सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाको बारेमा सत्य के, भ्रम के हो ?

काठ्माडौं। यतिबेला नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढीरहेको छ । योसँगै कोरोनासँग सम्बन्धित भ्रम व्याप्त छन् । जसले आम मानिसमा अन्यौल र त्रास पैदा गरिरहेको छ।आखिर कोरोनाको बारेमा के सत्य के भ्रम हो ? यस विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको धारणा यस्तो छ।

कोरोना लाग्ने बित्तिकै मरिन्छ भन्ने भ्रम

आम मानिसमा कोरोना भन्ने घातक रोग हो, यो लाग्ने बित्तिकै मरिन्छ भन्ने भ्रम छ । यो गलत हो । विभिन्न तथ्याकंहरुले कोरोना संक्रमण भएको ८० प्रतिशत मानिसलाई यसको लक्षण नै नदेखिएको पनि हुनसक्छ । कोरोना एउटा भाइरल इन्फेक्सन हो । तर, अन्य ब्याक्टेरिया जस्तो एन्टिबायोटिक खाएर यो निको नहुने भएपनि भाइरसको कारणले हुन सक्ने जटिलतालाई समयमै उपचार गरियो भने निको भइन्छ । यद्यपि, यो परिमार्जित हुँदै जान पनि सक्छ तर समयमै बिरामीको उपचार गरियो भने निको हुने सम्भावना बढी हुन्छ ।

कोरोनाको जोखिम दिर्घरोगी वृद्धवृद्धामात्रै

यो भन्दा अघिल्लो लहरमा दीर्घरोगी तथा वृद्धवृद्धाहरुलाई धेरै मात्रामा संक्रमण भएको थियो । तर, दोस्रो लहरले सबै उमेर समुहलाई संक्रमण भएको छ । दीर्घ रोगीहरुलाई मात्र होइन स्वस्थ व्यक्तिहरुलाई पनि संक्रमण भएको छ । अझै अहिलेको दोस्रो लहरको कुरा गर्दा २० देखि ४० वर्ष उमेर समूहका युवायुवतिमा कोरोना संक्रमणको दर धेरै छ । त्यसैले वृद्धवृद्धा र दीर्घरोगीलाई मात्र कोरोना संक्रमणको जोखिम धेरै छ भन्ने सोच्नु मुर्खता वा भ्रममात्र हो ।

एकपटक संक्रमित भैसकेपछि फेरि भइदैन भन्ने भ्रम

यस विषयमा थुप्रै अनुसन्धानहरु भइरहेका छन् । कोरोना संक्रमण भएको ५ देखि ६ महिनासम्म पुनः संक्रमित नभएको भन्ने अनुसन्धानहरुले त देखाएका छन् । तर, सबैलाई यसले सुरक्षा गर्छ नै भन्ने राम्रो अध्ययन अनुसन्धान भने भएको छैन ।
एक पटक लागेको व्यक्तिलाई फेरि संक्रमण भएको पनि छ तर त्यो एकदम व्यापक रुपमा भने छैन । एक पटक संक्रमण भएर फेरि संक्रमित हुने संख्या भने कमै छ । तर, लाग्दै नलाग्ने भने होइन ।

मद्यपान गर्ने व्यक्तिलाई कोरोना संक्रमण हुँदैन

मद्यपान गर्ने व्यक्तिहरुलाई कोरोना संक्रमण हुँदैन भन्ने आममानिसको बुझाई छ । यो ठूलो भ्रम हो । मद्यपान गरेर संक्रमितको सम्पर्कमा आउने व्यक्तिहरुलाई संक्रमण हुने सम्भावना झन् बढी हुन्छ । मद्यपान गर्नेहरुको कलेजो कमजोर हुन्छ । त्यस्ता व्यक्तिलाई संक्रमण भएमा गम्भीर अवस्थामा पुग्ने सम्भावना धेरै हुन्छ ।

किराहरुबाट पनि संक्रमण फैलिएको भन्ने भ्रम

विभिन्न किराहरुबाट पनि कोरोना संक्रमण फैलिरहेको छ भन्ने आम मानिसमा त्रास छ । यसमा कुनै वैज्ञानिक आधार छैन । किराहरुबाट संक्रमण फैलन्छ भन्ने प्रमाणित भएको भए बच्ने उपायहरुमा यसलाई पनि समावेश गरिन्थ्यो । त्यसैले अहिलेको मितिसम्म यो भ्रम नै हो ।

चिसोको तुलनामा गर्मी याममा कोरोना कम फैलन्छ

यो सोच पहिला–पहिला वैज्ञानिकहरूको पनि थियो । यो पनि भ्रम साबित भयो । गर्मी महिनामा पनि संक्रमण तीव्र रुपमा फैलन्छ भन्ने अहिले भारत र नेपालको अवस्था हेर्दा थाहा हुन्छ । त्यसैले गर्मीमा संक्रमण फैलदैन भन्नु गलत हो ।

१० देखि १५ सेकेन्डसम्म श्वास रोकेर कोरोना हो/होइन थाहा पाइन्छ भन्नु

१० देखि १५ सेकेन्डसम्म श्वास रोकेर राख्न सक्ने व्यक्तिलाई कोरोना लागेको हुँदैन भन्नु पनि एक भ्रम हो । यसमा कुनै वैज्ञानिक प्रमाण नभएको हुदाँ यो कुरा सत्य हो भन्न सकिँदैन ।

कोरोना खोप लगाएपछि मास्क नलगाएपनि हुन्छ भन्ने सोच्नु

कोरोना विरुद्दको खोप लगाइसकेपछि पूर्ण सुरक्षित भइन्छ मास्क लगाइराख्नु पर्दैन भन्ने धेरै व्यक्तिले भनेको सुनेको छु । यो सरासर भ्रम हो । अहिले लगाइरहेका खोप शत प्रतिशत प्रभावकारी छैनन् । त्यसैले खोप लगाउँदा यो संक्रमण हुँदै हुँदैन भन्न मिल्दैन । मैले खोप लगाएको छु मलाई केहि हुँदैन भनेर मापदन्ड नअपनाइ हिड्नु मुर्खता हो । खोप लगाएका व्यक्तिहरुमा पनि संक्रमण भएका छन् । गम्भीर अवस्थामा पुगेका छन् । त्यसैले सतर्कता अपनाउनै पर्छ ।

बेसार तथा गुर्जो पानीको सेवनले कोरोना लाग्दैन

बेसारको सेवन त हामी दैनिक जसो गर्छौ । तैपनि हजारौँ मान्छेहरु संक्रमित भएका छन् । त्यसैले बेसार र गुर्जोको सेवन गर्दैमा कोरोना संक्रमण हुँदैन भनेर ढुक्क हुनु गलत हो । बेसार र गुर्जोको सेवन स्वास्थ्यका लागि फाइदाजनक त छ तर, कोरोना संक्रमण नै हुँदैन भन्ने यसको वैज्ञानिक आधार छैन ।

नेपालमा प्रयोग भएका खोप कम प्रभावकारी छन् भन्ने भ्रम

नेपलमा विश्व स्वास्थ्य संगठनले मान्यता दिएका कोरोना विरुद्धको खोपमात्रै लगाइएको छ । त्यसैले अन्य देशको भन्दा कम प्रभावकारी छन् भन्नु भ्रम हो । सबै खोप प्रभावकारी छन् । खोप लगाइयो भने संक्रमणको जोखिमबाट बच्न सकिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »