सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण

काठमाडौँ । आइतबार बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ ।

काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ (स्पर्श) हुने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार नेपालको लिम्पियाधुरा कालापानी क्षेत्रबाट ९३ प्रतिशत सूर्यग्रहण देख्न सकिन्छ । त्यसैगरी काठमाडौँ र जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, भद्रपुर झापाबाट ८१ प्रतिशत र महेन्द्रनगर, कञ्चनपुरबाट ९३ प्रतिशत सूर्यलाई ग्रहणले ढाकेको देख्न सकिन्छ ।

डा. शर्माका अनुसार सूर्यग्रहण खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नुहुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र अवलोकन गर्न सकिन्छ । सूर्यग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त हुन नसकेको शर्माको तर्क छ ।

खगोलीय मान्यता अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेर चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्यग्रहण लाग्छ । सूर्यग्रहण खग्रास, खण्डग्रास वा वलयाकारको हुन्छ । पृथ्वीको एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्षपछि मात्र लाग्छ ।

चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भएकाले चन्द्र र सूर्य गोलामा बाहिर स्पर्श रेखाद्वारा निर्मित शङ्कु छायाँ (कोन सेडो) भित्र पृथ्वी पूर्ण रूपले नपर्ने हुँदा पृथ्वीका केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »