सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनतालाई रैतीबाट मालिक बनाउने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने

चन्द्रमणि भट्टराईकाे सहयाेगमा,


काठमाडौं
। हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने बताउँदै सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको श्रद्धाञ्जली सभामा व्यवस्था परिवर्तनसँग स्वाधीनताको विकासमा चर्चा गरिएको छ । सहिद सप्ताह अन्तर्गत दशरथ चन्द र गंगालाल श्रेष्ठले अमरत्व प्राप्त गर्नुभएको काठमाडौंको शोभा भगवती मन्दिर नजिक विष्णुमती नदी किनारामा आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्ने बक्ताहरुको धारणा यसैमा केन्द्रीत थियो ।

स्वतन्त्र मुलुकका स्वाधीन नागरिक भएको हेर्ने, जनतालाई रैतीबाट मालिक बनाउने लक्ष्य बोकेर प्राण आहुती दिएका सहिदले देखाएको बाटो हिँड्न सत्ता पक्ष र प्रतिपक्षमा बाँडिनु हुँदैन । सभामा बोल्ने क्रममा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले भन्नुभयो — महत्वपूर्ण निर्णय गर्ने बेलामा सहिदलाई सम्झिन सकियो भने मात्र पनि गलत ठाउँमा पुग्नबाट बचिन्छ । सहिदहरु दल विशेषका हुँदैनन् । उनीहरुको योगदान हरेक नागरिकका लागि हो । धारणा राख्ने क्रममा महानगरका प्रमुख एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यले — प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउने सहिदलाई, सडक दुर्घटनामा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्नु पर्ने मागबाट अलग्याएर हेर्न सक्नु पर्ने बताउनुभयो । आफ्नो र अर्को होइन ठीक कि बेठीक भनेर निर्णय लिनुपर्छ । आफ्नाले गलत गरे पनि छुट हुने अर्काले सही गरे पनि दोषी बनाउने नजर त्याग गर्न नसकेसम्म सहिदको सपना पूरा हुन सक्दैन, मेयर शाक्यको जोड थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — राजनीतिक परिवर्तनका सृङ्खलाको चर्चा गर्दै, सहिदको स्थानलाई उत्कृष्ट बनाउन १९९७ सालमा बीरगति प्राप्त गर्ने सहिदहरुको पूर्ण कदको शालिक बनाउन बडाअध्यक्षहरुलाई आग्रह गर्नुभयो । विकासमा नेतृत्व गर्नु छँदै छ,, सहिदले नागरिक जीवनको समुन्नतिका लागि देख्नु भएको सपना पूरा गर्न दल पनि परिवार जस्तो भएर काम गर्नुपर्छ, उहाँको भनाइ थियो ।

सभामा महानगरको वडा नं. १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगालले — सहिदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नु पर्ने खाँचो देखाउनुभयो । विकृत सोचले समस्या सृजना भएका छन् । अव सामुहिक हितका लागि सोच राख्नुपर्छ । यसबाट प्राप्त परिणामले सहिदको सपनामा योगदान पु¥याउँछ ।

सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, महानगरका अधिकारीहरुसँगै स्थानीयबासी सहभागी हुनुभएको थियो ।

शुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यसबखत्, एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रकालागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको र पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।
बैतडीमा जन्मिनुभएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो ।
उहाँहरुलाई ज्यानदण्ड दिइएको स्थानमा सहिद स्मारक स्तम्भ र शालिक राखिएका छन् । सहिद स्तम्भ तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो भने शालिक चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी स्थापना गराउनुभएको हो ।

श्रद्धाञ्जली सभामा, शोभा भगवतीको महिमा र सहिदको योगदानलाई चीर स्मरणीय बनाउन सुन्दर पार्क निर्माण तथा अन्य भौतिक संरचनामा सुधार गर्नु पर्नेमा जोड दिइएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »