सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किन राख्न थाले घरघरमा अक्सिजनको सिलिन्डर ?

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक समीकरणले नयाँरुप लिन सफल भएता पनि कोभिड (१९) दोस्रो लहरको समाधानमा नेपाल सरकारले विशेष व्यवस्थापन गर्न सकिरहेको छैन । जोड घटाउको राजनीतिकै कारण कोभिड समस्याको समाधानका लागि भुमिका निर्वाह गर्न नसकेको धेरै जानकारहरु बुझाई छ ।

लकडाउन नै समस्याको समाधान हो भन्न नमिल्ने स्वास्थ्य विज्ञहरुले बताइरहेका छन् । पहिलो कोरोना लहरमा नेपालमा खासै समस्या नदेखिएता पनि दोस्रो लहरको कोरोनाले नेपाली जनतालाई पुर्णरुपमा त्रासमा राखिरहेका छन् । हरेक अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेका छन् भने अक्सिजन अभावकै कारणले धेरैको मृत्यु हुने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ । अक्सिजको समस्याको समाधान कसरी गर्न सकिन्छ ? नेपाल स्वास्थ्य मन्त्रालयका लागि समस्याको मुल विषय वस्तु भएको छ भने हरेक नागरिकहरुले अब घरघरमा अक्सिजनको सिलिन्डर राख्न थालेको समाचार बाहिरिएको छ । यही विषयमा अनलाइन खबरका पत्रकार नुनुता राई यसरी लेख्छन् ।

अस्पतालहरूमा कोरोना संक्रमणबाट सिकिस्त भएका बिरामीलाई अक्सिजनको शक्त आवश्यकता छ । अक्सिजन अनिवार्य दिनुपर्ने संक्रमित बिरामीको चाप बढेपछि अक्सिजनसहितको बेड पाउदा त झन् ‘चिठ्ठै’ परे जस्तो हुने अवस्था भएको छ ।

कतिपय अस्पतालहरूले अक्सिजनको अभावले संक्रमितको भर्ना लिनै छोडेका छन् । केही अस्पतालहरूले अक्सिजन नभएको भन्दै उपचाररत बिरामीलाई नै डिस्चार्ज गरिदिएका छन् । जसका कारण कैयौं बिरामीको ज्यान समेत गएको समाचार सार्वजनिक भइसकेको छ । उपचार दिइरहेका अधिकांश अस्पतालहरूले संक्रमितका आफन्तलाई नै अक्सिजन सिलिन्डर व्यवस्था गर्न अह्राइरहेका छन् ।

कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै धेरै संक्रमितले अक्सिजनकै अभावमा ज्यान गुमाइसकेका छन् । विरामीहरू अस्पतालमा छटपटाइरहेका छन् । संक्रमितका आफन्त, परिवारका सदस्यहरू अक्सिजनको खोजीमा भौंतारिरहेका छन् ।

‘मैले अक्सिजन नपाएकै कारण मामा गुमाएँ । भाउजु र भतिजलाई पनि संक्रमण पुष्टि भएपछि एउटा ल्याएर घरमा राखेको छु । हामीलाई घरमा नराख भन्नका लागि त आवश्यक परेको बेला दिनसक्छु भनेर ग्यारेन्टी पनि गर्नुपर्‍यो नि । सरकार आफू रमिते बन्ने, हाम्रो ज्यान ज्यान हैन ?’

सामाजिक सञ्जाल अक्सिजनसहितको बेड, आईसियू, भेन्टिलेटरको आवश्यकता परेको भन्दै सहयोगको अपिल गरिएका पोस्टहरूले भरिन थालेका छन् । अक्सिजन अभावको अवस्थाले आत्तिएका नागरिक भने ‘भोलि कस्तो अवस्था पो आइलाग्ने हो’ भन्ने मनोविज्ञानका कारण सिलिन्डर खोज्दै घरमा राख्न थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिसविना कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न, भएका सिलिन्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनमा उपलब्ध गराउन सार्वजनिक आह्वान गरिरहेको छ ।

नागरिकले अक्सिजनको सिलिन्डर घर घरमा राख्न थालेपछि चुहावट बढेको ग्यास, अक्सिजन उत्पादक संघले जनाएको छ । यस्तो परिस्थितिको सिर्जना सरकार र अस्पतालका कारण भएको संघका महासचिव नारायण तिमिल्सिना बताउँछन् ।

अहिले परिवारको कुनै पनि सदस्यलाई संक्रमणको पुष्टि भयो कि अक्सिजन सिलिन्डर व्यवस्था गर्न थालेको पाइन्छ । काठमाडौंका महेश आचार्य ९परिवर्तित नाम० ले आफ्नो मामालाई अस्पताल पुर्‍याएर पनि अक्सिजनको अभावले बचाउन सकेनन् । अस्पताल पुग्ने बित्तिकै डाक्टरले विरामीलाई तत्काल अक्सिजन चाहिने तर अस्पतालमा नभएको कारण आफैं खोजेर ल्याउन भनेको थियो ।‘सरकारले आफ्नो नागरिकको स्वास्थ्य सुरक्षा गर्न नसक्ने, अस्पतालहरूले पनि नसक्ने भएपछि नागरिक आफैं जोहो गर्न थालेका हुन्,’ उनी भन्छन्, ‘यो सही त होइन । तर आफ्नो स्वास्थ्य सुरक्षाको पूर्वतयारी गर्नु गलत हो भन्न सकिने अवस्था पनि छैन ।’

कहाँ र कसरी अक्सिजन खोज्ने केही मेसो नपाएका उनले फेसबुक र केही साथीहरूको सहयोगमा अक्सिजन खोज्न निस्केको डेढ घन्टापछि खाली सिलिन्डर पाए । त्यसको करिब २५ मिनेट अक्सिजन भर्ने लाइन बसेर भरी अक्सिजन सिलिन्डर लिएर अस्पताल पुगेका उनले मामालाई बचाउन सकेनन् ।

उनी आक्रोशित हुँदै भन्छन्, ‘हामीले अक्सिजन नपाउँदा मरिरहनुपरेको छ । अनि घरमा भएको पनि हामीलाई दे भन्दैछ । यो सरकारलाई अलिकति लाज लाग्दैन ?’

अहिले उनको परिवारमा भाउजु र भतिज संक्रमित छन् । ‘मैले अक्सिजन नपाएकै कारण मामा गुमाएँ । भाउजू र भतिजलाई पनि संक्रमण पुष्टि भएपछि एउटा ल्याएर राखेको छु,’ उनले भने, ‘हामीलाई घरमा नराख भन्नको लागि त आवश्यक परेको बेला दिनसक्छु भनेर ग्यारेन्टी पनि गर्नुप¥यो नि । सरकार आफू रमिते बन्ने, हाम्रो ज्यान ज्यान हैन ?’

सिलिन्डरकै कमीले अभाव भइरहेको यो समस्या केही सहज हुने स्थिति बन्दै गइरहेको बेला फेरि घर घरमा अक्सिजन सिलिन्डर राख्न थालेपछि समस्या बढ्न थालेको ग्यास, अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडा बताउँछन् ।

उनी भन्छन्, ‘यसैगरी सबै नागरिकले सिलिन्डर भर्दै घरमा लगेर राख्ने हो भने, सिलिन्डर अभावका कारण अस्पतालमा अक्सिजनको अभावपूर्ति थप चरम बन्छ ।’ अक्सिजन नै समाधान होइन डाक्टरको प्रत्यक्ष निगरानी चाहिन्छ भन्ने जनचेतनाको अभावले घरमा अक्सिजन राख्नेको संख्या बृद्घि भइरहेको छ ।

अस्पतालको लाचारीका कारण घरमा सिलिण्डर

सरकारले सार्वजनिक गरेको संक्रमित संख्या र अक्सिजन सिलिन्डरको संख्या तुलना गर्दा अव्यवस्थित वितरणको कारण अक्सिजन सिलिन्डरको अभाव भएको स्पष्ट हुन्छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिले नेपालमा एक लाख १० हजार २६३ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ८० प्रतिशत संक्रमित होम आइसोलेसनमा छन् । करिब २० प्रतिशतलाई अक्सिजन सपोर्ट चाहिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका प्रमुख डा। कृष्ण पौडेलको भनाइ छ ।

विभिन्न उद्योगहरूमा भएको अक्सिजन सिलिन्डरहरू सरकारले फिर्ता लिएपछि नेपालमा कुल अक्सिजन सिलिन्डर संख्या १ लाख ८ हजार १६४ छ । काठमाडौं उपत्यकाका १० उद्योगहरूमा ठूलो ४७ हजार र सानो २९ हजार ९१० गरी जम्मा ७६ हजार ९१० सिलिण्डर छन् । उपत्यकाबाहिर १९ वटा उद्योगहरूमा ठूलो २२ हजार ३५० र सानो ८ हजार ९०४ गरी जम्मा ३१ हजार २५४ अक्सिजन सिलिन्डर रहेको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

तर पनि अक्सिजन सिलिन्डर अभाव कम भएको छैन । अस्पतालहरूले सिलिन्डर र अक्सिजनको अभावका कारण धेरै विरामीहरूको जीवन जोखिममा परेको बताइरहेका छन् । विरामीको उपचार गर्ने जिम्मा लिएका ठूला निजी तथा सरकारी अस्पतालहरूले अक्सिजन अभावमा उपचार गर्न नसक्ने गैह्रजिम्मेवारी घोषणा गर्ने होडजस्तै चलेकाले नागरिक थप त्रसित बन्न पुगेका छन् ।

ग्यास अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिना भन्छन्– सरकारले आफ्नो नागरिकको स्वास्थ्य सुरक्षा गर्न नसक्ने, अस्पतालहरूले पनि नसक्ने भएपछि नागरिक आफै जोहो गर्न थालेका हुन् । यो सही त होईन । तर आफ्नो स्वास्थ्य सुरक्षाको पूर्व तयारी गर्नु गलत हो भन्न सकिने अवस्था पनि छैन ।
अस्पतालले संक्रमितलाई नै अक्सिजन खोज्न लगाउनेजस्तो अव्यवहारिक र अमानवीय कार्यले अक्सिजन सिलिन्डरको कृत्तिम अभाव हुन गएको ग्यास, अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडा बताउँछन् । भन्छन्, ‘नागरिकको उपचारको जिम्मा लिएका अस्पतालहरूले अक्सिजन, सिलिन्डरको अभावमा उपचार गराउन नसक्ने भन्न थालेपछि आत्तिएर घर घरमा सिलिण्डर जम्मा गर्न थाले । जसले कृत्रिम अभाव हुन गयो ।’

अक्सिजन उत्पादक उद्योगहरूले अस्पताललाई दिएको अक्सिजन सिलिन्डर अस्पतालबाटै चुहावट भएर नागरिकको घरमा पुगेको उनको दाबी छ । उद्योगहरूलाई दिएको सिलिन्डर सरकारले जफत गरेर आफुखुशी वितरण गरेको उनको आरोप छ । यसरी अस्पताल र सरकारको अव्यवस्थित वितरण प्रणालीले अक्सिजन उत्पादक उद्योगहरू नै सिलिन्डरविहीन हुनुपर्ने स्थिति सिर्जना भइरहेको अध्यक्ष शारडाले बताए ।

संक्रमितलाई नै अक्सिजन व्यवस्था गर्न लगाउने अस्पताल र सरकारको विरोध बढ्दै गएपछि आइतबार स्वास्थ्य मन्त्रालयले अस्पताललाई संक्रमितका आफन्तलाई अक्सिजन व्यवस्था गर्न नलगाउनु आफैं व्यवस्था गर्नु भन्दै अनुरोध गरेको छ । तर बिरामीका आफन्तलाई नै खोज्न लगाउने अस्पताललाई के कारवाही हुन्छ भन्ने विषयमा भने मन्त्रालय बोलेको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »