सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौँ उपत्यका छिर्ने ६ वटै नाका सिल !

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्ने सुझावसहितको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी सुरक्षा कार्ययोजना तयार पारेका छन् ।

उपत्यकाबाहिरबाट भित्रिने मानिसबाट कोरोना भाइरसको संक्रमण फैलिनसक्ने उच्च जोखिम औंल्याउँदै काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले अत्यावश्यक सेवा र मानवीय संवेदनासँग सम्वन्धितबाहेक सबैको आवागमन नियन्त्रण हुने गरी कार्ययोजना तयार पारेका हुन् । बाहिरबाट मानिसको आवागमन रोक्न सके उपत्यकाभित्र लकडाउन खुकुलो बनाएर दैनिक जीवनयापन र अत्यावश्यक सेवाप्रवाहलाई सहज बनाउँदै लगिने रणनीति अपनाउने यस्तो कार्ययोजना बनाइएको प्रशासनले जनाएको छ ।

यसैगरी सबै प्रवेश नाकामा अस्थायी पूर्वाधार व्यवस्थापन गरी स्वास्थ्यकर्मीसहितको ‘कोरोना डेडिकेटेड’ टोलीलाई एम्बुलेन्ससहित तयारी हालतमा राख्नुपर्ने तथा स्वास्थ्योपचारको व्यवस्थासहित क्‍वारेन्टाइन स्थल निर्माण गर्नुपर्ने प्रस्ताव छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले नुवाकोटबाट प्रवेश गर्ने बालाजुमाथिको तीनपिप्लेरमुड्खुभज्याङ, सिन्धुपाल्चोक जोड्ने जर्सिङपौवा, काभ्रेबाट प्रवेश गर्ने कात्तिके र जगातीरसाँगा, धादिङबाट प्रवेश गर्ने थानकोट तथा मकवानपुरबाट आउने फर्पिङ नाकालाई अत्यावश्यक र मानवीय संवेदनासँग सम्बन्धितबाहेक सिल गरेर आवागमन नियन्त्रण गर्नुपर्ने प्रस्ताव तयार पारिएको बताए ।

ती नाकाको स्थलगत निरीक्षणका लागि मंगलबार दिनभर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको सुरक्षा टोली पुगेको थियो । लकडाउन कार्यान्वयनसम्बन्धी कार्ययोजना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पेस गरिने छ । त्यसपछि आवश्यकता र औचित्य हेरेर सीसीएमसीले निर्णय गर्ने उनले बताए ।

यी हुन् राजधानी प्रवेश गर्ने नाका

-थानकोट
-फर्पिङ
-तीनपिप्लेरमुड्खुभञ्ज्याङ
-जर्सिङपौवा
-कात्तिके
-जगातीरसाँगा

भर्खरै

सम्बन्धित खबर

Language »