सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा अलपत्र र बेरोजगारलाई घर पठाउने निर्णय फिर्ता

काठमाडौं । अन्तर मन्त्रालय र प्रदेश मुख्यमन्त्रीको असन्तुष्टिपछि सरकार उपत्यकामा अलपत्र र बेरोजगारलाई घर पठाउने निर्णयबाट पछि हटेको छ।

बिहीबार दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायतले उपत्यकामा अलपत्र बेरोजगार नागरिकलाई घर पुर्याउने निर्णय गरेका थिए।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका पोखरेलसहितको बैठकको निर्णय सार्वजनिक भएलगत्तै चौतर्फी विवाद हुँदा सरकार निर्णयबाट एक घण्टामै पछि हटेको हो।

निर्णयपछि कसरी घरघरसम्म पुर्याउने भन्ने विषयमा कार्यविधि बनाउन गृहमन्त्रालयलाई जिम्मेवारी दिएपछि लकडाउनको समयमा दुई दिन खुला गरेर कार्यविधि बनाउनु असम्भव भएको प्रतिक्रिया गृह प्रशासनले दिएको हो।

सरकारको निर्णय सार्वजनिक भए लगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनमा यस्तो निर्णय ठिक नभएको भन्दै आपत्ति जनाए।

‘काठमाडौबाट बाहिर जानदिने र बाहिरबाट काठमाडौं जान नदिनेकुरा सत्य होइन होला ।’, निर्णय सार्वजनिक भए लगत्तै मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, ‘लकडाउनको अर्थ लकडाउननै हो। वरु बेखर्चीलाई राहत देऊ।’

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले उपत्यकामा अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय सरकारले गरेको जानकारी दिएका थिए।

राजधानीमा उपत्यका मजदुरी गरेर बसेका र लकडाउनमा बेरोजगार भएर छाक टार्न समस्या परेको भन्दै गुनासो बढेपछि सरकारले यो निर्णय गरेको मन्त्री नेम्वाङको भनाइ थियो।

सरकार आफैंले अलपत्र परेका नागरिकलाई सम्बन्धित जिल्लाको महत्वपूर्ण राजमार्गसम्म पुर्याउने तयारी गरेको भए पनि त्यो तत्काल कार्यान्वयन नभएको हो। उच्चस्तरीय समितिका संयोजक पोखरेलले शुक्रबार र शनिबार उपत्यका बाहिर जान खुला गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति सार्वजनिक गरेर बताएका छन् ।

‘भोलि र पर्सी काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौं बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ’, संयोजक पोखरेलले भनेका छन्, ‘यस किसिमको कुनै निर्णय नभएको , कोभिड–१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ (लक डाउन) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं।’

पोखरेलले लकडाउनलाई सरकारसँगै आम नागरिकले गम्भरिु रुपमा लिनुपर्नेमा जोड दिएका छन्। ‘यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ’, पोखरेलले भनेका छन्, ‘यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण र रोकथामका लागि सरकारले पटकपटक समय थप गर्दै चैत ११ गतेदेखि वैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ। नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन्।

संक्रमितमध्ये आठजना विदेशबाट आएका हुन् भने एकजनालाई स्थानीय रुपमै कोरोना सरेको हो। अहिलेसम्म काठमाडौं, कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना संक्रमित भेटिएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »