सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याइने

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि नेपाललाई चीनले स्वास्थ्य सामग्री र भारतले औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारले नेपाली सेनालाई सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत् खरिद गरेर सामान खरिद गर्ने जिम्मेवारी दिएको थियो। उक्त जिम्मेवारी अनुसार नेपालले चीन, भारत, इजरायल, दक्षिण कोरिया र सिंगापुरलाई कूटनीतिक माध्यममार्फत् जीटूजी खरिदको लागि पत्राचार गरेको थियो।

पत्र प्राप्त भएको लगतै चीनले आफ्‍ना वाणिज्य मन्त्रालयमार्फत् नेपालमा स्वास्थ्य सामग्री पठाउनको लागि सहकार्य गरिरहेको छ। काठमाडौंस्थित नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालले खरिदको लागि गरेको आग्रहमा आफ्‍नो सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताएकी थिइन्।

कूटनीतिक माध्यममार्फत् सेनालाई जवाफ पठाउँदै चीनले आवश्यक स्वास्थ्य सामग्री खरिदमा चीनले सहयोग गर्ने जनाएको सैनिक उच्च स्रोतले जनाएको छ। तर हालसम्म कुन स्वास्थ्य सामग्री कति आउने भन्‍ने बारे भने निर्णय भइसकेको छैन।

अर्कोतर्फ केहि दिनअघि अत्यावश्यक औषधिहरु विदेशमा निर्यात नगर्ने निर्णय गरेको भारतले पनि नेपाललाई औषधि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सैनिक स्रोतका अनुसार भारत नेपाललाई औषधि दिन तयार रहेको छ।

भारतीय मिडिया एएनआईका अनुसार भारत सरकारले नेपालसहित १३ मुलुकहरुमा करिब १४ मिलियन हाइड्रोक्सीक्लोरोक्वीन ट्याबलेट दिने निर्णय गरेको छ। अन्य मुलुकमा अमेरिका, स्पेन, जर्मनी, बहराइन, ब्राजिल, भुटान, अफगानिस्तान, माल्दिभ्स, बंगलादेश मोरिसस, डोमिनिक गणतन्त्र र सेसलेस छन्। हाइड्रोक्सीक्लोरोक्वीन बाहेक अन्य कुन कुन औषधि भारतले नेपाललाई उपलब्ध गराउने भन्ने बारे अझै निर्णय भइरहेको छैन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार भएको टेलिफोन वार्तामा पनि औषधिको विषयमा कुरा उठेको थियो। उक्त अवसरमा ओलीले मोदीलाई हालसम्म गरेको सहयोग र भविष्यमा गर्ने सहयोगको विषयमा पनि धन्यवाद दिएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »