सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डाक्टरको लापरबाहीले एकैरातमा ३ शिशुकाे मृत्यु

घटनापछि सप्तऋषि अस्पतालअगाडि जम्मा भएका पीडितका आफन्त । तस्बिर : शम्भु यादव।

सिरहा । लहानस्थित सप्तऋषि अस्पतालमा डाक्टरको लापरबाहीले ३ सुत्केरीले शिशु गुमाएका छन् । शल्यक्रियामा संलग्न डाक्टरले लापरबाही गर्दा शिशुको ज्यान गएको पीडितहरूको आरोप छ । शिशुको मृत्युपछि पीडितका आफन्तले कारबाही माग गरेका छन् । उनीहरू घटनाबारे समाचार तयार पार्दासम्म अस्पतालसँग र प्रहरी प्रशासनको रोहवरमा छलफल गरिरहेका छन् ।

शुक्रबार साँझदेखि सुत्केरी व्यथाले च्यापेपछि सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाका संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहिया गाउँकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी जानकी यादव उपचारका लागि सप्तऋषि अस्पतालमा पुगेका थिए । शनिबार बिहानसम्म तीनै जनाको पालैपालो शल्यक्रिया भयो तर कसैको पनि शिशु बाँचेन । शल्यक्रियामा डाक्टरको लापरबाही भएको पीडितका आफन्तको आरोप छ ।

डाक्टर रञ्जिता जयसवालले शल्यक्रिया गरेको अस्पतालका प्रमुख डाक्टर पशुपति चौधरीले जानकारी दिए । उपचारका क्रममा डाक्टरको लापरबाही नदेखिएको उनको दाबी छ । घटनाबारे पीडित परिवारसँग छलफल भइरहेको उनले बताए । ‘बच्चा र सुत्केरी दुवैको अवस्था खराब देखिँदा आमालाई बचाएको अस्पतालले जानकारी गराएको छ,’ इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी शरत थापाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ छानबिनपश्चात् दोषीमाथि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »