सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाको जोखिम बढेपछि लकडाउनलाई पुनः कडाइ बनाउन जनस्तरबाट आग्रह

कैलाली । कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि लकडाउनलाई पुनः कडाइ बनाउन जनस्तरबाट सरकारलाई आग्रह गरिएको छ । लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै केही समयअघिसम्म खोल्न दबाब दिइरहेकाहरू अहिले यसलाई कडा बनाउन माग गर्न थालेका छन् ।

कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घ र गोदावरी नगरपालिकाको आग्रहमा शनिबारदेखि सो नगरपालिकाको मुख्य बजार अत्तरिया अनिश्चितकालका लागि बन्द गरिएको छ ।

नगरपालिकामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको र एक ४६ वर्षीय पुरुषको मृत्यु समेत भइसकेको अवस्थालाई मध्यनजर गर्दै थप सङ्क्रमण फैलिन नदिनका लागि ती दुई निकायको आग्रहमा अनिश्चितकाका लागि बजार बन्द गरिएको नगरप्रमुख हरिसिंह साउदले जानकारी दिए।

बजार खोल्दा सङ्क्रमण बढी फैलन सक्ने हुँदा अनिश्चितकालीन रूपमा बजार बन्द गरिएको सङ्घका अध्यक्ष अशोक देवकोटाले बताए। कैलालीकै घोडाघोडी नगरपालिकामा ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जनस्तरबाट लकडाउनलाई कडा बनाउनुपर्ने माग उठ्न थालेको छ ।

टोलटोलमा कोरोना सङ्क्रमित भेटिँदा पनि लकडाउन नहुनु दुःखद् भएको घोडाघोडी नगरपालिका–१ का व्यवसायी अनन्त जोशीले जानकारी दिए। नगरप्रमुख ममताप्रसाद चौधरी पनि लकडाउनलाई थप कडाइका साथ लागू गर्नुपर्ने पक्षमा रहेका छन् ।

बर्दगोरिया गाउँपालिका–१ का भरत ताम्राकार गाउँपालिकामा २५ कोरोना सङ्क्रमित देखिएको र सबै गाउँघरमा रहेको हुनाले जोखिम बढ्ने चिन्ता व्यक्त गर्छन् । लम्किचुहा नगरपालिकाले सर्वपक्षीय छलफल गरेर आवश्यक कदम चाल्ने नगर प्रमुख महादेव बजगाईँले जानकारीले दिए।

भर्खरै

सम्बन्धित खबर

Language »