सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं महानगरपालिकाले बजेट खर्च गर्न सकेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६ महिनाको अवधिमा विकासका लागि छुट्ट्याएको बजेट खर्च गर्न सकेको छैन। यस आर्थिक वर्षमा महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत ५४ करोड ७९ लाख ६७ हजार रुपैयाँ छुट्याएको थियो। तर, पुस मसान्तसम्म महानगरले जम्मा ९२ हजार ४ सय रुपैयाँ मात्र खर्च गरेको छ। जसलाई प्रतिशतमा हेर्दा ०।०२ प्रतिशत भएको छ। जुन एकदमै न्यून खर्च हो। सहरी सुव्यवस्था विभागअन्तर्गत ०।७४ प्रतिशत मात्र खर्च भएको छ। यस विभागअन्तर्गत सार्वजनिक यातायात सुधार, सडकमा सूचना बोर्ड राख्ने, सहरमा सौन्दर्य कायम गर्ने, पार्किङ व्यवस्थापन, फुटपाथमा राखिने पसलको व्यवस्थापनलगायत कार्यक्रम राखिएको थियो। तर, बजेट खर्चको अवस्थाले कार्यक्रममा प्रगतिको अनुमान लगाउन सकिन्छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत ०।१६ प्रतिशत मात्र खर्च भएको छ।

यस्तै, भौतिक पूर्वाधार विकासका लागि छुट्याएको रकममध्ये जम्मा १४ प्रतिशत मात्र खर्च भएको छ। महानगरका मुख्य काम भौतिक पूर्वाधारअन्तर्गत पर्छन्। सडक निर्माण, फुटपाथ व्यवस्थापन, ढल निर्माण, खोला करिडोर निर्माण, पार्क निर्माण, आकाशे पुललगायत धेरै काम यस विभागअन्तर्गत छन्। तर, खर्चको स्थिति हेर्दा यस्ता कामको अवस्था सन्तोषजनक नभएको देखिन्छ। सहकारी व्यवस्थापनमा पुस मसान्तसम्म बजेट रकम १ प्रतिशत पनि खर्च गर्न सकेको देखिँदैन।

महानगरले शिक्षा, सामाजिक विकास, सहरी सेवा विकास कार्यक्रमलगायतमा अन्यको अनुपातमा बढी खर्च गरेको देखिएको छ। पुस मसान्तसम्म सबैभन्दा बढी सामाजिक कार्यक्रममा ३६ प्रतिशत रकम खर्च गरेको छ।

जम्मा बजेटमा महानगरले अहिलेसम्म करिब ३० प्रतिशत मात्र खर्च गरेको हो। यसरी ६ महिनासम्म पनि बजेट खर्च नगरेर अन्तिम असार मसान्तमा मात्र खर्च खर्दा कामको गुणस्तरमा शंका उत्पन्न हुने गरेको छ। तर, महानगरका प्रवक्ता ईश्वरमान डंगोलले खर्च कम भए पनि काम भने अगाडि बढिरहेको जानकारी दिए। धेरै काम ढिला सुरु भएकाले अहिले खर्चको अवस्था कम देखिएको डंगोलको भनाइ छ। ‘खर्चको आधारमा हेरेर कामै नभएको भन्न मिल्दैन,’ उनले भने, ‘धेरै काम अगाडि बढेका छन्। तर, कामको रकम भुक्तान हुन बाँकी छ। जसले गर्दा खर्च कम भएको देखिएको हो।’

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलगायत अन्य प्रदेशअन्तर्गत कार्यक्रममा भने माथिबाट बजेट निकासा ढिलो भएकाले पनि खर्च हुन नसकेको प्रवक्ता डंगोलले बताए। धेरै काम भर्खर सुरु भएको र अबको चार महिनामा लगभग ७० प्रतिशतभन्दा माथि काम हुने उनको दाबी छ। तर, हरेक वर्ष राजस्व लक्ष्यअनुरूप उठाउने तर बजेट खर्च भने नहुने अवस्था देखिएको छ। महानगरसँग करिब पाँच अर्ब बैंकमा मौज्दात छ। महानगरको राजस्व विभागका अनुसार ६ महिनामा करिब ३५ प्रतिशत राजस्व संकलन गरिसकेको छ। राजस्व संकलनको अवस्था लक्ष्यअनुरूप रहेको महानगरपालिका राजस्व विभागका निर्देशक शिवराज अधिकारीले बताए। ‘अहिले राजस्व लक्ष्यअनुरूप छ,’ उनले भने, ‘मसान्तसम्म ८० प्रतिशतभन्दा बढी उठ्छ।’ राजस्व लक्ष्यअनुरूप उठे विकासका काममा बजेट खर्च गर्न सकेको छैन। बरु बैंकमा पैसा जम्मा गरेर ब्याज मात्र खानेजस्तो देखिएको छ। तर, प्रवक्ता डंगोलले महानगरले बैंकबाट ब्याजका लागि पैसा जम्मा नगरेको बताए। ‘ब्याज खानलाई पैसा खर्च नगरेको होइन,’ उनले भने, ‘महानगरले जतिबेला पनि झिक्न सक्ने गरी राखिएको हो। बजेटको दुरुपयोग गर्न होइन, महानगरको फाइदाकै लागि राखिएको हो।’

भर्खरै

सम्बन्धित खबर

Language »