सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कवाडी गोदाममा आगलागी, ५ जना घाइते

काठमाडौँ । ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार बिहान लगभग सवा ११ बजे आगलागी सुरु भएको थियो । आगलागीमा परी ५ जना घाइते भएका छन् । ललिपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।

भारत मोतिहारी घर भएका धर्मनाथ जैसवाल आइतबार बिहान १० बजेतिर ललितपुरको बखुन्डोलस्थित नन्दु जैसवालको कवाडी कारखानामा पुगे । त्यतिबेला त्यहाँ नन्दु मात्र थिए । नन्दुलाई कवाडीको सामान बेच्न पुगेका थिए धर्मनाथ ।

त्यतिबेला नन्दु कवाडी सामानमा रहेको बडीस्प्रेको बोतल फुटाउँदै मिलाउने काम गरिरहेका थिए । धर्मनाथ पनि नन्दुलाई सघाउन बडीस्प्रेको बोतल फुटाउन थाले ।

बडीस्प्रेको बोतल फुटाउने क्रममा निस्केको आगोको झिल्को नन्दुको लागि अभिसाप बन्न पुग्यो । आगोको त्यही सानो झिल्कोले ठूलो दुर्घटना निम्तायो । नन्दुको कवाडी कारखाना खरानी बन्यो ।

आगलागी भएको भन्दै तत्कालै नन्दुले आत्तिदैँ १०० मा प्रहरीलाई फोन गरे । नन्दुले फोन गरेको १५ मिनेटपछि मात्र प्रहरी र ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा पुगेका थिए ।

आगलागीमा परेर धर्मनाथको दायाँ खुट्टा जलेको छ भने नन्दु भाग्ने क्रममा सामान्य घाइते भएका छन् ।

धर्मनाथको ललितपुरस्थित अल्का अस्पतालमा सामान्य उपचारपछि बलखुस्थित बर्न अस्पताल रिफर गरिएको छ । नन्दुको अल्कामै उपचार भइरहेको छ ।

‘बडीस्प्रे फटाउँदै थियौँ । अचानक आगोको झिल्को देख्यौँ । त्यही झिल्कोले तहसनहस बनायो,’ अस्पतालामा उपचाररत नन्दुले बताए ।

३० ट्याङ्कर पानीले आगलागी नियन्त्रण

आगो निभाउन ३० ट्याङ्करको पानी प्रयोग गरिएको थियो । सुरुमा घटनास्थलमा ललितपुर महानगरपालिकाको दमकल पुगेको थियो । पछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरपालिकाको दमकल पनि पुगेर आगो नियन्त्रण गरेको थियो ।

आगो निभाउन पानीको आवश्यकता धेरै पर्ने भएकाले प्रहरीले बाटोबाटै ट्याङ्कर मोडेर ल्याएका थिए । पानी निभाउनको लागि बाटोबाट उठाएर ल्याएको एउटा ट्याङ्करले कारलाई ठक्करसमेत दिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट सँगै जोडिएको उत्तर कोरियायाली दूतावासको बिल्डिङमा समेत सामान्य क्षति पुर्याएको छ । यस्तै आगलागीबाट अन्य तीनवटा घरहरुमा समेत सामान्य क्षति पुर्याएको छ ।

पुस महिनामा मात्रै ललितपुरको ३ कवाडीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »