सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कपिलवस्तुमा कोरोना पुष्टि भएका दुवै जना ७ दिन अगाडि मुम्बईबाट आएको पुष्टि

बुटवल । बिहीबार राति कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका दुुईजना लकडाउनकै बीच भारतको मुम्बईबाट चार दिनअघि नेपाल प्रवेश गरेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षणमा २२ र १६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुुको मायादेवी गाउँपालिका-८ विजुवाका १६ र २२ वर्षका उनीहरुका वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले बताएका छन् । कोरोना संक्रमित दुवै जना मायादेवी गाउँपालिका-२ अभिरावका स्थानीय बासिन्दा हुन् । कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीका अनुसार उनीहरु दुवै जना मुस्लिम समुदायका हुन् ।

लुकिछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए ।दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

अन्य चारजना युवाहरू पनि उनीहरु सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरी प्रमुख जबराले बताए । रुपन्देहीको कोटहीमाई-१ का संक्रमित युवा पनि वैशाख ५ गते भारतको नयाँदिल्लीबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

कपिलवस्तुका संक्रमित दुई युवालाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसन बेडमा लैजाने तयारी भइरहेको उनले बताए । उनीहरूको यात्रा विवरण र सम्पर्कमा रहेका व्यक्ति पहिचान गर्न आज (शुक्रबार) देखि प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए ।

कपिलवस्तुका दुईजनामा संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा संक्रमितको संख्या २३ पुगेको छ ।

पछिल्लो समय लकडाउनको समयमा पनि लुकीछिपी भारतबाट कपिलवस्तु भित्रिने क्रम बढ्दो छ । आजको घटनाले स्थानीय जनप्रतिनिधिहरुकै मिलेमत्तोमा लुकीछिपी कपिलवस्तु भित्रिने गरेको छर्लंग भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »