सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कामको खोजिमा त्रिभुवन चोकमा जम्मा हुने १३० जना मजदुरको कोराना परिक्षण

सिराज खान
नेपालगन्ज, जिल्ला स्वास्थ्य कार्यालय बाँकेले विहिबार नेपालगञ्जको त्रिभुवन चोकमा भेला भएका १३० जना श्रमिकहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी र कसौधन वैश्य समाज बाँकेको समन्वय र सहयोगमा दैनिक ज्यालादारीमा काम गर्न कामको खोजीमा त्रिभुवन चोकमा भेला भएका उनिहरुको स्वाब संकलन गरिएको हो ।

बाँके जिल्लाका विभिन्न स्थानबाट कामको खोजीमा त्रिभुवन चोकमा भेला भएका श्रमिकहरुलाई कोरोना परिक्षणका बारेमा माईकिंग गरेर जानकारी गराउँदै परिक्षणका लागि नाम दर्ता गराउन कसौधन वैश्य समाज बाँकेका अध्यक्ष तथा वरिष्ठ व्यवसायी नन्दलाल वैश्यले आग्रह गर्नु भएको थियो ।
कामका लागि दैनिकजसो त्रिभुवन चोकमा भेला हुने श्रमिकहरु जोखिममा रहेको जनाउँदै उनिहरुको कोरोना परिक्षण आवश्यक रहेको समाजका वैश्यले बताउनु भयो ।


ज्यालादारीमा दिनदिनै फरक फरक स्थानमा काम गर्ने श्रमिकहरु अति जोखिममा पर्ने हुँदा उनिहरुको कोरोना परिक्षण गर्ने निर्णय गरिएको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताउनु भयो । उहाँले विहिबार चोकमा भेला भएका १३० जना श्रमिकको स्वाब संकलन गरिएको जानकारी गराउनु भयो ।

सरकारले १२० दिन लामो बन्दाबन्दीलाई समाप्त गरेको घोषणा गरे लगत्तै श्रमिकहरुको स्वाब संकलन गरिएको हो ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार त्रिभुवन चोकबाट २०० जनाको स्वाब सकलन गर्ने लक्ष्य राखिएकोमा धेरैजना श्रमिकहरु काम पाउने वित्तिकै त्यहाँबाट गैसकेकोले १३० जनाको मात्र स्वाब संकलन गरिएको छ ।
बाँकेमा विगत केही समययता आएर संक्रमितहरु फेला पर्ने क्रम घट्दै गएपछि उच्च जोखिममा रहेको क्षेत्रको पहिचान गरेर कोरोना परिक्षणलाई तिव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताउनु भयो ।

सो क्रममा हालसम्म फ्रन्टलाइनमा काम गर्ने र अति जोखिममा रहेका पत्रकार, स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी, औषधी व्यवसायी, बैंकका कर्मचारी र कानुन व्यवसायीहरुको परिक्षण गरि सकिएको उहाँले बताउनु भयो ।
उनिहरु मध्ये अधिकांशको नतिजा नगेटिभ आएकोले समुदायमा कोराना नरहेको पुष्टि गरेको प्रमुख शाहले बताउनु भयो ।

स्थानीयको माग अनुसार अब सैलुनमा काम गर्ने, तरकारी मण्डीमा काम गर्ने र अन्य भिडभाडको क्षेत्रमा काम गर्नेहरुको पनि परिक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।


यसैविच जिल्लाका ३० जना कानुन व्यवसायीको कोरोना परिक्षण गरिएकोमा सबैको नतिजा नगेटिभ आएको भेरी अस्पतालले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »