सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुल्मीका कोरोना संक्रमितको शव नेपाली सेनाको टोलीले जंगलमा गाड्यो

गुल्मी। रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव जंगलमा गाडिएको छ । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शब निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडेको हो ।

मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर ब्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका कारण तिलोत्तमाकै वडा नं १४ अमुवा पुल नजिक ब्यवस्थापन गर्ने तयारी भएको थियो ।

पछि त्यहाँ पनि स्थानीयले सहमति दिएनन् । शुक्रबार सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा ब्यवस्थापन गर्ने प्रयत्न पनि सफल हुन नसकेपछि स्थानीय प्रशासनले कोरोना विशेष अस्पताल समेत रहेको बुटवल धागो कारखानाको पूर्वतर्फको जङ्गल क्षेत्रमा लगेर शव गाडेको हो ।

महामारीको समयमा शव व्यवस्थापन गर्न नदिंदा समाजमा गलत सन्देश जान्छ भनेर प्रहरीले ल्याएको कागजमा हस्ताक्षर गरिदिएको मृतकका भाइ मीनबहादुर कुँवरले बताए । कोरोना पोजेटिभ देखिएपछि अस्पतालले बिरामीको उपचारै नगरेको हुँदा छानबिन गर्नुपर्ने लगायतका माग यथावत रहेको उनले बताए ।

‘असहज परिस्थिति भएकाले शव उठाउनका लागि कागजमा हस्ताक्षर गरेका हौं, तर यसको मतलब हामीले माग छाडेका होइनौं’, उनले भने, ‘स्वाब संकलन गर्दा एकजना मर्चवारतिरबाट क्वारेन्टाइनबाट आएका बिरामीको पनि स्वाब संकलन गरिएको र त्यसको फाराम इमेलमार्फत पठाउँदा यताउता भएर रिपोर्ट आएको हुनसक्ने शंका पनि छ ।’

बिरामीको ढाडबाट पानी निकाल्नुको कारण र त्यसका सम्भावित जोखिमबारे अस्पतालले परिवारका आफन्तसंग कुनै जानकारी नगराउनुको कारण, कोरोना पोजेटिभ देखिएपछि गरिएको उपचार सेवाको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने परिवारको माग छ । त्यस्र्तै अस्पतालका सञ्चालक आफैले बुधबार बिहान विरामीको मृत्यु भएको भनेर मिडिया र नगरप्रमुखलाई जानकारी दिनुको कारणबारे छानबिन गर्नुपर्ने मृतकका भाइले बताए ।

मृतकसंगै स्वाब संकलन गरिएका मर्चवारका पुरुषको पहिचान गरी पुनः परीक्षण गरिनुपर्ने पनि मृतकका आफन्तको माग छ । आफ्ना मागबारे सामाजिक विकास मन्त्री सुदर्शन बराललाई समेत जानकारी गराएको उनले बताए ।

मन्त्रीले ५ गतेपछिको बिल नतिर्न सुझाव दिएको र अन्य मागबारे निवेदन लेखेर दिन भनेको मृतकका अर्का आफन्त खिमबहादुर कुंवरले बताए । शव गाड्ने विषयमा पनि आफूहरुसंग कुनै सल्लाह नगरिएको उनले बताएका छन।

भर्खरै

सम्बन्धित खबर

Language »