सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोभिड १९ संक्रमितको फोहोर संकलन गर्न वायोहाजार्ड ब्यागको व्यवस्था मिलाउनुपर्ने माग

काठमाडौ। फोहोरमैला व्यवस्थापन संघ नेपाल (SWMAN) का अध्यक्ष धुव्र आचार्यले कोभिड १९ संक्रमितको फोहोर संकलन गर्न वायोहाजार्ड (Biohazard) ब्यागको व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यकामा ३ हजार बढी कोभिड संक्रमित घरमै सेल्फ आइसोलेसनमा रहेको हुँदा ती घरहरुबाट उठने फोहर पनि सामान्य फोहोरमा मिसिन सक्ने सम्भावना औल्याउँदै उहाँले विरामीको गोपनियता कायम राख्दै संक्रमित घरबाट निस्कने फोहोर छुट्टै संकलन गर्नुपर्ने बताउनुभयो ।

गैर सरकारी संस्था गुथिले विश्व स्वास्थ्य संगठन नेपालको सहकार्य र काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाको सहभागितामा आयोजना गरिएको वेबिनारमा फोहोरमैला व्यवस्थापनमा पुर्वाधारको कमि रहेको बताउदै अहिलेसम्म फोहोर वर्गीकरण र पुनःप्रयोग पाइलट प्रोजेक्टमा मात्र सिमित रहेको र ल्याण्डफिल साइटमा जान पनि वर्षायाममा वाटोको समस्या रहेको बताउनुभयो ।

संघका महासचिव मित्र प्रसाद घिमिरेले भने अहिले सम्म होम आइसोलेसन (Home Isolation) मा रहेका विरामीको फोहर सामान्य फोहरमा मिसिएको र शिक्षण अस्पतालमा पनि फोहर ७ दिन सम्म राखेपछि मात्र संकलन हुने व्यवस्था नरहेको बताउनुभयो । साथै काठमाडौं र ललितपुर महानगरपालिकामा कार्यरत सरसफाइकर्मीले व्यक्तिगत सुरक्षा उपकरण नपाएको कुरा औल्याउनुभयो । उहाँले हालको अवस्थामा सरसफाइकर्मीको सुरक्षामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

कोभिड—१९ संक्रमित बढिरहेको अवस्थामा स्वास्थ्य संस्था तथा आइसोलेसन सेन्टरबाट उत्पादन हुने संक्रमित फोहोर व्यवस्थापन एक नयाँ चुनौतीको रुपमा खडा भएको छ । अहिलेको अवस्थामा स्वास्थ्यजन्य संक्रमित फोहोरको परिमाण अत्यन्तै बढेको छ । अन्य मुलुकको अनुभव हेर्दा कोभिड–१९ विरामी उपचार गर्दा अस्पतालमा संक्रमित फोहोरको परिमाण ६००% सम्म बढेको देखिन्छ ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका नेसनल प्रोफेसनल अफिसर डा. सुदन पन्थीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमित फोहोरका समस्यालाई मध्यनजर गर्दै प्रकाशन गरेको ‘‘कोभिड महामारीको आपतकालिन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन’’ नामक आन्तरिक निर्देशिका बारे बिस्तृत रुपमा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले मन्त्रालयद्वारा प्रकाशित स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन निर्देशिकामा भएका बुँदालाई जोड दिँदै यो निर्देशिका स्वीकृतिको प्रक्रियामा रहेको बताउनुभयो । साथै नयाँ जनस्वास्थ्य नियमावलीले फोहरमैलाको अनुगमन गर्न निरिक्षक राख्ने व्यवस्था गरेको बताउनुभयो । हाल कोभिड—१९ को संक्रमणको जोखिमका कारण सचेत भएर स्वास्थ्यजन्य फोहोरसँग काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल नगरपालिका संघ (Municipal Association of Nepal) का अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जु श्रेष्ठले सरकारले फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता नदिएको र सरसफाइकर्मीको सुरक्षा र जिविकोपार्जनमा सरकारबाट ध्यान नदिइएको औल्याउनुभयो । उहाँले उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाले कोभिड महामारीलाई मध्यनजर गरी सवै सरसफाइकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण र स्यानिटाइजर वितरण गरिएको, पि.सि.आर. परिक्षण गरिएको र १ लाख सम्मको कोभिड विमा पनि गरिएको जानकारी दिनुभयो । उहाँले क्वारेन्टाइन सेन्टरबाट निस्कने फोहोर, कोरोना रोगीले प्रयोग गर्ने सामग्री र कोरोना उपचारार्थ अस्पतालबाट निस्कने फोहोरपानी व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताउनु भयो । नागरिकको स्वास्थ्य सुरक्षा प्रमुख भएको र त्यसमा पनि सरसफाइकर्मी जस्ता सिमान्तकृत वर्गको सुरक्षा महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर मान डंगोलले फोहरमैला व्यवस्थापनमा नेतृत्व महानगरले नै लिएको र सवैले प्रतिवद्धता जनाउने हो भने जीरो वेष्टमा पनि महानगपालिका जान सक्ने बताउनुभयो । घर घरबाट कुहिने फोहोर कम्पोष्ट बनाउने र बाँकी फोहोर कवाडमा दिने हो भने ल्याण्डफिलमा फोहोर नजाने बताउनुभयो । उहाँले छलफल कार्यक्रम मार्फत समयमै संक्रमित फोहोर व्यवस्थापन सम्बन्धी आवश्यक जानकारी पाएको पनि बताउनुभयो ।

काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका फोहोरमैला संकलन गर्ने कम्पनीहरुलाई हाल सम्म कुनै दस्तुर वा शुल्क नलिई काम गर्ने वातावरण बनाई रहेको र निजी कम्पनीहरुले पनि आफ्नो व्यवसायलाई अझ सुरक्षित गर्न आफैले लगानी गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराउनु भयो । साथै उपत्यका क्षेत्रकै महामारीको अवस्थामा फोहोर व्यवस्थापन गर्न निर्देशिका अनुरुप कार्यान्वयनका लागि नगरपालिका मेयर फोरम मार्फत विशेष निर्णय गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »