सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खानेपानी याेजना निर्माणका लागि हेलिकप्टरबाट सामग्री ढुवानी

काठमाडाैँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नंं. ३ चौरीखर्कमा कठिन मिहेनत पछि खानेपानी योजना निर्माण सम्पन्न गरिएको छ । सडक यातायातले जोड्न बाँकी रहेको चौरीखर्कमा हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी खानेपानी योजना सम्पन्न गरिएको हो । स्थानीय लाङ्मार्ला मूल र दोङबुछोक्पु मूलको पानी जम्मा गरी मुख्य पाइपलाइन र वितरण लाइन गरी १२ किलोमिटर पाईप विछ्याएर चौरीखर्क, बोसुम र क्याङ्माका ११२ घरमा निजी धारा र दुई वटा सामुदायिक धारा निर्माण गरी खानेपानी उपलब्ध गराईएको खुम्बु पासाङल्हमू गाउँपालिका ३ नं. वडाका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।

सडक यातायातको पहुँच नभएको ठाउँमा समेत चार महिनाकै अवधिमा खानेपानी योजना निर्माण सम्पन्न गरिएको वसुम खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष दानुरी शेर्पाले जानकारी दिनुभयो । खानेपानी योजना २०७६ फागुनमा निर्माण गर्न सुरु गरिएको थियो । निर्माणका लागि आवश्यक पर्ने सबै सामग्री सडक यातायातबाट टाक्सिन्दुसम्म ढुवानी गरी त्यहाँबाट हेलिकोप्टर मार्फत ढुवानी गरिएको हो ।

कादुरी एग्रिकल्चरल एड एसोसियसन, ब्रिटिश गुर्खाज नेपाल (केएएएबिजिएन) को आर्थिक सहयोगमा निर्मित उक्त खानेपानीका लागि केएएएबिजिएनले भ्याट सहित ८२ लाख १४ हजार ७ सय ८९ रुपैयाँ र उपभोक्ताले १४ लाख बराबरको श्रमदान गरेका छन् । कादुरी एग्रिकल्चरल एड एसोसियसन, ब्रिटिश गुर्खाज नेपालले खानेपानी योजना निर्माण सम्पन्न गरी हालै उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । योजनाको नियमित मर्मत तथा सम्भारको जिम्मेवारी उपभोक्ताहरुको भएपनि प्राकृतिक प्रकोप बाढी, पहिरो, भुकम्प आदिको कारणले ठूलै मर्मत सम्भारको आवश्यकता भएमा सहयोग गर्न सकिने ब्रिटिश गुर्खाज नेपालका टेक्निकल डाईरेक्टर नारायण गुरुङले जानकारी दिनुभयो ।

खुम्बु पासाङल्हामू गाउँपालिकामा केएएएबिजिएनको यो तेस्रो योजना हो । केएएएबिजिएनले सन् २०१७ मा घाट र ठाडोकोसीमा ७४ घरधुरी र एउटा स्कुलको शौचालय तथा सन् २०१९ मा छेप्लुङ र नाजिपाङका ५५ घरपरिवारका लागि खानेपानी योजना निर्माण गरेको थियो ।

आगलागी नियन्त्रणका लागि पनि पाइप
खुम्बु पासाङल्हामु गाउँपालिकाले खानेपानी योजना सँगै गाउँपालिकाको बजेटबाट आगलागी नियन्त्रणका लागि पाईप समेत बिछ्याएको छ । हिउँदको समयमा आगलागी हुने सम्भावना भएकाले त्यसको पूर्व तयारी स्वरुप वडा नं. ३ को तीनवटै वस्तीमा आगलागी नियन्त्रणका लागि पाईप बिछ्याईएको वडा अध्यक्ष मिङमा शेर्पाले जानकारी दिनुभयो ।

‘हामीले गाउँपालिकाको बजेटबाट चौरीखर्क, बोसुम र क्याङ्मामा ६३ एम्.एम.को पाइप बिछ्याएका छौं, हिउँदको समयमा आगलागी भएमा नियन्त्रण लागि अहिले नै पाईप बिछ्याएका हौं’ वडाध्यक्ष शेर्पाले भन्नुभयो । गाउँपालिकाले आगलागी नियन्त्रणका लागि पाईप बिछ्याउन २५ लाख रुपैयाँ लगानी गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »