सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनामाथि जित : मनकुमारीको उच्च मनोबल

बागलुङ। कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल अस्पतालबाट डिस्चार्ज भएकी छन् । धौलागिरि अञ्चल अस्पताल बाग्लुङको आइसुलेसनमा उपचाररत पौडेलको तेस्रो र चौथो स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएपछि अस्पतालले डिस्चार्ज गरेकाे हाे ।

छोरीलाई भेट्नका लागि बेल्जियम गएर फर्कदा काेराेना संक्रमण भएपछि अस्पताल भर्ना भएकी थिइन् । डिस्चार्जपछि पौडेलले आफूले जसरी पनि कोरोना भाइरसलाई जित्ने अठोट बनाएकाे र अन्ततः जित्न सफल भएको बताइन् ।

उनले आत्मबल दह्रो बनाए कोरोनालाई सजिलै जितिने पनि बताइन् । ‘मलाई कोरोनाको संक्रमण भएपनि शारिरिक रुपमा कुनै समस्या थिएन, विश्वका हजारौं मानिसको ज्यान लिएको कोरोनालाई जित्छु भन्ने अठोटका कारण ६५ वर्षको उमेरमा कोरोनालाई जितेर घर फर्केकी छु ।’

उनले अस्पतालमा हुँदा परिवारमै बसेजस्तो लागेकाे समेत बताइन् । उनले भनिन्, ‘अस्पतालमा बस्दा पनि डाक्टर, नर्स सबैको माया पाएँ, म अस्पताल छुजस्तो कुनै महसुस भएन, परिवारमै बसेजस्तो भयो । त्यसले गर्दा म कोरोनालाई सहजै जितेर घर फर्केकी छु ।’

१६ दिनसम्म अस्पतालको आइसुलेसनमा बसेर उपचार गर्दा प्रयाप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना, खाजा तथा अन्य औषधीहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताइन् ।

आफ्नै घर नजिकको अस्पतालबाटै कोरोनाको उपचारपछि फर्कन पाउँदा खुसी लागेको बताउँदै संक्रमण लाग्दै नदिनका लागि सबै सतर्क हुनुपर्ने उनले आग्रह पनि गरिन् । नआत्तिन पनि उनकाे आग्रह थियाे ।

धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बि. पौडेलले उनलाई नियमित दिइरहेका औषधी दिने र दुई साता होम क्वारेन्टाइनमै बस्ने गरी डिस्चार्ज गरिएको बताए । पौडेललाई घर पुगेपछि पनि केही दिन क्यारेन्टाइनमा राखिने बताइएको छ ।

संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमा दोस्रो, पाँचौ र छैठौं संक्रमित एउटै विमानबाट नेपालमा आएका थिए । ती मध्ये काठमाडौंमा उपचाररत दोस्रो संक्रमित पनि कोरोना मुक्त भइसकेकी छिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »