सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमणबाट काभ्रे लगाएत विभिन्न जिल्लामा गरी एकै दिनमा ७ जनाको मृत्यु

काठमाडौं । काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी पश्चिम, बाँके र बर्दियामा १÷१ जना गरी कोरोना भाइरस संक्रमणबाट मंलबार ७ जनाको मृत्यु भएको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार उनी काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका थिए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।

‘कोरोना परीक्षण गर्दा २७ गते पोजेटिभ रिपोर्ट देखिएको थियो, गएराति साढे १२ बजे उहाँको निधन भयो,’ प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले अनलाइनखबरसँग भने ।

तनहुँको ब्यास नगरपालिका(१ अम्रेनिकी ५० वर्षकी महिलाको मृत्‍युपछि कोरोना संक्रमण पुष्टि भएको हो । पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको थियो भने मंगलबार विहानमात्र कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिए ।

डा. खड्काले भने, ‘क्रिटिकल अवस्थामा ल्याइएको थियो । अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’

मंगलबार नै पोखरा महानगरपालिका( १६ का ८७ वर्षीय वृद्धको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मधुमेह र मिर्गौलाको समस्या देखिएका वृद्धको स्वाब परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ।

मिर्गौलाको समस्याका कारण श्वासप्रश्वासमा समस्या देखिएको उपचारमा संलग्न डा।अर्जुनबहादुर बुढाले बताए । ‘प्रेसर र मिर्गौलाको समस्याले श्वासप्रश्वासमा समस्या रहेछ । पहिले उच्च ज्वरो पनि आएको रहेछ,’ डा. बुढाले भने, ‘हामीले इमर्जेन्सी विभागमै उपचार गरिरहेका थियौं । पछिमात्र कोरोना पुष्टि भयो ।’

नवलपरासी पश्चिमका ३८ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार विहान पाटन अस्पतालमा मृत्यु भएको छ । उनी नवलपरासी पश्चिमका कांग्रेस उपसभापति सुवासचन्द्र गिरी हुन् ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा रेफर गरिएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहेका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले जानकारी दिए ।

चितवनको खैरहनी नगरपालिका-३ कि १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वृद्धाको गएराति पौने एक बजे नै मृत्‍यु भएको र मंगलबार दिउँसो रिपोर्ट पोजेटिभ आएको उनका परिवारका सदस्य कमल पाठकले जानकारी दिए ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा नेपालगञ्ज उपमहानगरपालिका– ५ का ६२ वर्षका पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । साउन ३२ गते अस्पताल भर्ना भएका उनको सोमबार पीसीआर परीक्षणको रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय पुरुषको मृत्‍युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार विहान साढे १ बजे मृत्यु भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि मंगलबार दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलामी गएका सबैलाई क्वारेन्टिनमा राख्ने र सङ्क्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।

सङ्क्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सं‌ख्‍या ११६ पुगेको छ । मंगलबार मृत्यु भएको चितवनकी वृद्धा र बर्दियाका वृद्धको मृत्युको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमा अपडेट गरिएको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »