाअन्तर्गत अनुसन्धान गर्न जाहेरी दर्ता भएको र अनुसन्धान प्रक्रिया अघि बढेको बताए । तर, किर्ते र ठगीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छैन । प्रवक्ता पाण्डेले अनुसन्धानका क्रममा गर्नुपर्ने सबै प्रक्रिया पूरा गर्ने जानकारी दिए । ‘सीआईबीमा अभियुक्तहरूविरुद्ध जाहेरी परेको छ । तर, कतिजनालाई कारबाही गर्ने भन्ने संख्या तोकिएको छैन । अनुसन्धानका क्रममा भेटिएका जो–कोहीविरुद्ध पनि मुद्दा दर्ता गर्नुपर्ने हुन्छ,’ उनले भने । तर, यो घटनामा महान्यायाधिवक्ताको कार्यालयले सबै आरोपीलाई एकैपटक पक्राउ गर्न नहुने राय दिएको छ । यस्तै, सरकारी जग्गा किर्ते गर्न सहज हुने गरी विगतमा मन्त्रिपरिषद्बाट भएको निर्णय सच्याउन सरकारले चासो दिएको छैन ।

‘हेलो, बुवा हामी आयौं।’ एमबीबीएस अध्ययन गर्न चीन गएकी मीमांशाको बोली सुनेपछि उनका बुवा डा. मोहन खतिवडाले ओढिरहेको सिरक फाले। घरमा ओच्छयानमै रहेका डा. खतिवडा र त्रिभुवन विमानस्थलमा ओर्लिएकी मीमांशाबीच आइतबार बिहान ४ बजेर २५ मिनेटमा फोनमा कुराकानी भएको हो। उनले कोरोना भाइरसको सामना गरेर स्वदेश फर्किएकी छोरीको सुस्वास्थ्यको कामना गरे। मीमांशाले चीनको वुहानबाट उद्धार, त्यसपछि नेपाल आउँदाको क्षणबारे संक्षेपमा सुनाइन्। डा. खतिवडाले पनि भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा बस्ने बन्दोबस्त भएको सुनाए। यसका लागि डा। खतिवडाले सरकार र सञ्चारमाध्यमलाई धन्यवाद दिए। ‘कोरोना भाइरस संक्रमणको डरबाट मुक्त भयौं। ढुक्कजस्तै भइयो, उनले भने, ‘तर, चिसो ठाउँमा क्वारेन्टाइन रहेकाले मौसमी फ्लुको डर लागिरहेको छ।’ चीनको हुपै प्रान्तको ऊहान सहरबाट नेपालीको उद्धारपछि उनीहरूका अभिभावक खुसी छन्। भाइरस संक्रमणको त्रासबीच उद्धारका लागि सरकारसँग हारगुहार गरेका उनीहरू सन्तानको मुहार हेर्न आतुर देखिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । १४ दिनसम्म बस्ने क्वारेन्टाइनमा कुनै संक्रमण नहोस् भनेर उनीहरूले कामना गरिरहेका छन्। राष्ट्रिय ध्वजावाहक विमानमार्फत स्वदेश आएका १ सय ७५ मध्ये अधिकांश विद्यार्थी छन्। चीनमा एमबीबीएस अध्ययनरत भतिज अनिल यादवको उद्धारमा ढिलाइ नहोस् भनेर हारगुहार गर्ने क्रममा मीना यादव सञ्चारकर्मीसामु रोएकी थिइन्। स्वदेश फर्किएका भतिजसँग कुराकानी गरेको उनले सुनाइन्। एनेस्थेसिया (बेहोस पार्ने विधि)मा पोस्ट ग्र्याजुएट अध्ययनरत छोरीले विमानस्थलबाट फोन गर्दा ललितपुरका नेमकृष्ण ताम्राकार दंग परे।

चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण सुरु गरिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । उनीहरूलाई राखिएको सुरक्षित स्थान ९क्वारेन्टाइन०मा खटिएका स्वास्थ्यकर्मीले आइतबार सबैको र्‍याल र खकारको नमुना संकलन गरेका छन् । बुधबार मात्रै त्यसको रिपोर्ट आउनेछ । सरकारले चीनको हुबेई प्रान्तको वुहानसहितका विभिन्न सहरमा रहेका एक सय ७५ नेपालीलाई नेपाल एयरलाइन्सको जहाजबाट आइतबार बिहान काठमाडौं ल्याएको थियो । विमानस्थलमा उनीहरू सबैको शरीरको तापक्रम मापन गरिएको थियो । त्यसमा सबै स्वस्थ देखिएका छन् । ज्वरो देखिए क्वारेन्टाइनको सट्टा अस्पताल लगेर निगरानीमा राख्ने सरकारको योजना थियो । विमानस्थलबाट उनीहरूलाई प्रहरी स्कर्टिङमा पाँचवटा गाडीमा राखेर क्वारेन्टाइन बनाइएको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुर्‍याइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाका अनुसार संकलित नमुना सोमबारदेखि परीक्षण गरिनेछ । ‘नेपाल फर्किएका एक सय ७५ जनाकै ¥याल र खकार संकलन गरिएको छ । रिपोर्ट आउन कम्तीमा दुई दिन अर्थात् बुधबारसम्म पर्खिनुपर्छ,’ उनले भनिन् । स्वदेश ल्याइएका नेपालीको २४ घन्टाभित्र पहिलो र १४औँ दिनमा अन्तिम परीक्षण गर्ने सरकारको योजना छ । परीक्षणमा समय लाग्ने हुँदा क्वारेन्टाइनमा बस्नेको समयावधि पनि लम्बिने भएको छ । यसअघि १४ दिन क्वारेन्टाइनमा राखिने बताइएको थियो । तर, अब तीन दिन लम्बिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए ।

अतिक्रमित जग्गा फिर्ता ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल नै फिल्डमा खटिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। काठमाडौंका प्रमुख तीन स्थानका १५ रोपनी ६ आना २ दाम जग्गामा मन्त्री अर्यालले आइतबार सरकारी साइनबोर्ड गाडेकी छन्। बागमती नदी करिडोरस्थित आलोकनगर, नयाँ बानेश्वर र धोबी खोला करिडोरस्थित अनामनगरमा ‘यो जग्गा नेपाल सरकारको हो’ भन्ने बोर्ड राखिएको हो। काठमाडौं महानगरपालिका–३१ मा पर्ने आलोकनगरमा १० रोपनी ८ आना मिचिएको थियो। बानेश्वरमा १० नम्बर वडा कार्यालयसँगै चार रोपनी र वडा नम्बर ३२ मा पर्ने अनामनगरमा १४ आना २ दाम जग्गा अतिक्रमण भएको थियो। आलोकनगरमा अतिक्रित जग्गामा घरै बनाएर भाडा लगाएको पाइएको छ। त्यहाँ दर्जनभन्दा बढी परिवार बसोबास गरिरहेका छन्। यसका साथै जुत्ता कारखाना छ, रेस्टुरेन्ट र हार्डवेयर पसल सञ्चालनमा छन्। भूमाफियाले २०४७ सालदेखि जग्गा अतिक्रमण गरी भाडा उठाउँदै आएको पाइएको मन्त्री अर्यालले बताइन्। जग्गा फर्काउन मन्त्रीसहितको टोली आएपछि केही स्थानीयले विरोध जनाएका थिए। मन्त्रीले गाडेको साइनबोर्ड उनीहरूले ढाल्न खोज्दा प्रहरीले रोकेको थियो। उनीहरूले उक्त जग्गा आफ्नो भएको दाबी गरेका थिए। १६ परिवारले जग्गा उपभोग गरिरहेको दाबी उनीहरूले गरेका थिए। ‘यो हाम्रो पुख्र्यौली जग्गा हो, स्थानीय वसन्त खड्काले भने, ‘हामीसँग लालपुर्जा छ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही उद्योगी–व्यवसायीसँग आर्थिक कारोबार विवरण मागेको नागरिक दैनिकमा समाचार छ । यसबाट उद्योगी–व्यवसायी त्रसित बनेका छन् । विभागले केही उद्योगी–व्यवसायीलाई पठाएको पत्रमा उनीहरुका कम्पनीले हालसम्म चुक्ता गरेको कर विवरण, कर कार्यालयमा पेस गरेको वासलात, नाफा–नोक्सानसहित सबै आर्थिक विवरण उपलब्ध गराउन भनिएको छ । अर्थमन्त्रालय अन्तरगत रहेको विभागलाई गत वर्षदेखि प्रधानमन्त्री कार्यालय मातहत राखिएको छ । उद्योगी व्यवसायीका व्यापारिक प्रतिष्ठान तथा कम्पनीले आर्थिक वर्षभरिको सम्पूर्ण खर्च र आम्दानीको विवरण अर्थमन्त्रालय मातहतका विभिन्न निकायमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान र कम्पनीहरुको सम्पूर्ण आर्थिक विवरण सरकारका विभिन्न निकायमा भएको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागले पनि आर्थिक कारोबारका सम्पूर्ण कागजात मागेपछि उद्योगी–व्यवसायी तर्सिएका छन् । एक उद्योगीले सरकारले तोकबमोजिम व्यवसायीले कर तिर्दै आएका बेला एकाएक जाँचबुझ र छानबिनका नाममा पत्र पठाएर विभागले त्रास फैलाउने काम गरेको आरोप लगाए ।

सरकारले बेलायतलाई सन् १९४७ मा भएको त्रिपक्षीय (नेपाल–भारत–बेलायत) गोर्खा भर्ती सन्धि पुनरावलोकनका लागि अनुरोध गरेको कान्तिपुर दैनिकमा समाचार छ । बेलायती सेनाका प्रमुख मार्क कार्लेटोन–स्मिथ सात दिने औपचारिक भ्रमणमा शनिबार काठमाडौँ उत्रनु ७२ घण्टाअघि सरकारले यस्तो अनुरोध गरेको हो । परराष्ट्र मन्त्रालयले नेपालस्थित बेलायती दूतावासलाई कूटनीतिक नोट पठाउँदै भूतपूर्व गोर्खा सैनिकका गुनासा समाधान गर्न नेपाल सरकार र बेलायत सरकारबीच औपचारिक रुपमा छलफल गरी त्रिपक्षीय सन्धि पुनरावलोकन गर्न चाहेको स्पष्ट पारेको छ । गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौताको ७२ वर्षपछि नेपालले पहिलो पटक पुनरावलोकनका लागि बेलायतसमक्ष पत्र लेखेको हो । गोर्खा भूतपूर्व सैनिकहरुले आफ्ना समस्या लागि पहल थाल्न नेपाल सरकारलाई फागुन ३ सम्मको अल्टिमेटम दिएका थिए । उनीहरुले आफ्ना गुनासाका विषयमा गृहकार्य अघि नबढाए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

सानेपा घटनाको विषयमा अनेकन अड्कल र अनुमान गरिए पनि खास रहस्य भने प्रहरीले समेत पत्ता लगाउन सकेको छैन । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्यापछि आत्महत्या गरेको भनिएका घरेलु कामदार विजय चौधरीको मृत्युसँगै त्यसको प्रमाण पनि नष्ट भएकाले घटनाबारे रहस्य खुल्न नसकेको ललितपुर प्रहरीले दाबी गर्दै आइरहेको नागरिक दैनिकमा समाचार छ । घटना गत आइतबार बिहान भएको थियो । साता अवधिमा यसबारे गरिएका शंका–उपशंकाले भने बहस सृजना गराइरहेको छ । पूर्वसचिव एक्लै पशुपतिनाथ जानु, दर्शनका लागि पशुपति गएका उनी ११ बजेसम्म घर आइनपुग्नु, १२ वर्षीय बच्चालाई स्कुल पु-याउन र्गकी एक महिला कामदार छिटो घर नफर्कनु, चौधरीको हत्या गर्नका लागि डोरी घाँटीमा कस्दा वा कुटपिट गर्दा महिलाले कुनै प्रतिवाद गरेको नदेखिनु, ६ महिनासम्म कामदारलाई तलब नदिनु, दुवै पक्षले ललितपुर प्रहरीमा जाहेरी दिनुजस्ता कारणले घटनालाई शंकास्पद बनाएको छ । तर, प्रहरीले भने यी सबै कल्पनामात्रै गर्न सकिने कुरा रहेको बताउँदै खाएको छ । सानेपा प्रहरी प्रभाग र कार्कीको घरको बीचमा राखिएको सीसी क्यामेरामा पनि झ्यालभित्रको केही दृश्य कैद छ, जसमा डोरीले घाँटीमा कस्दै गरेको र पिर्काले हिर्काउँदै गरेको देखिएको छ । फुटेज धमिलो भएकाले अरु कुरा राम्रोसँग देखिँदैन । भान्सा कोठामा हत्या गरेर सोही तलाको अर्को कोठामा गएर कामदार चौधरीले आत्महत्या गरेको प्रहरीको दाबी छ । तर यो कुरा सीसीटीभी फुटेजमा भने रेकर्ड भएको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »