सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कांग्रेसलाई सबै चुनौतीको समना गर्न सक्ने पार्टी बनाऔं -सिंह

नेपालगन्ज, नेपाली कांग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेसलाई सबै चुनौतीको सामना गर्न सक्ने पार्टीको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा विपी अध्ययन प्रतिष्ठान बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको विपी स्मृती पुस्तकालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीलाई अनुशासित, विधि र नियम सम्मत तबरले सञ्चालन गर्न सकेमा जनताको आर्कषण बढ्ने नेता सिंहको भनाई छ ।

उनले भने, ‘नेपाली कांग्रेसलाई कार्यकर्ताले मात्र नभएर आम नेपाली जनताले विश्वास गर्ने पार्टी बनाउन सक्रिय बनाउनुपर्छ ।’ पार्टी भित्रका कमी, कमजोरी हटाउनको लागि कांग्रेसका नेतादेखी कार्यकर्ताहरु गाउँ, वडा, टोलमा पुगेर काम गर्नुपर्नेमा जोड दिए ।

वर्तमान सरकारले सरकार नभई सत्ता चलाउन थाल्यो – गगन थापा

यस्तै कांग्रेसका युवा नेता गगन थापाले वर्तमान दुई तिहाई सरकारले सरकार मात्र नभई सत्ता चलाउन थालेको आरोप लगाए ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सर्वसत्तावादतर्फ उन्मुख भइरहेको बताउँदै उनले भने, ‘नेपाली कांग्रेसलाई यतिखेरको डर, चिन्ता भनेको नेकपाले दुई तिहाइको सरकार बनायो भन्ने होईन, नेकपाले तीन चौथाई बनाउन पनि पाउँछ, पाँच वर्ष मात्र होईन, पचास पटक जित्यो भने उसले चलाउन पाउँछ, प्रश्न हाम्रो नेपाल कम्युनिष्ट पार्टीले सरकार होईन, सत्ता चलाउन थाल्यो ।’
सरकार बदलिएपनि सत्ता नबदलिने नेता थापाले बताए ।

‘प्रहरी, अड्डा अदालत, प्रशासन, संसद सबै कुरालाई कब्जा गरेर एउटा ब्यक्तिले चलाउने कुरा यसबाट निर्माण भएको सत्ता हामीले परिकल्पना गरेको होईन,’ उनले थपे ।

नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले आम जनताको भरोसा नेपाली कांग्रेसप्रति नै रहेको बताइन् ।

कम्युनिष्ट सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको भन्दै मुलुकलाई बचाउन कांग्रेसले सक्रियता देखाउनुपर्ने धारणा राखिन् ।
प्रतिष्ठानका अध्यक्ष सुधान्सु कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता, सांसद, पुर्वसांसद लगायतको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । विपी स्मृती पुस्तकालय बुधबारबाट नै सञ्चालनमा आइसकेको छ ।

उक्त पुस्तकालयमा करिव साढे ५ सय पुस्तक राखिएको प्रतिष्ठान बाँकेका सचिव तोजिन्द्र बिकले जानकारी दिए ।

उक्त पुस्तकालय नेपाली कांग्रेस बाँकेलाई बुधबार नै हस्तान्तरण गरिएको छ ।

प्रतिष्ठानले नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित कार्यसमिती पदाधिकारी तथा पुस्तकालय स्थापना गर्नमा सहयोग पुर्याउने ब्यक्तीलाई सम्मान गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »