सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एक्लाे शिवमाया तुम्बाहाम्फेले हल्लायाे नेकपा, सचिवालय लाचार

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ठीक गरिरहेकी छिन् या बेठीक ? यसको हिसाब-किताब राजनीतिशास्त्र र कानूनका विद्यार्थी वा नेकपाका नेता/कार्यकर्ताले गर्लान् ।

तर शिवमायाले नेकपाका शीर्षनेताहरुलाई हाराबारा खेलाएको चाहिँ पक्कै हो । शिवमायाका अगाडि नेकपा सचिवालय लाचार बन्न पुगेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो, जसले उपसभामुख डा. तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउने सर्वसम्मत निर्णय गर्‍यो ।

तर नेकपाबाटै सांसद र उपसभामुख बनेकी शिवमायाले आफू सार्वभौम संसदको उपसभामुख भएको र पार्टीको ह्वीप नमान्ने सन्देश नेकपा सचिवालयलाई दिएकी छिन् ।

शिवमायाको अडानले हैरान बनेका नेकपा नेताहरुले आइतबार बिहान उनलाई बालुवाटारमा बोलाए ।

शिवमाया बिहान ११ बजेतिर बालुवाटार छिरिन् ।

पुस ४ गतेदेखि पटक-पटक स्थगित हुँदै आएको संसदको बैठक आइतबार दिउँसो बस्ने कार्यसूची थियो । यसअघि शिवमायालाई राजीनामा गराउने र ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक राखेर सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने नेकपा नेताहरुको अपेक्षा थियो ।

तर सभामुखका लागि शीतलनिवासको बलियो साथ पाएकी शिवमायाले आइतबार बालुवाटारमा पुगेर राजीनामा नदिने अडान मात्र दोहोर्‍याइनन्, राजीनामा माग्ने निर्णय लेख्ने सचिवालयको सदस्य को हो भनेर सोधिखोजीसमेत गरिन् ।

संसदको बैठक पुनः माघ ६ गतेसम्मका लागि स्थगित भएको छ । संसद नेकपाको अनिर्णयको बन्दी बनेको भन्दै विपक्षी नेताहरुले आपत्ति जनाएका छन् ।

संसद बैठक बारम्बार स्थगित गरेर नेकपा अकर्मन्यतामा फसेको नेपाली कांग्रेस र समाजवादी पार्टीका नेताहरुले आरोप लगाएका छन् । प्रतिनिधिसभालाई सत्तापक्षले बन्धक बनाएको विपक्षीको आरोप छ ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपाको आन्तरिक खिचातानीका कारण संसदलाई बन्धक बनाइएको आरोप लगाएका छन् ।

त्यसैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई निरन्तर बनाउने यहाँहरुको अकर्मण्यता आपत्तिजनक छ ।

विरोधीको जिब्रो रसायो : नेकपा

यसैवीच, नेकपा महासचिव विष्णु पौडेलले सभामुख र उपसभामुख प्रकरण सहज ढंगबाट टुंगिने दाबी गरेका छन् । यसबारे नेकपामा देखिएको विवादले विरोधीहरुको ‘जिब्रो रसाएको’ महासचिव पौडेलको आरोप छ ।

‘अहिले हामीलाई थाहा छ, सभामुखको प्रसंग आएपछि नेकपाको अग्रगति देख्न नचाहने प्रवृत्तिहरुका जिब्रो रसाएका छन् । यही प्वालबाट छिरेर नेकपालाई संकटमा धकेल्न सकिन्छ भन्ठानिरहेका छन्’ महासचिव पौडेल भन्छन्, ‘यो बेकारको मृगतृष्णा हो । यस्तो मृगतृष्णा पूरा हुनेवाला छैन । कत्रा-कत्रा चुनौतीको सामना गरेर, कत्रा-कत्रा अन्तरविरोधहरुलाई किनारा लगाएर आएका छौं ।’

अब शिवमायाको सम्भावना सकियो- पूर्वमाओवादी

नेकपा महासचिव पौडेलले नेकपाभित्रको यो विवादलाई सामान्य भने पनि नेकपाभित्र यसको समाधान सरल देखिँदैन । उपसभामुख शिवमायाले सभामुख बन्ने सुनिश्चतता नहुँदासम्म राजीनामा नदिने बताउँदै आएकी छिन् ।

उता पूर्वमाओवादी खेमाले कुनै पनि हालतमा आफू समूहले सभामुख पाउनुपर्ने बटमलाइन बनाएको छ ।पार्टीको महाधिवेशन नहुञ्जेल भागवण्डामै चलिरहेको हुनाले सभाभुख पद स्वतः पूर्वामाओवादीले पाउनुपर्ने नेकपा नेता हरिबोल गजुरेलले अनलाइनखबरलाई बताए ।अहिले शिवमाया तुम्वाहाम्फेले राखिरहेको अडानका पछाडि व्यक्तिमात्रै नरहेर ठूलो षडयन्त्र लुकेको गजुरेलको भनाइ छ ।

साथै उनले पार्टीको अनुशासन र निर्णय नमानेका कारण अब शिवमायालाई सभामुख बनाउने सम्भावना समाप्त भएको दाबी गरे ।
यो पनि पढ्नुहोस

भर्खरै

सम्बन्धित खबर

Language »