सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज चीनमा रहेका नेपाली लिन नेपाल एयरलायन्सकाे जाहज जाँदै

बेइजिङ, चीनको हुपई प्रान्तबाट १८० जना नेपाली शनिबार फर्कंदै छन्। यी विद्यार्थीलाई नेपालले निःशुल्क एयरलिफ्ट गर्न लागेको हो। वुहानको थ्येनह विमानस्थलसम्म विद्यार्थीलाई बसमार्फत ल्याइनेछ। अनसी र सयान सहरबाट बसमा वुहान पुग्न ७–८ घण्टा लाग्छ।

चिङचौ २४० किलोमिटर, चिङमन २८४ किलोमिटर र यिछाङ ३३५ किलोमिटर टाढा छ। यी ६ वटा सहरका लागि ५ वटा बस उपलब्ध गराएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। यी सहरबाट चिनियाँ समयअनुसार शनिबार बिहान ५ बजे बस छुट्नेछन्। राति ९ बजे नेपाल वायुसेवाको जहाज वुहान अवतरण गर्ने र ११ बजे काठमाडौंका लागि उड्नेछ। नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा जहाज काठमाडौंमा अवतरण हुनेछ।

फर्कनुअघि विमानस्थलमा सबै नेपालीको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणमा पोजिटिभ देखिए चीनमै राखेर उपचार गरिनेछ। नेपाल फर्कनेमध्येका एक चिङचौको छाङच्याङ विश्वविद्यालयमा एमबीबीएस अध्ययरत सिरहाका गुरुकुमार यादव भन्छन्, ‘सर्ने डर नभएको होइन, यो भाइरस तुरुन्तै देखिँदैन। प्लेन चढ्नुअघि सबैको राम्रोसँग स्क्रिनिङ होस् भन्ने चाहन्छु। हामी आफैं पनि आइसोलेसन (अलगै) बसेका छौं।’

आफू सुरक्षित रहेको तर बस र प्लेन यात्रामा सहयात्रीमा भाइरस नदेखियोस् भन्ने उनीहरूको चाहना छ। ‘यहाँ कुनै कुराको समस्या होइन, सबै उपलब्ध छ, तर यहाँ कोठामा मात्र कति दिन बस्ने ? यो भाइरस सखाप पार्न अझै केही दिन लाग्नेछ। त्यसैले तनाव बढेको छ’, एक नेपाली विद्यार्थीले भने। यो भाइरसबाट तुरुन्तै संक्रमण हुने खतरा भएकोले चीन सरकारले चीनभरि नै घरमै बस्न आह्वान गरेको छ। यस्तै संक्रमणको जोखिम रोक्न कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ।

यसैबीच हुपईमा अध्ययनरत १५ जना विद्यार्थीले नेपाल जान आवेदन नदिएको नियोग उपप्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए। ‘चौबीसै घण्टा अस्पताल र विश्वविद्यालयले निगरानीमा राखेका छन्, हामी सुरक्षित छौं। हवाई यात्रा या कुनै पनि भीडभाडमा संक्रमण हुने सम्भावना धेरै भएकाले यतै

(चीन) बस्नु उचित छ’, थ्येनचिन मेडिकल युनिभर्सिटीमा मास्टर्स अफ सर्जरी विषयमा विशेषज्ञता हासिल गरिरहेका डाक्टर सुव्रत शर्मा पौड्यालले भने। उनले भने, ‘यो भाइरसको प्रकृति फरक छ। संक्रमण अवधि पनि १४ दिनसम्म रहन्छ। मानिसको स्वास्थ्य तथा रोग प्रतिरोधक शक्तिअनुसार लक्षण तुरुन्तै नदेखिन सक्छ। त्यसैले संक्रमणको सम्भावना बढी छ।’

बेइजिङस्थित बेइजिङ युनाइटेड फेमिली हस्पिटलका सर्जन डा। विकास राई भन्छन्, ‘नेपाली विद्यार्थी कोही संक्रमित छैनन् भन्ने सुनेको छु। भाइरस संक्रमित नभएमा कुनै समस्या नहोला। तर ग्यारेन्टी भने छैन।’ उनले ५–६ घण्टा लामो हवाई यात्रामा सावधानी अपनाउनैपर्ने बताए। उनले भने, ‘यो भाइरस म्युटेट (एकबाट अर्को मानिसमा पसेपछि परिवर्तन) हुने भएकाले उपचार गर्न अप्ठ्यारो भइरहेको देखिन्छ। १५–२० दिन अलगै क्वारेन्टाइनमा बस्नैपर्छ।’

भर्खरै

सम्बन्धित खबर

Language »