सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चितवनको रत्ननगरमा एक पुरुष र पोखराकी एक महिलामा आरडीटी रिपाेर्ट पोजिटिभ

चितवन । चितवनको रत्ननगरमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा एक जनामा एन्टिबडी पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।

हाल उनलाई रत्ननगरकै गुञ्जमानसिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए ।

रत्ननगर नगरपालिकाकै बासिन्दा ती व्यक्ति ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।

रत्ननगर नगरपालिकाको वडा नम्बर १० देखि १६ सम्म विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेकाहरूको मंगलबार र बुधबार आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो। त्यस क्रममा एक जनाको मात्र नतिजा पोजेटिभ आएको हो । सात जनाको स्वाब संकलन गरी भरतपुरको कोरोना प्रयोगशालामा पठाइएको छ ।

त्यस्तै पोखराकी ५५ वर्षीया महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ ।

दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतकाे नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो। पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो।

दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भए/नभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।

पोखरा–१२ का अध्यक्ष रामबहादुर कार्कीका अनुसार ती महिला आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन्। उनी दुबईमा रहेका छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी थिइन्।

भर्खरै

सम्बन्धित खबर

Language »