सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना सन्त्रासका कारण पर्यटन क्षेत्र संकटमा, वैकल्पिक बजारको खोजी शुरु

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् ।

कोरोनाको हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका व्यवसायीले पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको जनाएका हुन् ।

मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको छ । होटल क्षेत्रमा धमाधम बुकिङ रद्द भइरहेको छ भने हवाई क्षेत्रमा पनि व्यवसाय ह्वात्तै घटेको छ । कोरोनाको सबैभन्दा बढी प्रभाव नेपालको पर्यटन क्षेत्र त्यसमा पनि हवाई उद्योगमा पर्ने भएकाले वैकल्पिक बजारको खोजी थालिएको वायु सेवा सञ्चालक सङ्घका महासचिव योगराज कँडेल शर्माले बताए ।

हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शर्माले हवाई क्षेत्रमा पनि सबैभन्दा बढी हेलिकप्टर व्यवसाय मारमा परेको बताए । वसन्त ऋतुको अगाडि आरोहीलगायतका विदेशीले धमाधम बुकिङ रद्द गरिरहेको उनले जानकारी दिए ।

हेली एभरेष्टको मात्रै १३२ बुकिङ भएकामा ५२ वटा रद्द भइसकेका छन् । सोही अनुपातमा अन्य हेलिकप्टरको पनि बुकिङ रद्द हुनेक्रम बढेको सङ्घले जनाएको छ । अहिले सार्वजनिक सेवामा रहेका १० हेलिकप्टर कम्पनीका ३३ हेलिकप्टर छन् यीमध्ये ३० हेलिकप्टर उडानयोग्य छन् । अहिले दैनिक एक/दुई वटा मात्र उडान भइरहेको कम्पनीले जनाएका छन् । त्यसैगरी जहाजतर्फ आन्तरिक उडानमा नौ वायु सेवा प्रदायक कम्पनीले उडान गरिरहेका छन् ।

महासचिव शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले कोरोनाको हल्लाले दैनिक तीन हजार यात्रु घटेका छन् । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यो सङ्ख्या दैनिक चार हजार बढाएर सात हजार पुर्‍याउने योजना थियो ।

सबैभन्दा बढी हेलिकप्टरको ५० प्रतिशतभन्दा बढी उडान कटौती भएको छ । जहाजतर्फ ठूला वायु सेवा कम्पनी बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्सलगायतको उडान सङ्ख्या सन्तोषजनक रहे पनि डलर यात्री घटेपछि आर्थिक कारोवार ह्वात्तै घटेको महासचिव शर्माको भनाइ छ ।

विदेशीको चहलपहल घटेपछि देशका प्रमुख पर्यटकीय गन्तब्यमा व्यावसायिक सम्भावनाको खोजीका लागि प्याकेज बनाएर सहुलियत मूल्यमा हेलिकप्टर तथा जहाज सञ्चालन गर्ने योजना बनाइएको सङ्घले जनाएको छ । व्यवसायीले उपत्यकाको पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्सबाट हेलिकप्टर चढेर काठमाडौँ उपत्यका राउन्ड लगाउन रु १० हजारको प्याकेज बनाएर उडान अनुमतिका लागि नियामक प्राधिकरणलाई पत्राचार गरिएको महासचिव शर्माले जानकारी दिए ।

त्यसैगरी मुख्य पर्यटकीय क्षेत्र पोखरालगायत गन्तव्यमा पनि यस्तो प्याकेज बनाइनेछ । आन्तरिक गन्तव्यमा जाने यात्रुलाई विशेष छुट ‘अफर’लगायत व्यवस्था गरिने व्यवसायीको भनाइ छ । अहिलेको अवस्था निरन्तर रहे हेलिकप्टर तथा जहाज ग्राउण्डेड गर्न बाध्य हुने बताउँदै सङ्घका महासचिव शर्माले अहिले कम्पनी बचाउनका लागि खर्च कटौती र विभिन्न तौरतरिका अपनाइएको उल्लेख गरे । ‘कोरोनाको प्रभावले हवाई क्षेत्रमा अबको तीन महिनामा चार अर्ब क्षति हुने अनुमान गरेका छौँ, अहिले जहाजको इन्स्योरेन्स तिर्न र मर्मत खर्च निकाल्न धौधौ परेको छ, त्यसैले हवाई उद्योग बचाइदिन सरकारलाई गुहारेका हौं’ उनले भने ।

लाखौँ खर्चेर नेपाल आउने विदेशी जोखिमयुक्त देशको यात्रा गर्न रुचाउँदैनन् । त्यसको प्रत्यक्ष असर हवाई क्षेत्रमा पर्ने व्यवसायीको भनाइ छ । वायु सेवा सञ्चालक सङ्घले यही फागुन २३ गते विज्ञप्ति निकालेर कोरोना भाइरसको हल्लाका कारण आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाएको थियो ।

वायुसेवा प्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्था गर्न माग गरेको छ । हवाई इन्धनमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनको मूल्य कम्तीमा ३० प्रतिशत घटाउनसमेत व्यवसायीले अनुरोध गरेका छन् ।

छिमेकी मुलुक चीनमा देखा परेको कोरोनाको सङ्क्रमणले विश्वव्यापी रुप लिएसँगै संसारको अर्थतन्त्रलाई असर पार्ने र अर्थतन्त्रको मुख्य पाटो पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने खतरा औँल्याउँदै सङ्घले आन्तरिक वायुसेवा कम्पनीकोसमेत व्यापार घटेको जनाएको छ । विदेशी पर्यटक नआउँदा अहिले उपलब्ध जहाजलाई मागअनुसार यात्रु नपुग्ने भन्दै सङ्घले सोही कारण अब अनुपात मिलाएर सबै कम्पनीका जहाज ग्राउन्डेड गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सङ्घले सम्पूर्ण खर्चमा मितव्ययिता अपनाउने, अहिले भएको वायुयानको सङ्ख्याअनुसार माग नहुने अवस्थामा सबै कम्पनीले आफ्नो जहाज ग्राउण्डेड गर्ने, कर्मचारीलाई बिनातलब छुट्टीमा जान प्रोत्साहित गर्ने र सेवासुविधा कटौती गर्ने समेतका कार्य गर्ने निर्णय गरेको छ ।

विश्वका ९५ देशमा ‘कोभिड–१९’ को सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म तीन हजार ५०० जनाको मृत्यु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »