सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्मचारीलाई सकारात्मक सोच सिकाउँदै नमोबुद्ध र रोशी

भकुण्डेबेशी । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका कर्मचारीहरुका लागि सकारात्मक सोंच सम्वन्धी तीन दिने तालिम आइतबारदेखि सुरु भएको छ ।


तालिम नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा आयोजना गरेका हुन् । तालिमको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना र रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले संयुक्तरुपमा उद्घाटन गरेका थिए । तालिमममा दुईवटा पालिकाका गरी ३० जना कर्मचारीहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई नेपाल सरकारका सहसचिव डा.भीष्म भुषाल र सकारात्मक सोचबारेका प्रशिक्षक डा. राजु अधिकारीले प्रशिक्षण दिनेछन् ।


उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाबीच विगतदेखि नै सहकार्य हुँदै आएको र त्यसैको निरन्तरता स्वरुप संयुक्तरुपमा यो तालिम आयोजना गरिएको बताए । विकास भनेको चेतनाको विकास हो भन्दै नगर प्रमुख तिमल्सिनाले चेतनाको विकासका लागि सकारात्मक सोच अपरिहार्य रहेको बताए । सकारात्मक सोचले नै परिवर्तन ल्याउन सकिने तिमल्सिनाको भनाई थियो । जनप्रतिनिधि र कर्मचारीले सकारात्मक सोचका साथ सहकार्य गर्दै काम अघि बढाए जनताका पक्षमा काम गर्न सकिने र यसले सकारात्मक परिणाम आउने उनले बताए ।

कार्यक्रममा रोशी गाउँपालिका प्रमुख डिबी लामाले कर्मचारीलाई अझै उर्जावान र सकारात्मक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । सकारात्मक सोचले नै संसार बदल्ने सामथ्र्य राख्ने उनको भनाई थियो । सकारात्मक सोच र परिवर्तनको जिम्मेवारी जनप्रतिनिधिको भएको भन्दै उनले त्यसका लागि सकारात्मक सोच हुनु आवश्यक रहेको बताए । नमोबुद्ध र रोशी गाउँपालिकाबीच आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर जारी राख्ने उनले बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङले कार्यकुशलताका लागि सकारात्मक सोच आवश्यक रहने भन्दै त्यसका लागि अहिले आयोजना गरिएको तालिम प्रभावकार हुने बताइन् । सकारात्मक सोचले मानिसलाई उर्जावान बनाउने र त्यसले मनोबलमा समेत वृद्धि गर्ने उनले बताइन् । कार्यक्रममा जिल्ला समन्वय अधिकारी केशवप्रसाद रिजालले कर्मचारीका लागि दैनिकरुपमा तनाव व्यवस्थापन आवश्यक रहने र यस्ता तालिमले त्यसमा मद्दत पुग्ने बताए । कामको चापले तनाव बढिरहेको बेला सकारात्मक सोच राख्न सकियो भने यसले तनाव न्यूनिकरण हुनुका साथै सेवा प्रवाहमा सहजता आउने उनले बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सकारात्मक सोचले नै दैनिक क्रियालापमा सकारात्मक योगदान पुग्ने भएकाले त्यसैलाई मध्यनजर गर्दै तालिम आयोजना गरएको बताए । तालिमबाट सेवा प्रवाहमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै पौडेलले अरुप्रति सकारात्मक भाव राख्न पनि तालिम आवश्यक रहेको बताए । व्यक्ति परिवर्तन भएमात्रै समाज परिवर्तन हुने र समाज परिवर्तनका लागि सकारात्मक सोच अपरिहार्य रहेको पौडेलको भनाई थियो । यस्तै कार्यक्रममा रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले दुबै पालिकाका कर्मचारीलाई मिलेर क्षमता विकास गरौं भन्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए । आगामी दिनमा पनि नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाबीच आपसी सहकार्यमा सिक्दै जाने क्रम जारी रहने उनले बताए ।

तालिम उद्घाटन कार्यक्रम नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षता र नगरपालिकाका सामाजिक परिचालक संयोजक श्याम खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »