सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको पत्रपत्रिकाः अमेरिका र इरानबीचको तनावले करिब १० लाख नेपाली,

काठमाडौँ । आज पुस २४ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा अमेरिका र इरानबीचको तनावले मध्यपूर्वमा नेपालीको अवस्थाको बारेमा समाचारहरु प्रकाशित गरेका छन् ।

नागरिक दैनिकका अनुसार संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन् । इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकमाथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि युएईका अधिकारी अलर्ट अवस्थामा रहेको बताइन् । ‘अमेरिकी राष्ट्रपति र युएईका विदेशमन्त्रीको पछिल्लो भनाइले यो भन्दा खराब अवस्था नआउला कि भन्ने अपेक्षा गरेका छौँ,’ बुधबार उनले भनिन्, ‘अवस्था बिग्रियो भने पनि नेपालीलाई कसरी उद्धार गर्ने भन्नेबारे परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क गरिरहेका छौँ ।’ हाल युएई–काठमाडौँ सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले पनि उद्धारमा कठिनाइ नहुने उनको भनाइ छ ।

कान्तिपुर दैनिकका अनुसार इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मङ्गलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दै छ भन्ने हल्ला फैलिइसकेको थियो । सेनाले तुरुन्तै आपत्कालीन घण्टी बजाएपछि झापाका राकेश क्षत्रीसहित ९ जनाको टोली जमिनमुनिको बङ्करमा गएर बसे । आपत्कालीन घण्टी बजेपछि उनीहरुलाई तोकिएको बङ्करमा गएर बस्नुपर्छ भनेर बेस क्याम्पमा पहिले नै सिकाइएको थियो । बेस क्याम्पमा फैलिएको हल्ला बुधबार बिहान स्थानीय समयअनुसार १ बजेर ४५ मिनेटमा सही निस्कियो । इरानबाट लगातार आएको मिसाइल बेस क्याम्पभित्रै ठूलो आवाजले झर्न थाल्यो । २ः४५ मा बल्ल रोकियो । ‘मिसइालको धक्का निकै ठूलो थियो, यस्तो आवाज मैले यसअघि इराकमा कहिल्यै सुनेको थिइनँ,’ क्षत्रीले कान्तिपुरसँग फोनमा भने, ‘द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो हुन्छ भन्ने मैले पहिला नै भोगेको थिएँ, नयाँ साथीहरु भने निकै डराए ।’ क्षत्री पछिल्लो पटक १९ महिनाअघि मात्र इराक गएका । त्यसअघि सन् २००७ देखि ११ सम्म बग्दादमा अमेरिकी सेनाकै क्याम्पमा कार्यरत थिए । ‘त्यतिखेल दैनिक १० वटा मोटर क्याम्पमा झथ्र्यो । बस आउँथ्यो । त्यसले मलाई बानी पारेको थियो । बुधबार बिहानको आवाज भने साँच्चिकै डरलाग्दो थियो,’ उनले भने, ‘१० पटकसम्म झरेको त गनियो, त्यसपछि कतिवटा झ¥यो याद गर्न सकिनँ ।’ इराकी सेनाका अनुसार इरानले प्रहार गरेको २२ मध्ये १७ वटा मिसाइल अल असाद एयरबेसमा झरे । दुईवटा विस्फोट भएन । पाँचवटा मिसाइल अर्विल एयरबेसमा खसे । अल साद क्याम्प बग्दादबाट झण्डै एक सय ६० किलोमिटर टाढा पर्छ ।

पत्रिकामा नागरिकको कुराकानी सोझै रेकर्ड गर्न पाउने अधिकार गुप्तचर निकायलाई दिन नहुने प्रस्तावसहित सांसदहरुले नेपाल विशेष सेवाको गठन सञ्चालनसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकमा संशोधन दर्ता गराएका छन् । सत्तारुढ नेकपाकी सांसद विमला राई पौड्याल र प्रतिपक्ष काँग्रेस सांसदहरु राधेश्याम अधिकारी, सरिता प्रसाईं, प्रकाश पन्थ र धनकुमारी खतिवडा तथा समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले अदालतको अनुमतिमा मात्र फोन ट्यापिङ गर्न पाउने व्यवस्थाका लागि छुट्टाछुट्टै संशोधन दर्ता गरेका हुन् । राष्ट्रिय अनुसन्धान विभागलाई बलियो बनाउन भनी ल्याइएको उक्त विधेयक राष्ट्रियसभामा विधेयकमा गुप्तचरले संदिग्ध र निगरानीमा रहेका व्यक्ति, संघसंस्थाबाट सार्वजनिक सञ्चार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरण निगरानी, अनुगमन र इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न सक्ने व्यवस्था गरिएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरुको गोप्य जमघट भएको छ । नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बेठकलाई अर्थपूर्ण मानिएको छ । भैँसेपाटीस्थित गौतम निवासमा भएको जमघटमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए । नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन् । तर, बुधबार साँझ २ भएको छलफलमा ओली र उनी पक्षधर भनी चिनिएका नेताहरु ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन् । सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन् । छलफल सभामुख चयन र एमसीसीमा केन्द्रीत भएको स्रोतले जनायो ।

पत्रिकामा कांग्रेस सभापति शेरबहादुर देउवाको पुस ११ को एकपक्षीय निर्णय सच्याउन सामूहिक दबाब दिने निष्कर्षसहित जिल्ला सभापति भेला बुधबार सम्पन्न भएको छ। भेलाको निचोड र सुझाव सभापति देउवालाई बिहीबार बिहान उनकै निवासमा बुझाउने तयारीको समाचार छ। देउवा मनोनीत बहुमतका आधारमा पेलेर अघि बढेपछि असन्तुष्ट पक्ष (रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा। रामशरण महत, डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा। शेखर कोइराला, सुजाता कोइराला लगायतको समूह) ले केन्द्रीय समति बैठक बहिष्कार गर्दै आएको थियो। पुस ११ गते संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट महाधिवेशन तिथि सार्वजनिक, केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या २८ बाट ४७ पुर्याउने, तरुण दलको म्याद ६ महिना थप्ने लगायतका निर्णय गरेपछि असन्तुष्ट पक्षले त्यसविरुद्ध अभियान थालेको थियो। भेलामा देउवा पक्षका भनिएका जिल्ला सभापतिसमेत सहभागी भएपछि देउवा हच्केका छन्। क्रियाशील सदस्यता वितरणका विषयमा विधानका कतिपय धारा निलम्बन गरिएको विरोधमा सन्तुष्ट पक्षले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ। असन्तुष्ट पक्षले राष्ट्रियसभा सदस्य चयनका लागि सभापति देउवाले डाकेको बैठक पनि बहिष्कार गरेको थियो। देउवाले जिल्ला सभापति भेलाको निर्णयलाई सुझावका रूपमा लिँदै असन्तुष्ट पक्षलाई बूढानीलकण्ठमा स्वागत गर्ने भएका छन्। यसका लागि सभापति देउवा दिवाभोज गर्ने तयारीमा छन्। तीन दिन सानेपामा असन्तुष्ट पक्षले बहुमत प्रदर्शन गरेपछि देउवाले सहमति गरेर अघि बढ्न आफू तयार रहेको सन्देश दिन खोजेको बताइएको छ।

नयाँ पत्रिका दैनिकमा चिसोमा गिजर, हिटर र मकल प्रयोग गर्दा उपत्यकामा एक महिनामा तीनको मृत्यु भएको समाचार छ । कीर्तिपुर–८ सुन्दरबस्ती डेरा गरी बस्ने धादिङ नौबिसे–९ रुपाकोटका ४५ वर्षीय नवराज रन्जितकारले ३० मंसिरमा दुई महिनाकी सुत्केरी श्रीमतीलाई सेक्न कोठाभित्र कोइला बाले । बाहिरबाट चिसो नआओस् भनेर झ्यालढोका पनि थुने । त्यसपछि श्रीमानश्रीमती दुवै मिलेर काखे बालकलाई सेकाए । कोइलाको राप ननिभ्दै खाना खाए र सुते । कोइलाको न्यानोले छिट्टै निदाएका नवराज एकैचोटि भोलिपल्ट बिहान मात्रै ब्युँझे । ब्युँझिदा उनले टाउको दुखेको अनुभव गरे । आँखा पनि धमिलोधमिलो भएको थियो । तर, पनि सकी नसकी उठे । सँगै सुतेकी श्रीमती शर्मिलालाई पनि उठान खोजे । तर, उनी उठिनन् । छोरा रमेशलाई पनि झक्झकाए उनी पनि चलमलाएनन् । अघिल्लो रात बालेर छोडेको कोइलाका कारण कोठामा अक्सिजन कमी भएर दुवै आमाछोराको मृत्यु भइसकेको थियो ।

ललितपुर सातदोबाटोस्थित सुरिवा गल्र्स होस्टलमा बस्ने पर्सा जगनाथपुर–४ की १९ वर्षीया जेनेथ चौहान नुहाउन १९ पुसमा बाथरुम छिरिन् । तातोपानीका लागि ग्यास गिजर अन गरिन् । बाथरुमको झ्याल ढोका बन्द गरिन् । तातोपानीले बाथटपमा भरिन् र बाथटपको तातोपानीमा डुबुल्की मरिन् । ११ बजे बाथरुम छिरेकी उनी निक्कै बेरसम्म पनि बाहिर ननिस्केपछि खोजी भयो । यो खबर होस्टल वार्डेनसम्म पुग्यो । होस्टल वार्डेनसहित उनका सहपाठी बाथरुमको ढोका ढक्ढकाउन थाले । तर, खुल्दै खुलेन । अन्ततः बाथरुमको झ्याल फोडियो । भित्र हेर्दा जेनेथ ढलेको अवस्थामा भेटिइन् । उपचारका लागि उनलाई तत्काल अस्पताल लगियो । तर, उनको उपचार हुन सकेन ।

गत शुक्रबार भक्तपुर सूर्यविनायक दधिकोटकी ६७ वर्षीया रेणुकाकुमारी बाँस्तोला जाडो भगाउन कोठामै आगो ताप्दै थिइन् । यही क्रममा उनको फरियामा आगो सल्कियो । निभाउन खोज्दा झनै दन्कियो । नजिकै थिए उनका ३५ वर्षीय छोरा राजेन्द्र बाँस्तोला । उनले दन्किएको आगो हातको पन्जाले निभाउन खोजे । आगो झनै दन्कियो । बल्लतल्ल आगो नियन्त्रणमा आयो । यस वेलासम्म रेणुको आधा शरीर जलिसकेको थियो । आगो निभाउने राजेन्द्रको पनि दुवै पन्जा डडिसकेका थिए । रणुको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । सामान्य उपचारपछि राजेन्द्र भने घरमा आराम गरिरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »