सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिल्ला अदालतले सफाइ दिएकाे सिद्धबाबा किन पुगे उच्च अदालतमा ?

विराटनगर । महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगर पुगेका छन् ।

प्रतिवादी बनाएर चलाइएको जबरजस्ती करणी मुद्दामा सुनसरी अदालतले उनलाई सफाइ दिने फैसला सुनाएको थियो । फैसला न्यायसंगत नभएको दाबीसहित उनले उच्चमा बिहीबार पुनरावेदन निवेदन दर्ता गराएका हुन् । उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार फैसलामा भनिएजस्तो सहमति करणी नभएको जिकिरसहित सिद्धबाबाले निवेदन दर्ता गराएका छन् ।

जिल्ला अदालत सुनसरीले दुई पक्षबीचको सहमतिमा भएको करणीलाई जबरजस्ती भन्न नमिल्ने भन्दै उनलाई सफाइ दिएको थियो । तर सहमतिमा पनि करणी नभएकाले जिल्लाको फैसला उल्टाई आफूलाई सफाइ दिनुपर्ने माग सिद्धबाबाले राखेको सुवेदीको भनाइ छ ।

सिद्धबाबालाई सफाइ दिएपछि उच्च सरकारी वकिलको कार्यालयले गत फागुन २८ गते उच्च अदालत विराटनगरमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो । सो मुद्दामा उच्च अदालतले सिद्धबाबालाई उपस्थित गराउने आदेश दिइसकेको छ । गत चैत १३ गते उनलाई उच्च अदालत विराटनगरले १५ दिनभित्र झिकाउने आदेश दिएको हो । सो आदेशपछि म्याद तामेली भइसकेको छ ।

आदेशपछि उनी जिल्लाको फैसलामा प्रश्न उठाउँदै उच्च पुगेका हुन् । ‘जिल्लाको सहमति करणीको फैसलाविरुद्ध सिद्धबाबाबाट पनि निवदेन दर्ता भएको,’ उच्चका सूचना अधिकारी सुवेदीले भने, ‘विषय र प्रकृति एउटै भएकाले दुईवटै मुद्दालाई लगाउमा राखेर कानुनी प्रक्रियाअनुसार अगाडि बढाइने छ ।’

जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले जबरजस्ती करणीमा मुद्दामा सिद्धबाबालाई गत मंसिर २२ गते सफाइ दिने फैसला सुनाएको हो । प्रतिवादी पक्षको मात्रै बयानपछि जारी भएको फैसलामा महिलाको चरित्रमाथि प्रश्न उठाउँदै भनिएको थियो ‘जाहेरवाली र प्रतिवादीबीच आदान–प्रदान भएका म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकोले अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’

सिद्धबाबाले २०७६ कात्तिक ४ गते राति आफूमाथि बलात्कार गरेको आरोप एक महिला अनुयालीले लगाएकी छन् । उनले सिद्धबाबाविरुद्ध २०७६ मंसिर ११ गते करणी मुद्दामा जाहेरी दिएकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो ।

थुनछेक बहसपछि जिल्ला अदालत सुनसरीले उनलाई त्यतिबेला धरौटीमा छाड्न आदेश दिएको थियो । त्यो आदेशविरुद्ध पनि उच्च सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो । त्यतिबेला जिल्लाको फैसला उल्टाउँदै उच्च अदालतले उनलाई पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

उच्चको आदेश आउनुअघि नै उनी भागेर भारततिर गएका थिए । पछि उपस्थित भएका उनी झुम्का कारागारमा बन्दी बनेर बसे । तर जिल्ला अदालतले मुद्दा किनारा लगाउने क्रममा अन्तिम फैसला सुनाउँदै सफाइ दिएपछि सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नै आश्रममा फर्किएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »