सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्वारेन्टाइनको अवस्था नियाल्दा : स्वास्थ्यकर्मीको एक भोगाई

शंकर प्रसाद बराल / स्वास्थ्यकर्मी

अहिले कोरोना भाइरस वा कोभिड -१९ ले बिश्व नै त्रसित भएको छ । आज दिउँसो सम्मको मात्र तथ्यांक हेर्ने हो भने विश्वमा संक्रमित ६८,८१,३५२, निको भएका २३,०२,०७० र मृत्यु भएका ३,९९,८९५ तथा नेपालमा संक्रमित ३,७६२, निको भएका ४८८ र मृत्यु भएको १४ जना रहेका छन ।

यो विषम परिस्थितिले गर्दा विश्वले नै आर्थिक संकट र मानवीय क्षति भोग्नुपरेको छ। नेपालमा पनि अलि केहि दिन अगाडि १/२ जना मात्र संक्रमित भएको खबर सुनिन्थ्यो अहिले आएर माथी उल्लिखित तथ्यांक अनुसार छ । निकट भविस्यमा अझै भयावह अवस्था देखिने संकेत देखिन्छ। यसले गर्दा मानवीय क्षतिको साथ साथै अलि बढी नै आर्थिक संकट समेत भोग्नु पर्ने देखिन्छ । यसैगरी राज्यलाई अहिले नेपालीहरुलाई भारत लगायत अन्य विभिन्न देशहरुबाट नेपाल ल्याउन , क्वारेन्टाइन ब्यवस्थापन ,परिक्षणको सुविधा ,आइसोलेसन ब्यवस्थापन ,आइसियु भेन्टिलेटर सहित सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न र जनशक्ति परिचालन वा ब्यवस्थापन गर्न ठुलो चुनौती आइपरेको छ।

क्वारेन्टाइन भनेको महामारी रोकथामको प्रारम्भिक तथा महत्वपूर्ण चरण हो। यो चरणलाई हामी सबैले विशेष रुपले ध्यान दिनुपर्ने तथा सबै क्षेत्रको जनशक्ति मिलेर उचित ब्यवस्थापन गर्नु पर्ने देखिन्छ। हाल नेपालमा थुप्रै क्वारेन्टाइन छन आकस्मिक अवस्था हुँदा पुर्ण रुपमा कुनै पनि क्वारेन्टाइन ब्यवस्थित छैनन। हामिले विभिन्न संचार माध्यमबाट सुन्न र देख्न सक्छौं ।

म पलाँता गाउँपालिका वार्ड न.०९ मा रहेको सरस्वती मा.वि थिर्पुको क्वारेन्टाइनमा भारत लगायत संक्रमित जिल्लाबाट आउनु भएको गरि जम्मा १७७ जना हुनुहुन्छ, उहाँहरूको नियमित स्वास्थ्य परिक्षणको लागि १२ दिन यता संगै छु । १२ दिन उहाँहरु सगै रहदाको अनुभव सेयर गर्न चाहन्छु। बढी जसो मानिसहरु रोजगारको सिलसिलामा भारत जानू भएको र कोरोना महामारीले त्रसित बनाइसकेपछी मरेपनी आफ्नै भुमी वा गाउँघरमा मर्नु पर्छ भन्ने हेतुले धेरै दुख कष्ट र चुनौतीका साथ हप्तौं दिन भोक भोकै पैदल हिनेर आएको भनी उहाँहरुकै मुख बाट सुन्न पाइयो । प्राय सबैको अनुहारमा खुशीपन देखिदैन । बढी जसो मानिसलाई कोरोना पोजेटिभ देखिहाल्छकी भन्ने डर ,आर्थिक समस्या ,पारिवारिक समस्या ,भोकभोकै हिडेर आउँदा र कष्टपुर्ण यात्राको कारण शरीर दुख्ने ,टाउको दुख्ने खान मन नलाग्ने ,कसैलाई ग्यास्ट्राइटिसको समस्या,कसैलाई पेट दुख्ने ,कसैलाई महिनावारीको समस्या तथा कसैलाई झाडापखाला आदि समस्याले सताएको पाइन्छ । हामी दिनहुुँ जाँच गर्न जाँदा थुप्रै समस्या तथा गुनासो गर्ने गर्नुहुन्छ । यी सबै समस्याको प्रमुख कारण कोरोना भाइरस सँगै भम्र वा मनोबैज्ञानिक असर हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

त्यसैले प्राय सबै ठाउँको अव्यवस्थित क्वारेन्टाइनलाई ब्यवस्थित गर्ने , खानपिन र बस्नको उचित प्रवन्ध ,सम्बन्धि पालिकाको ब्यबस्थापन टिमले र त्यहाँ बस्ने ठुलो संख्या हुने हुँदा स्पिकर मार्फत लक्षणअनुसारको औषधि उपचार र मनोबल उच्च बनाउन स्वास्थ्य शिक्षा ,दिनहुँ थर्मल गनले सबैको तापक्रम लिने कार्य , मनोबैज्ञानिक सहायता, योगा,मनोरंजन गराउने कार्य गर्नाले उनीहरुको मनोबल उच्च हुने र उत्प्रेरित गर्ने खालका विभिन्न कुराहरूको उदाहरण दिने कार्य स्वास्थ्यकर्मीहरुले अनिवार्य गर्नु पर्ने देखिन्छ । क्वारेन्टाइनमा बसेका महिला ,बालबालिका ,वृद्धवृद्वा ,दृघरोगी लाई बिशेष ख्याल गर्नु पर्ने देखिन्छ । कुनैले चाहि यो परिस्थिति बुझेर हाम्रो सल्लाह मान्नु भएको छ भने कुनैलाइ सल्लाह सुझाव र परामर्श दिन धेरै नै कठिनाइ भएको छ। क्वारेन्टाइनमा बस्ने मानिसले पनि ब्यक्तिगत सरसफाइ ,सामाजिक दुरि कायम ,धैर्यता ,अनुशासित ,आफ्नो काम र कर्तव्य पालना गर्न र सकारात्मक सोच्न जरुरी देखिन्छ ।

अन्त्यमा, यी विभिन्न समस्याको प्रमुख कारण भनेको कोरोना भाइरस सगै भम्र र मानसिक असर हो ,त्यसैले सबै पालिकाको ब्यबस्थापन टिमले क्वारेन्टाइनमा सबै कुराको ब्यवस्थित र स्वास्थ्यकर्मीले लक्षण अनुसारको उपचार,तापक्रम लिने काम र आवस्यक औषधि उपकरणको पुर्ब तयारी गर्नुको साथै मनोबैज्ञानिक सहायता दिनु नै अहिलेको आवश्यकता हो।

सबै सचेत र सुरक्षित रहौँ
आफू पनि बचौ अरुलाइ पनि बचाउ
संयमित र धैर्य बनौं।

शंकर प्रसाद बराल
स्वास्थ्यकर्मी ,
पलाँता गाउँपालिका,कालिकोट

भर्खरै

सम्बन्धित खबर

Language »