सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एलिजाबेथ द्वितीयाकाे निधन

बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन्।

उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।

उनले उनको प्रिय आमाको निधन एउटा ‘ठूलो दुःखको क्षण’ भएको बताएका छन्।

राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भनेः ”हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौँ। मलाई थाहा छ उनको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि। साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन्।”

उनले भनेका छन् ”शोक र परिवर्तको अवधीमा उनी र उनको परिवारलाई महारानीलाई मानिसहरूले सम्मान व्यक्त गर्ने र गहीरो प्रेम गर्ने गरेको भन्ने जानकारीले सान्त्वना प्रदान गर्नेछ।”

निधन
एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले भनेको छ, “आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ। राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन् ।”

चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछी उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा गएका थिए।

महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहेका थिए।

महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले ूमहारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उनले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गरेको बताएकी छन्।

नयाँ राजाका बारेमा बोल्दै उनले भनिन्ः ू हामी उनी समक्ष उनको आमाले यति लामो समयसम्म यति धेरै मात्रामा व्यक्त गरेको जसरी नै हाम्रो बफादारी र समर्पण प्रस्तुत गर्दछौँ ।

दोस्रो एलिजाबेथ युगको अन्त्यसँगै हाम्रो महान् देशको उल्लेखनीय इतिहासमा हामी नयाँ युगको स्वागत गर्दछौँ, सम्भवतः ठीक महारानीले चाहना गरेको जस्तै गरी र भन्छौँ गड सेभ द किङ् (ईश्वरले राजाको रक्षा गरुन् ) ।

प्रधानमन्त्री
महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा ब्रिटेनमा १५ जना प्रधानमन्त्री भए, सन् १८७४ मा जन्मेका विन्स्टन चर्चील देखि लिएर त्यसको १०१ वर्ष पछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रससम्म।

राज्यकालभरी नै उनले प्रधानमन्त्रीहरूसँग साप्ताहिक रूपमा भेटघाट गर्ने गर्दथिइन्।

लण्डनस्थित बकिंघम राजदरबार बाहिर महारानीको स्वास्थ्य अवस्थाबारे जानकारीको प्रतिक्षा गरिरहेका मानिसहरू उनको निधनको समाचार सुनेर रून थालेका थिए। स्थानीय समय अनुसार बेलुकीको साढे छ बजे महारानीको निधन भएको घोषणा गरिएपछि उक्त दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो भने महारानीको निधन भएको भन्ने औपचारिक सूचना दरबार बाहिर राखिएको थियो।

महारानीको जन्म सन् १९२६ को २१ एप्रीलमा लण्डनको मेफएरमा एलिजाबेथ एलेक्जान्ड्रा मेरी विन्डसरका रूपमा भएको थियो।

उनी ब्रिटेनको महारानी बन्लिन् भनेर कसैले पनि अनुमान गरेका थिएनन् तर सन् १९३६ मा उनको ठूलो बुवा एडवर्ड अष्टम्‌ले दुईपटक पूर्वपतिहरूसँग छोडपत्र गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्यागे। त्यसपछि उनका पिता राजा जोर्ज छैठौँ बनेपछि १० वर्षको उमेरमा नै परिवारभित्र लिलिबेट भनेर मायालु नामले बोलाइने उनी राजगद्दीको उत्तराधिकारी बन्न पुगेकी थिइन्।

त्यसको तीन वर्षभित्रै ब्रिटेन नाजी जर्मनीविरुद्ध युद्धमा होमियो। एलिजाबेथ र उनकी बहिनी प्रिन्सेस मार्गरेटलाई क्यानडा पठाइदिनुपर्ने सुझाव उनीहरूका आमाबुवाले नमानेका कारण युद्धकालको अधिकांश समय उनीहरूले विन्डसर काशलमै बिताए।

१८ वर्षको उमेर भएपछि एलिजाबेथले अक्सिलिअरी टेर्रिटोरिअल सर्भिसमा ५ महिना काम गरिन् जहाँ उनले गाडी मर्मतसम्भार तथा गाडी चलाउने आधारभूत सीप हासिल गरिन्। चुनौतीका माझ कसरी सामूहिक भावना उब्जन्छ भनेर मैले बुझ्न थालेँ,ू त्यतिखेरको अनुभव सम्झँदै उनले पछि भनेकी थिइन्।

विवाह
युद्धअवधिभरि उनले त्यतिखेर यूकेको नौसेना रोयल नेभीमा कार्यरत टाढाको नातेदार पर्ने प्रिन्स अफ ग्रीस फिलिपलाई पत्र लेखिरहिन्। उनीहरूको प्रेम सम्बन्ध झाँगियो र सन् १९४७ को नोभेम्बर २० मा वेस्टमिन्स्टर अबेमा उनीहरूको विवाह भयो। त्यसपश्चात् फिलिपलाई ड्यूक अफ एडिनबराको उपाधि दिइयो।

९९ वर्षको उमेरमा सन् २०२१ मा फिलिपको निधन हुनु अगाडि आफ्नो ७४ वर्ष लामो वैवाहिक सम्बन्धका दौरान फिलिपलाई एलिजाबेथले ‘मेरो शक्ति र आडभरोसा’ भनेर व्याख्या गरेकी थिइन्।

उनीहरूका पहिलो छोरा चार्ल्सको जन्म सन् १९४८ मा भएको थियो। प्रिन्सेस एनको जन्म सन् १९५० मा, प्रिन्स एन्ड्र्युको जन्म १९६० मा अनि प्रिन्स एडवार्डको जन्म सन् १९६४ मा भएको थियो। उनीहरूबाट एलिजाबेथका कुल ८ नातिनातिना अनि १२ पनातिपनातिना भए।

राज्यारोहण
सन् १९५२ मा तत्कालीन अस्वस्थ राजाको प्रतिनिधित्व गर्दै केन्या भ्रमणमा रहेका बखत फिलिपले एलिजाबेथलाई उनको बुवाको निधन भएको खबर सुनाएका थिए। तत्कालै उनी नयाँ महारानीको रूपमा लण्डन फर्किइन्।

सन् १९५३ को जुन २ मा एलिजाबेथलाई वेस्टमिन्स्टर अबेमा आयोजित समारोहमा राज्यारोहण गराइयो। २७ वर्षको उमेरमा उनले गद्दी सम्हालेको समारोहको दृश्य त्यतिखेर रेकर्ड गरेर टेलिभिजनमा देखाइँदा २ करोडभन्दा धेरै मानिसले हेरेका थिए।

त्यसपछिका दशकहरूमा ठूला परिवर्तन भए। विदेशमा ब्रिटिश साम्राज्यको अन्त्य भयो अनि सन् १९६० ताका सामाजिक मूल्यमान्यतामा पनि व्यापक बदलाव आए।

उक्त युग अनुकूल एलिजाबेथले राजतन्त्रमा पनि सुधार ल्याइन्, सामान्य हिँडडुल, शाही भ्रमण तथा सार्वजनिक समारोहमा उपस्थितिमार्फत् उनले आम मानिससँग अन्तर्क्रिया गरिन्।

राष्ट्रमण्डलप्रति उनको प्रतिबद्धता निरन्तर रह्यो। उनले राष्ट्रमण्डलका प्रत्येक सदस्य राष्ट्रको कम्तीमा एकचोटि भ्रमण गरिन्।

समर्पणको वाचा
तर उनको जीवनमा निजी तथा सार्वजनिक पीडाका समय पनि थिए। सन् १९९२ महारानीका निम्ति खराब वर्ष रह्यो जब आगलागीले विन्डसर काशलमा ठूलो क्षति भयो। उक्त दरबार महारानीको निजी निवासका साथै काम गर्ने स्थल पनि थियो। अनि उनका तीन सन्तानको विवाह समस्याग्रस्त भए।

प्रिन्सेस अफ वेल्स राजकुमारी डायनाको प्यारिसमा भएको कार दुर्घटनामा सन् १९९७ मा निधन भएपछि तत्काल सार्वजनिक प्रतिक्रिया दिन गाह्रो मानेको भन्दै महारानीको आलोचना पनि भयो।

आधुनिक समाजमा राजतन्त्रको सान्दर्भिकताबारे पनि प्रश्नहरू उठे।

कुनैपनि संस्थाले “तीप्रति बफादारी तथा समर्थन नजनाउनेहरूको त कुरै छाडौँ, बफादार एवं समर्थकहरूका निगरानीबाट समेत मुक्त हुने आश गर्नु हुँदैन,” उनले भनेकी थिइन्।

२१ वर्षको राजकुमारीकै रूपमा पनि एलिजाबेथले आफ्नो जीवन सेवामा समर्पण गर्ने वाचा गरेकी थिइन्।

सन् १९७७ मा आफ्नो शासनकालको रजत वर्षका बेला उनले ती वाचा सम्झिइन् र भनिन् ? हुन त अनुभवहीन समय र उमेरका बेला मैले त्यस्तो वाचा गरेकी थिएँ। तर त्यसको मलाई कुनै पछुतो छैन। म त्योबेलाको कुनै शब्द फेरबदल गर्न चाहन्नँ।

सोही वाचा उनले त्यसको ४५ वर्ष पछि पुनस् दोहोर्‍याइन्। यसै वर्षको जुन महिनामा शासनकाल ७० वर्ष पुगेको अवसरमा मनाइएको प्लाटिनम जुबिली महोत्सवका बेला उनले राष्ट्रलाई लेखेको पत्रमा उनले ती वाचा दोहोर्‍याएकी थिइन्।

उक्त महोत्सवलाई ब्रिटिश शैलीमा आधिकारिक समारोहहरू अनि जीवन्त सडक उत्सवहरूसहित मनाइयो।

स्वास्थ्य अवस्थाका कारण महारानी कतिपय समारोहमा उपस्थित नभएपनि उनले भनेकी थिइन् । मेरो मन तपाईँहरूसँगै छ ।

साभारः बिबिसि (bbc news)

भर्खरै

सम्बन्धित खबर

Language »