सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नो देश फर्किन चाहने चिनियाँ नागरिकद्वारा नेपाल प्रहरीमाथि मुक्का प्रहार

काठमाडौँ — एक हुल चिनियाँ नागरिक शुक्रबार बिहान चिनियाँ दूतावास पुगे । उनीहरुको माग थियो– ‘हामी आफ्नै मुलुक जान चाहन्छौं, छिटो फर्काऊ।’

त्यहाँबाट उनीहरुलाई प्रहरीले हटाए । त्यही हुल दिउँसो करिब साढे २ बजे सिंहदरबारतिर लाग्यो । सिहंदरबारको मुल गेटअगाडि पुगेर उनीहरुले नारा लगाउन थाले । ‘हामीलाई पैसा होइन, आफ्नै घर जान देऊ’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरे ।

भिड नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत आफै खटिएका थिए । चिनियाँ नागरिक जबरजस्ती सिहंदरबारतर्फ अघि बढ्न चाहन्थे भने प्रहरी उनीहरुलाई रोक्न चाहन्थे । निकैबेर ठेलमठेल चलिरह्यो ।

शुक्रबार दिउँसो सिंहदरबारअघि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी परिरहेको थियो। कोरोनाभाइरसको बेला प्रदर्शनमा उत्रिएर प्रहरीसँग भिड्नेहरू नेपाली नागरिक भने थिएनन्।

लकडाउनले ४६ दिनदेखि अलपत्र परेका चिनियाँहरू घर जान पाउँ भन्दै प्रदर्शनमा उत्रिएका थिए । उनीहरूका हातमा ‘आइ वान्ट टु गो होम, ‘नो मनी, निड टु गो होम’ लगायतका प्लेकार्ड थिए।

घर जान नपाउँदा उनीहरूको अनुहारमा निरासा प्रस्टै देखिन्थ्यो। काठमाडौंस्थित चिनियाँ दूतावासले पनि आफूहरूलाई फर्काउन पहल नगरेकोमा उनीहरू आक्रोशित पनि थिए।

‘पहिले हाम्रो कार्यालयमा पनि आएका थिए,’ पर्यटक प्रहरी इन्स्पेक्टर अस्मिता कार्कीले भनिन्,’उनिहरूले आफ्नो सूचना दिन चाहेका थिएनन्। राजदूतावासमा पुगेपनि वास्ता नगरेपछि भौतारिएका हुन्।’

उनका अनुसार त्यसरी अलपत्र परेका चिनियाँ नागरिक कति छन् र कहिलेदेखि नेपालमा छन् भन्ने औपचारिक जानकारी छैन।

यसअघि उनीहरूले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयअघि धर्ना दिएका थिए। आफ्नै दूतावासले पनि घर पठाउन पहल नगरेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शन गर्ने ठाउँ पनि उनीहरूले निषेधित क्षेत्र नै रोजे।

प्लेकार्डसहित चिनियाँहरू प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरूलाई हटाउन खोज्यो । धकेलाधकेल सुरू भयो। एक चिनियाँले त प्रहरीको बर्दीमै समातेर ताने। तनाव बढेपछि प्रहरीले लाठी बर्सायो। चिनियाँहरूले मुक्का हान्न थाले।

अवस्था नियन्त्रणमा लिन पुरूष प्रहरीले महिलालाई समेत लाठी हानेको भिडिओमा कैद भएको छ। एक जना चिनियाँले ढुङ्गा हान्दा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन्। केही चिनियाँ नागरिकलाई पनि चोटपटक लाग्यो। पछि थप प्रहरीहरू आएर प्रदर्शन गर्नेलाई पक्राउ गरे।

‘उनीहरू करिब ३ देखि ६ महिनाअघि नेपाल आएर काम गरेर बसेका रहेछन्,’ परिसरका एसपी सोमेन्द्रसिंह राठौरले सेतोपाटीसँग भने,’हामीले ४७ जनालाई नियन्त्रणमा लिएर नगर प्रहरी कार्यालयमा राखेका छौं।’

उनीहरूलाई दूतावासबाट कोही आएर छुटाउन आएपछि छोड्ने राठोरले बताए। ‘अब हामीले चीन नै पठाउने कुरा त हुँदैन,’ उनले भने,’दूतावासबाट कोही प्रतिनिधि आएर छुटाउन आएपछि छोड्छौं।’

यस विषयमा काठमाडौंस्थित चिनियाँ दूतावाससँग सम्पर्क गर्दा त्यहाँका अधिकारीले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरे।

भर्खरै

सम्बन्धित खबर

Language »