सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे प्रवेश सबै नाका बन्द

काभ्रे । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो ।

जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले सिन्धुपाल्चोकसँग जोडिएको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका, रामेछापसँग जोडिएको चौँरीदेउराली, तेमाल र रोशी गाउँपालिका, सिन्धुलीसँग जोडिएको तेमाल गाउँपालिका, मकवानपुरसँग जोडिएको महाभारत गाउँपालिका र ललितपुरसँग जोडिएको बेथानचोक र खानीखोला गाउँपालिका तथा भक्तपुरसँग जोडिएको बनेपा नगरपालिकास्थित साँगामा आजदेखि अत्यावश्यक सवारीबाहेकलई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो ।

कमाण्ड पोष्टका सदस्यसचिव एवं स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले स्थानीय तहलाई आ–आफ्ना सीमामा कडाइकासाथ आवतजावत बन्द गर्न लगाइने निर्णय भएको बताए । उनका अनुसार लकडाउन उल्लङ्घन गर्ने सवारी तथा नागरिकलाई सुरक्षाकर्मीले दैनिक जाँच गरी कारवाही गरिरहेको छ ।

सो पोष्टले स्थानीय तहका सबै वडा र बस्तीमा निगरानी समूह गरी लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न नागरिकबाटै स्थानीयस्तरमा समूह बनाएर निगरानी गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी एवं कमाण्ड पोष्ट संयोजक श्रवणकुमार तिमल्सिनाले भने, “पालिकास्तरमै नागरिकको समूह परिचालन गर्दा लकडाउन प्रभावकारी हुने देखियो, सोहीअनुसार पालिका प्रमुखलाई अनुरोध गरिनेछ ।”

यसअघि तेमाल र बेथानचोक गाउँपालिकाले अन्य स्थानबाट कुनै पनि सामग्री ल्याउन रोक लगाउँदै आफ्नो क्षेत्र प्रवेशका सबै नाका बन्द गर्ने निर्णय गरिसकेकका छन् । स्थानीय प्रशासनले जिल्लाका नाकामा कडाइ गर्न थालेपछि बेथानचोक गाउँपालिकाले गाउँमा पाहुना आउन र बस्नसमेत बन्देज गर्ने निर्णय गर्यो । साथै गाउँपालिकाले एक वडाबाट अर्को वडामा जान नपाइने नियम पनि बनाएको छ ।

पाँचखाल नगरले भने सरकारले पहिलोपटक बन्दाबन्दीको समय थपेलगत्तै गत चैत तेस्रो सातादेखि नै एक वडाबाट अर्को वडा प्रवेशमा रोक लगाएको थियो । नगरप्रमुख महेश खरेलले कारोना भाइरस सङ्क्रमणको उच्च जोखिम देखिएकाले सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि चैतदेखि नै वडा प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए । उनका अनुसार तरकारी, दूध, औषधि, तथा खेतबारीमा काम गर्नेबाहेकका व्यक्ति एक वडाबाट अर्को वडा प्रवेश गर्न पाउने छैन ।

पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले भने वडास्थित पसल र बासिन्दाको दैनिक निगरानी गरिरहेको छ । मण्डनदेउपुर नगर र महाभारत गाउँपालिकाले भने हाल वडा प्रवेशमा रोक लगाइ पाँच जना भेला हुन रोक लगाएको छ । स्थानीय तहले अत्यावश्यक सामग्री खरिदका लागि भने आ–आफ्नो क्षेत्रका स्थानीय पसल खुलाउने समयावधि तोकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »