सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

औपचारिक रुपमा ‘नेकपा’ विभाजन नभएसम्म सहकार्य नगर्ने नेपाली कांग्रेसको निर्णय

काठमाडौं , नेपाली कांग्रेसले औपचारिक रुपमै विभाजन नभएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा विहीबार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुसँगको छलफलपछि कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भने,‘कुनै पनि समूहले गरेको प्रस्तावका बारेमा निर्णय गर्ने बेला अहिले भएको छैन । कम्युनिस्ट पार्टी एकै छ । संसदीय दलको नेता ओली नै हुनुहुन्छ । उहाँको पार्टी एकै रहन्छ वा अर्कै परिस्थिति आउँछ भन्ने कांग्रेसको नियन्त्रणको विषय होइन । कांग्रेसले यो विषय टुंगो लागेपछि मात्रै आफ्नो धारणा बनाउँछ ।’

प्रतिनिधिसभा बैठक शुरु भएपछि जसरी राजनीतिक घटनाक्रम विकसित हुन्छ सोही अनुरुप निर्णय गर्ने उनले बताए ।

उनले भने,‘ संसद बैठक शुरु भएपछि जसरी परिस्थिति अघि बढ्छ, त्यो अवस्थामा कांग्रेसले आवश्यक निर्णय गर्छ । अहिले यो समूह वा अर्को समूहलाई समर्थन गर्छु भन्ने बेला भएको छैन ।’

संसदमा अविश्वासको प्रस्ताव पेस भयो भने त्यसपछि मात्रै आवश्यक निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

सहमहामन्त्री डाक्टर मतहले भने,‘कसले अविश्वासको प्रस्ताव ल्याउँछ वा ल्याउँदैन भन्ने कुरा नै टुंगिएको छैन । जबसम्म निर्क्यौंल हुँदैन त्यो अवस्थामासम्म हतार गरेर यो वा उ कुनै पनि पक्षमा लाग्ने निर्णय कांग्रेसले गर्ने बेला भएको छैन ।’

महतले नेकपाको कुनै पनि समूहले कांग्रेसँग सहकार्यको प्रस्ताव नगरेको समेत दाबी गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »