सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना भाइरस विरूद्धकाे लडाइँ जितिनेछः राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैलाई अपिल गरेकी छन् । कोरोना भाइरसका कारण सिंगो धर्ती युद्धमैदान जस्तै भएको भन्दै उनले यो लडाइँमा मानवजाति विजय हुने विश्वास व्यक्त गरिन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्दछु ।’

राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेको बताइन् ।

संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै संक्रमण फैलन नपाएको उनले बताइन् ।महामारीका बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको उनले प्रशंसा गरिन् । उनले भनिन्, ‘तपाईंहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैं रहिरहनेछ ।’

कोरोना भाइरसका कारण सिंगो धर्ती युद्धमैदान जस्तै भएको महसुस हुन्छ भन्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको यो लडाइँमा मानवजाति विजय हुने विश्वास व्यक्त गरिन् । उनले कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।

यस महामारीविरुद्धको लडाइँमा सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई उनले आह्वान गरेकी छन् ।

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी संक्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले लकडाउन गरेको भन्दै उनले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो, आफ्नो परिवार, छिमेकी र समुदायको स्वास्थ्यमा ध्यान दिन आग्रह गरिन् । ‘आ–आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ,’ उनले भनिन् ।

यस विश्वव्यापी महामारीका समयमा संसारका विभिन्न मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आ–आफ्नो ठाउँमा आवश्यक सतर्कतासहित सुरक्षित रहन राष्ट्रपतिले आह्वान गरिन् ।

पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको र दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवी सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको भन्दै उनले प्रभावितहरुका लागि सरकारले राहत प्याकेज घोषणासमेत गरिसकेको उल्लेख गरिन् ।

विभिन्न देशमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सम्बन्धित देशले देखाएको तत्परताका लागि राष्ट्रपति भण्डारीले सबै मित्रराष्ट्रप्रति आभार प्रकट गरेकी छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »