सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘कूटनीतिक प्रशिक्षण’ नलिई जिम्मेवारी सम्हाल्न बेलायत पुगे राजदूत रेग्मी

काठमाडौँ । राजदूत पदमा नियुक्त हुनुअघि लिनु पर्ने महत्वपूर्ण ‘कूटनीतिक प्रशिक्षण’ नलिई पूर्वमूख्य सचिव लोकदर्शन रेग्मी जिम्मेवारी सम्हाल्न बेलायत पुगेका छन् । रेग्मी परराष्ट्र मन्त्रालयको निर्देशनमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सरकारले हरेक मुलुकका लागि राजदूत नियुक्त हुनुपूर्व दिँदै आएको कूटनीतिक प्रशिक्षणमा सहभागी नै नभई लन्डनस्थित नेपाली राजदूतावासलाई नेतृत्व गर्न पुगेका हुन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान परराष्ट्र मन्त्रालयको सम्मेलन हल र मेरियट होटलमा माघ ४ देखि ६ गतेसम्म नवनियुक्त राजदूतहरुलाई कूटनीतिक प्रशिक्षणका लागि समय मिलाएको थियो । प्रतिष्ठानले ७ दिन लगाएर दिनु पर्ने उक्त प्रशिक्षणलाई यसपटक समयको अभाव भन्दै ४ दिनमा झारिएको थियो । प्रशिक्षणमा सभागिताका लागि असोज १५ को मन्त्रिपरिषद्को निर्णयअनुसार अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्मालाई बोलाएको थियो । कात्तिक २७ गते संसदीय सुनुवाइबाट तीनै जनाको नाम अनुमोदन भएको थियो ।

प्रशिक्षणमा पूर्व अर्थमन्त्री खतिवडा र विश्वकर्मा सहभागी भएका थिए भने रेग्मी उपस्थित भएका थिएनन् । रेग्मीले आफू माघ ४ गते प्रशिक्षणमा सहभागी नहुनुलाई बेलायतबाट आफ्नो एग्रिमो ९सहमति पत्र० नआइसकेको र नियुक्त हुन बाँकी रहेको उल्लेख गर्दै आफ्नो औपचारिक नियुक्तिपछि मात्र प्रशिक्षणमा सहभागी हुने प्रतिक्रिया परराष्ट्र मन्त्रालयलाई दिएका थिए ।

रेग्मीलाई त्यसको भोलिपल्ट माघ ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपालको राजदूतमा नियुक्त गरेकी थिइन् । तर त्यसपछि रेग्मीले उक्त कूटनीतिक प्रशिक्षणका लागि कुनै पनि चासो देखाएनन् । परराष्ट्र मन्त्रालयले पनि रेग्मीलाई कूटनीतिक प्रशिक्षण दिनु नै पर्छ भन्ने विषयमा चासो दिएन । प्रतिष्ठानले भने मन्त्रालयबाट पत्र नआएसम्म कसैलाई पनि प्रशिक्षण दिन मिल्दैन । ‘रेग्मीको कूटनीतिक प्रशिक्षणबारे हामीलाई कुनै पनि जानकारी आएको छैन । त्यसैले हामीले केही कुरा गर्न मिल्दैन,’ प्रतिष्ठानमा एक अधिकारीले भने ।

कूटनीतिक प्रशिक्षणमा मुलुकअनुसार नेपालको प्राथमिकता, प्रोटोकल ९शिष्टाचार०, कूटनीतिक डिलिङ, कूटनीतिक ड्राफ्टिङ, नेगोसिएसन शैली, त्यस मुलुकको अवस्था, पूर्व कूटनीतिज्ञहरुको अनुभव, कूटनीतिक भेटघाटमा सहभागी हुँदा अपनाइने टेबुल म्यानरलगायतका विषयमा सिकाइन्छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी पूर्व उपकार्यकारी निर्देशक इन्द्र अधिकारी कुनै पनि सरकारले नियुक्त गरेको राजदूतले कूटनीतिक प्रशिक्षणमा सहभागी नभइकन जिम्मेवारी सम्हाल्न जाँदा मुलुकलाई नै ठूलो घाटा हुने बताइन् । कुनै पनि मुलुकमा कूटनीतिक प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्दा आवश्यक अनुभव लिएर जाँदा व्यक्ति र मुलुक दुवैलाई सहज हुने उनको तर्क थियो । कूटनीतिक प्रशिक्षण लिनु पर्ने भन्ने विषयमा कानुनमै उल्लेख नभए पनि नीतिगत रुपमा पछिल्लो समय सरकारले राजदूतमा नियुक्त गरेपछि कूटनीतिक प्रशिक्षण हुँदै आइरहेको थियो ।

पूर्वमुख्य सचिव लिलामणि पौडेल, पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, पूर्वअर्थमन्त्री खतिवडालगायत अन्य राजनीतिक नियुक्तिका व्यक्तिहरु र परराष्ट्र मन्त्रालयकै कर्मचारीबाट हुने नियुक्तिका अधिकारीहरुले समेत कूटनीतिक प्रशिक्षण गर्दै आइरहेका छन् । तर रेग्मीले भने उक्त प्रशिक्षण गरेनन् । परराष्ट्र मन्त्रालयले पनि यस्तो संवेदनशील कुरामा उनलाई प्रशिक्षण गर्नु नै पर्छ भनेर जोड दिएन । ‘परराष्ट्र मन्त्रालयका कर्मचारीले आफूलाई सम्पूर्ण कूटनीतिक कुराहरु थाह छ भन्ने र राजनीतिक नियुक्ती भएकाले सरकारले पत्याएपछि अरु किन सिक्नु पर्छ भन्ने भयो भने नेपालको कूटनीतिमा गम्भीर चोट पुग्ने छ,’ एक पूर्वकूटनीतिज्ञले कान्तिपुरसँग भने । ती कूटनीतिज्ञका अनुसार अमेरिकामा हिलारी क्लिन्टन विदेशमन्त्री भएपछि उनका पति तथा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनले विदेश मन्त्रीको श्रीमान् वा श्रीमती भएर लिनु पर्ने प्रशिक्षणमा सहभागिता जनाएका थिए । ‘सोही कारणले गर्दा अन्य मुलुकको कूटनीति अघि बढेको छ । तर नेपालमा कूटनीतिज्ञको परिवारलाई प्रशिक्षण दिने कुरा त छाडौं, कूटनीतिज्ञलाई दिने प्रशिक्षणमा पनि उनीहरु सहभागी हुँदैनन् । यो हाम्रो मुलुकको बिडम्बना हो,’ ती कूटनीतिज्ञले थपे ।

रेग्मीले असोज १५ मै मुख्य सचिवबाट राजीनामा दिएका थिए र सरकारले उनलाई राजदूतमा नियुक्त गरेको थियो । त्यसअघि रेग्मीले २०७३ भदौ १९ देखि २०७४ कात्तिक ७ सम्म गृह मन्त्रालय सम्हालेका थिए । सोही अवधिमा उनले आफ्नै संयोजकत्वमा रहेको कार्यदलमार्फत आफ्नै बाबुलाई सरकारले दिने सम्मानको सिफारिससमेत गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »