सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आत्मनिर्भर युवा अभियान:दिनेश कुमार दाहाल (दाह्री बा)

हामीले आत्मनिर्भरताको विकल्प खोज्न जरुरी छ अन्यथा अनेकौं किसिमका विपतले पिल्सिएका हामीले अझै योभन्दा पनि विकराल समस्या भोग्नु पर्ने निश्चित छ। त्यसकरण नेपाली युवाहरुले आत्मनिर्भरताको अभियान चलाउनु जरुरी देखिन्छ।

हामीले हामीमा बिकसित हुँदै गएका अपाच्य सोख र वास्तविक आवश्यकताको अन्तरसम्बन्ध बुझ्न जरुरी छ। उदाहरणको लागि देशको एउटा विकट जिल्लामा उब्जिएको मकै र विदेशबाट आयातित पप कर्नको प्रयोग विधिलाई हेर्न सकिन्छ। यसर्थ सोखमा भन्दा आवश्यकतामा केन्द्रित हुन जरुरी छ । एकघोगा मकै भुटेर खाँदा रु ५-६ मै पेट भर्न सकिन्छ तर प्याकेट को महंगो पपकर्न खाँदा त्यति पैसाले जिब्रोको कौतुहलतासम्म पूरा गर्न सकिँदैन ।

यी सौखिन व्यवहारले देशको व्यापार घाटालाई सघाउन पुग्छ र अन्तत हामी आयातमुखी प्रणाली मै निर्भर रहन्छौं । हामी जस्तो भूपरिवेष्टित मुलुक आत्मनिर्भर हुन नसक्दा छिमेकी राष्ट्रको नाकाबन्दी लगायतका अप्ठ्यारा परिस्थितिको सामना गर्न अत्यन्तै कठिन पर्ने हुन्छ ।

हाम्रै कमजोरीको फाइदा उठाउदै छिमेकी मुलुकले पनि हामीलाई हस्तक्षेप गर्ने गरेको प्रशस्त उदाहरणहरु छन् ।अब पनि हामीले बुझ्ने प्रयास गरेनौं भने स्थिति भयावह नबन्ला भन्न सकिन्न । जसरी उत्तर कोरियाले अमेरिकालाई सबक सिकाएको छ त्यसै गरि हामीलाई पनि एक अवसर प्राप्त भएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरामा भएको हस्तक्षेपको विरुद्धमा आवाज उठाएर मात्र पुग्दैन त्यसकालागि त आम युवाहरु उत्पादनमुखी काममा जोडिएर आत्मनिर्भर बन्दै बाह्य उत्पादनको बहिस्कार गर्न सक्नु पर्छ । कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइ त्यसको प्रभाव नेपालमा समेत परिरहेको अवस्थामा आफ्नै छिमेकीले गरेको हस्तक्षेप हामीले टुलुटुलु हेर्दै बस्ने हामी युवाहरु अब पनि सजग भएनौं भने इतिहासले हामीलाई धिकार्ने छ ।

अघिल्लो नाकाबन्दीको डटेर सामना गरेका प्रधान्मन्त्री ओलिलाई सलाम गर्नु अघि अबको नेपाल-भारत सिमा विवाद, देशको सार्वभौम खतरामा पार्ने एमसिसि र देशलाई आत्मनिर्भर बनाउन अहम भूमिका खेल्ने देशका युवापुस्तालाई कुन ढंगमा सम्बोधन गर्दै अघि बढाउने हो त्यो हेर्न बाँकी छ।

भर्खरैको आर्थिक बजेटमा विद्युतीय सवारीसाधनहरुमा बढाएको करले उर्जा क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन दिलोज्यान दिँदै आएका कुलमान घिसिङ जस्ता व्यक्तिमा उर्जा थपिएला र ? ज्ञान बढ्ने पाठ्यपुस्तकहरुमा बढेको कर बरु विदेशबाट आयात हुने चकलेटमा बढेको भए कम्तिमा साधारणभन्दा साधारण नेपालीहरुले पनि ज्ञानगुणका कुरा पढ्न पाउँथे र निकट भविष्य मै युवाहरुमा एक खालको बौद्धिकस्तर उन्नति भएको देख्न सकिन्थ्यो। तर पाठ्यपुस्तकको सट्टा आयात हुने चकलेटमा कर कम हुँदा यहाँका पुराना चकलेट उद्योगीहरु प्रत्यक्ष मारमा त पर्यो नै, नयाँ पुस्ताले पनि चकलेटमा देशलाई आत्मनिर्भर बनाउने तर्फ सोच्न नसक्ने भयो।

देशलाई साच्चै आत्मनिर्भर बनाउने हो भने सर्वप्रथम हरेक नागरिकहरुलाई शिक्षित बनाउनु आवश्यक छ। जुन शिक्षा क्षेत्रमा घटाइएको बजेटले सम्भव छैन। राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै युवाहरुमा बढ्दै गएको विदेश पलायन हुने प्रथा रोक्न सकेमात्र नेपाल जस्तो कृषिप्रधान देश आत्मनिर्भरताको ग्राफमा अर्को एक कदममाथि चढ्न सफल होला।
यसर्थ हरेक नेपालीले आ-आफ्नो स्थानबाट देशलाई आत्मनिर्भर बनाउन राज्यलाई सहयोग गर्नु पर्ने बेला आएको छ। आऔं सबै नेपाली जागौं, आफ्नो देश आफैं बनाऔं। दारी बाको युवा अभियानमा सहभागिता जनाऔं।

लेखक: दिनेश कुमार दाहाल (दाह्री बा) ग्रिल तथा स्टील व्यवसायी संघ, काठमाडौं पश्चिम क्षेत्र अन्तर्गत कलंकी, बल्खु, थानकोट, दक्षिणकाली ईकाईका अध्यक्ष हुन्।

भर्खरै

सम्बन्धित खबर

Language »