सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ओली-दाहाल छलफलपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं। भोलि, २५ वैशाखमा बस्ने तय भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। आज साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि बैठक स्थगित गरिएको हो।

आजै बसेको सचिवालय बैठकले यसबारे टुंगो नलगाउन सकेपछि दुई अध्यक्षबीच छलफल भएको थियो। “अध्यक्षद्वयको सहमतिमा हाललाई स्थायी कमिटीको बैठक नबस्ने निर्णय भएको हो”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीसँग भने।

सचिवालयको बैठक बसिरहँदा प्रधानमन्त्री ओली स्वास्थ्यमा केही असजिलो महसुस गरेर बीचमै निस्केका थिए। त्यसपछि सचिवालय बैठकमा उठेका कुराहरूसहित अध्यक्ष दाहाल उनलाई भेट्न पुगेका थिए।

“दुवै अध्यक्षले छलफलपछि आपसी सहमतिमा हाललाई स्थायी कमिटी बैठक नबस्ने, सरकार अब नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने निर्णय भएको हो”, थापाले भने, “अब बजेटभन्दा अघि स्थायी कमिटीको बैठक नबस्ने भएको छ।”

सरकारले १५ जेठमा संसद्‌मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

भर्खरै

सम्बन्धित खबर

Language »