सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किसानकाे गुनासाेः धानबाली पसाई नसक्दै सुक्न थाल्याे

सिन्धुली। सिन्धुलीका किसानले लगाएको धानबाली पसाई नसक्दै सुक्न थालेको छ। धानको बोटमा चामल नपस्दै दुधे बाला नै सुकेर कुहिन थालेको किसानको गुनासो छ।

कमलामाई र दुधौली नगरपालिकाका साथै तीनपाटन र मरिण गाउँपालिकाका किसानहरुले लगाएको धानको बाला मंसिरमा भित्र्याउने बेलामा पाकेको धानजस्तै भएर बोटैसँग सुक्ने र बाला कुहिने गरेको हो।

कमलामाई नगरपालिका ५ संगमचोकका किसान सिता विकको १३ कठ्ठा क्षेत्रफलमा लगाएको धान दुधे बालामै सुकेर भुष कुहिन थालेपछि चिन्ता थपिएको छ। ‘सुरुमा समय अगावै पसाएको धानको बाला अहिले सुकेर कुहिन थालेको हो। आफ्नो अधिकांश छिमेकीको खेतमा यस्तो समस्या देखिएको छ,’ उनले भनिन्।

सुरुमा धान रोपोको तीन महिना बितिसक्दासमेत रसायनिक मल नपाएर हैरान भएका किसानलाई फेरि धान बालीमा रोगको चिन्ता थपिएको छ। सोही ठाउँकी किसान अनु घातनीको पनि धानको पातै रातो भएर सुक्न थालेको गुनासो गरिन्। ‘सुरुमा धानको पातनै पहेलो भएको थियो। त्यही धान पसाएपनि अहिले भुष मात्र छ। भुष पनि कुहिएपछि बोटनै सुक्न थालेको छ,’ उनले भनिन्।

टाढाबाट हेर्दा मंसिरमा पकेको धान जस्तै देखिएपनि नजिकबाट हेर्दा सबै कुहिएर नष्ट हुँदै गएको प्रष्ट देखिन्छ। मरिण गाउँपालिकाकी कृषि प्राविधिक सविता मैनालीका अनुसार किसानको धान बालीमा सेते, ब्लास्ट, सिथ ब्लाइट जस्ता रोगको संक्रमण देखिएको छ। यस्तो समस्या नियन्त्रणका लागि गाउँपालिका लागि परेको भएपनि नियन्त्रणमा आउन सकेको छैन्।

उता सिन्धुलीका किसानले लगाएको २५ प्रतिशत धनबालीमा गबारो, पातडडुवा, पात सेतो र रातो हुने रोगको संक्रमण तीव्रगतिमा फैलिएको छ। कमलामाई नगरपालिका- ११ का किसान शेरबहादुर कार्कीपनि धानको बेर्ना सबै कालो भएर डड्न थालेपछि चिन्तामा छन्। उनले धानको पात डढेर सकिन थालेपछि कृषि प्राविधिकसँग सरसल्लाह लिन जिल्ला सदरमुकाम आइपुगेको सुनाए। ‘गाउँका अधिकांश कृषकहरुको धान बालीमा गबारो, पात डडुवा, पात सेतो र रातो हुने रोगको संक्रमण भएको छ। यो दिनदिनै बढ्दै गएपछि खेत सबै बाँझै हुने होकि भन्ने चिन्ताले सताएको छ,’ उनले भने।

जिल्लामा धानबालीमा विभिन्न रोगको एकै साथ संक्रमण भएको किसानहरुले गुनासो गरेपछि अनुसन्धान थालिएको कृषि ज्ञान केन्द्र सिन्धुलीका सूचना अधिकारी श्रीकृष्ण अधिकारीले बताए। ‘यहाँको कमलामाई र दुधौली नगरपालिकाका साथै मरिण, तिनपाटन र घ्याङलेख गाउँपालिकामा सबैभन्दा बढी गबारो, पातडडुवा र पात सेतो र रातो हुने रोग लागेको पुष्टि भएको छ,’ अधिकारीले भने। अधिकांश किसानको धान बालीमा पात रातो हुने र बोट कहिनेसमेत समस्या देखिएको छ।

अधिकारीले भने, ‘त्यो माटोको तत्वमा जिंकको कमी भएका कारणले भएको पूर्वानुमान गरिएको छ। त्योभन्दा समस्या गोबारो र पात डडुवाले धानबालीमा क्षति पुर्‍याएको पाइएको छ।’

सिन्धुलीमा यो वर्ष कुल १४ हजार ६ सय ८८ हेक्टरमा धानबाली लगाइएको छ। उक्त क्षेत्रफलमध्ये झण्डै २२ प्रतिशत क्षेत्रफलमा लगाइएको धानबालीमा यस्ता विभिन्न रोगको संक्रमण भएको अधिकारीको भनाई छ।

भर्खरै

सम्बन्धित खबर

Language »