सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चौक सौन्दर्यकरणमा सर्वदलीय सहमति

नेपालगञ्ज,नेपालगञ्जको केन्द्र विन्दुको रुपमा रहेको त्रिभुवन चोक सौन्दर्यकरणका लागि बाँकेमा क्रियाशिल राजनीतिक दलले सहमति जनाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बिहिवार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले चोकको सौन्दर्यकरण गरि नेपालको राष्ट्रिय झण्डा र नक्सा राखी संरक्षण गर्ने निर्णय गरेको हो ।

बैठकले चोकको नामाकरणका सन्दर्भमा सोही स्थानमा सार्वजनिक सुनुवाई तथा सर्वदलीय सहमतिको विधिद्वारा गर्नेगरि हाललाई सौन्दर्यकरण कार्य सुरु गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कुरुप भएको चोकमा स्तम्भ निर्माण गरि नेपालको झण्डा राख्ने निर्णय कार्यपालिकाको बोर्ड बैठकले गरेको जानकारी दिनुभयो ।

यो चोक नगरको मुटुमा छ, नगरप्रमुख डा. राणाले भन्नुभयो,– अब यसलाई सुन्दर बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । उहाँले नगरको विकासका लागि पार्टीगट धारणाबाट माथि उठेर सौन्दर्यकरण गर्न लागिएको भन्दै विकासमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख उमा थापा मगरले चोकले नेपालगञ्जलाई चिनाउने भएकाले सौन्दर्यकरण अति आवश्यक भएको बताउनुभयो । उहाँले नामाकरण लगायतका अन्य कार्य निर्माण पछि गर्न सकिने धारणा राख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले विकास निर्माणमा सबैपक्षको साथ र सहकार्य आवश्यक पर्ने बताउनुभयो । नेकपा बाँकेका सचिव अशोक कोइरालाले तत्काल सौन्दर्यकरणको काम थाल्न सुझाव दिनुभयो ।

नामाकरण लगायतका अन्य काम पछि सर्वदलीय सहमति र स्थानीयको सहभागितामा सार्वजनिक सुनुवाईबाट गर्नुपर्नेमा जोड दिनुभयो । विकासमा एकमना एकता आवश्यक भएको भन्दै उहाँले शहीदहरुको शालिक र स्मृतिका लागि वृहद शहिद पार्क बनाउन सकिने धारणा राख्नुभयो ।

नेपाली काँग्रेसका युवा नेता सुधांशु कोईराला र क्षेत्रीय सभापति रमेश गुप्ताले ईतिहासको सम्मान गर्नुपर्नेमा जोड दिदै तत्काल सौन्दर्यकरण गरि अघि बढ्न आग्रह गर्नुभयो ।

बैठकमा जनता समाजवादी पार्टीका कमरुद्धिन राई, लक्ष्मीनारायण वर्मा, श्रवण यादवले आफुहरु विकास विरोधी नभएको भन्दै चौकको नामाकरण गरेर जानुपर्ने सुझाव दिनुभयो ।

राप्रपाका युवा नेता ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, दिपेन्द्रवहादुर सिंहले इतिहास भावी पुस्ताका लागि आवश्यक पर्ने भन्दै नगरको विकासका लागि आफुहरु पार्टीगत मान्यताबाट पछि हटेर सौन्दर्यकरण गर्नुपर्नेमा सहमत भएको बताउनुभयो ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष नन्दलाल बैश्य, संघका प्रबक्ता टंक धामी,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरवहादुर वली, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उज्जलसिंह राठौर, वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता, वडा नम्बर १३ का अध्यक्ष वीरेन्द्र शाह, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको सहभागिता थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »