सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोहीपनि गरिब र निमुखाले भोकै बस्न नपरोस्–पूर्वमन्त्री मोहम्मद ईश्तियाक राई

सबै बजेट रकमान्तरगरि कोरोनासंग जुध्न खर्चगर्न प्रधानमन्त्रीलाई पत्र
सिराज खान
नेपालगन्ज
, पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले कोरोना भाइरससंग जोगिनका लागि भैरहेको लकडाउनमा दैनिक काम गरेर खाने र अशक्तहरु सबैभन्दा बढी मारमा परेको बताउनु भएको छ ।


उहाँले शुक्रवार अपरान्ह एक विज्ञप्ती प्रकाशित गरेर यस्तो जटिल अवस्थामा मानवीय सहयोगमा जुट्न सबै जिल्लावासीलाई आग्रह गर्दै कसैले पनि भोकै बस्न नपरोस भन्नेतर्फ आफू गम्भीर र संवेदनशिल रहेको बताउनु भएको छ ।


बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएकोले यस्तो अवस्थामा मेरो पहिलो ‘जिम्मेवारी यही क्षेत्रका जनताप्रतिनै बढी हुनु स्वभाविक हो ।

त्यसैले क्षेत्र नम्बर २ को भुगोलभित्रका सबै गरिब, मजदुर र अशक्तहरुको सहायता गर्न सिंगो पार्टीपंक्तिलाई आग्रह गर्दछु ।’–विज्ञप्तीमा भनिएको छ ।
पुर्वमन्त्री राईले हातमुख जोर्न समस्या परेकाहरुको विवरण संकलन गरेर छिटो भन्दा छिटो पार्टी कार्यालयमा बुझाउन पनि नेता कार्यकर्ताहरुसंग आग्रह गर्नुभएको छ ।


उहाँले दैैनिक ज्यालादारी गर्ने मजदुर, अशक्त र गरिबीको चपेटामा परेकाहरुको जीवनयापन साह्रै कष्टकर बन्दै गएकोले उनिहरुलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताउनु भएको छ ।


क्षेत्र नम्बर २ का साथसाथै जिल्ला भरी रहेका विपन्न र अशक्तहरुको पनि विवरण संकलन गर्न विभिन्न पालिकामा रहेका पार्टीका निकायहरुलाई समाजवादी पार्टीको केन्द्रिय सचिव समेत रहनु भएले सांसद राईले निर्देशन दिनुभएको छ ।


अन्तमा उहाँले लकडाउनको बेला समस्यामा परेकाहरुले आफूलाई नै सोझै सम्पर्क गर्नका लागि ९८५८०२७८४९ नम्बरको मोबाइल नम्बर पनि सार्वजनिक गर्नु भएको छ ।


यसका साथसाथै समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन रानामगर, पार्टीका डुडुवा गाउँपालिकाका अध्यक्ष दुर्गा प्रसाद वर्मा, नेपालगन्ज उपमहानगरका अध्यक्ष श्रवण यादव, प्रदेश नम्बर ५ का कोषाध्यक्ष अम्बिका काफ्ले र युवासंघ प्रदेश पाँचका अध्यक्ष नदीम शाहसंग सम्पर्क गर्न समेत उहाँले विज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ ।


प्रधानमन्त्रीलाई राईको अनुरोध पत्रयस्तै पुर्व मन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रवार अपरान्हनै एक पत्र लेखेर अत्यावश्यक क्षेत्र बाहेकको सबै बजेट रकमान्तर गरेर कोरोना भाइरस संकटसंग जुध्नका लागि उपयोग गर्न आग्रह गर्नु भएको छ ।


पत्रमा भनिएको छ–रकमान्तर गरिएको बजेटबाट कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला, किट खरिद गर्ने, सुरक्षित आइसोलेसन वार्ड, भेन्टिलेटर बनाउने लगायतका कार्यमा खर्च गर्ने व्यवस्था तुरून्त गरियोस् भनि अह्वान गर्दछु ।

त्यस्तै दिनहुँ श्रम नगर्दा खानै नपाउने वर्ग, गरीब, मजदूर र अशक्तहरूलाई राहत प्याकेजको घोषणा गर्न पनि प्रधानमन्त्री ज्यूको ध्यानाकृष्ट गराउँदछु ।

सांसद राईले पत्रमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले राज्यबाट प्राप्त गर्ने सेवा सुविधामध्ये ५० प्रतिशत रकम कम्तिमा ६ महीनासम्म सरकारी राहत कोषमा सहयोग उपलब्ध गराउने व्यवस्था गर्नेतर्फ पहलकदमी लिन पनि अनुरोध गर्नु भएको छ ।


त्यसैगरी राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीबाट पनि एक महीना बराबरको पारिश्रमिक सरकारी राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाइनु आवश्यक देखिएको उहाँको सुझाव छ ।


कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थामा भारतसहित तेस्रो मुलुकबाट नेपाल प्रवेश गरेका नेपालीसहित सबैको पहिचान गरी तत्कालै उनीहरूको इतिहास बुझेर आवश्यकता अनुसार सम्बन्धितलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि सांसद राईले प्रधानमन्त्रीसंग आग्रह गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »