सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तपाइँको सम्बन्धविन्छेद किन भयो ?

सम्बन्ध विच्छेद कुनै सजिलो निर्णय होइन । वर्षौँ देखि सम्हालेर राखेको सम्बन्ध जब टुट्छ, त्यतिबेला व्यक्तिको मनमस्तिष्कमा निकै ठूलो असर पर्छ । आफैंलाई नराम्रो लागिरहेको अवस्थामा बाहिरी समाजले सोध्ने विभिन्न किसिमको प्रश्नले झन् ठूलो असर पार्छ । त्यसमा पनि विशेषगरी दोस्रो सम्बन्ध पनि टुट्दा यस्तो समस्या धेरै हुन्छ । यो स्थिति नेपालमा मात्र होइन, धेरै मुलुकहरुमा देख्न सकिन्छ ।

पहिलो सम्बन्ध विच्छेदमा कुरा निकै फरक हुन्छ । व्यक्तिको उमेर अझै बाँकी हुन्छ, परिपक्व भइसकेको हुँदैन र जिन्दगी र सम्बन्धप्रति त्यति धेरै संवेदनशील पनि हुँदैन । सम्बन्धविच्छेदपछि मानिसहरु यसलाई सहानुभूतिको नजरले हेर्छन् र सोच्ने गर्छन् कि गलत व्यक्तिसँग सम्बन्धमा बाँधिएको कारण यस्तो अवस्था आएको होला । अथवा कुनै कुरामा तालमेल नमिलेको हुनुपर्छ । त्यसैले मानिसले उसलाई सहयोग पनि गर्छन् ।

दोस्रो सम्बन्ध विच्छेदमा भने कुरा अर्कै हुन्छ । व्यक्ति परिपक्व र अनुभवी भइसकेको हुन्छ । साथै मानिसहरुलाई दोस्रो जीवनसाथी निकै सोचविचार गरेर मात्र चयन गरेको भान हुन्छ । यतिबेला ऊ धेरै बुझ्ने भइसकेको हुन्छ र पुरानो गल्ती दोहो¥याउन चाहँदैन । तर, दोस्रोपटक पनि राम्रो सम्बन्ध हुन सकेन भने मानिसहरु उसलाई सानो नजरले हेर्छन् । उनीहरुलाई उक्त व्यक्तिमा नै केही खराबी छ कि भन्ने आभाष हुन्छ । त्यसैले कोहीसँग पनि मिल्न सक्दैन वा सक्दिन भन्ने उनीहरुको बुझाइ हुन्छ ।

पहिलो सम्बन्धविच्छेदलाई दुर्घटना मान्न सकिन्छ । तर, दोस्रो सम्बन्धविच्छेदलाई भने कतै न कतै लापरबाही र स्वभावगत दोष मान्न सकिन्छ । व्यक्ति लामो समयसम्म मुख लुकाएर बस्नुपर्ने अवस्थामा पुग्छ । विशेषगरी महिलाको अवस्थ अझै गम्भीर हुन्छ । एकातर्फ उनीहरुलाई आर्थिक चिन्ताले सताउँछ अर्कोतर्फ बच्चाको भविष्यको चिन्ता पनि हुन्छ । त्यसमाथि विभिन्न कुरा काट्ने र लान्छना लगाउने समाज त छँदै छ ।

सम्बन्धविच्छेदसँग जोडिएका भावनात्मक अवस्था

विवाहपछि सम्बन्धविच्छेदको अवस्थाको सामना गर्ने मानिसले भावनात्मकरुपमा पनि धेरै अवस्था पार गर्न सक्छ

दुःख र हताश : मानिसलाई कुनै महत्वपूर्ण सम्बन्धको अन्त्य भएको आभाष हुन्छ । उसले आफ्नै परिवारको कसैको मृत्यु भए जत्तिकै पीडा अनुभव गर्छ । सामान्यतया यो अवधि १८ देखि ३–४ वर्षसम्म चल्छ ।

पछुतो :असफलता महसुसले मानिसमा पश्चातापको भावना उत्पन्न गर्छ । मानिसलाई आफू र परिवार तथा समाजको अपेक्षाअनुसारको काम गर्न नसकेको आभाष हुन्छ । साथै उसलाई राम्रोसँग सम्बन्ध निर्वाह गर्न नसकेको आत्मबोध हुन्छ । यो अवस्था त्यतिबेला खतरानक हुन्छ, जतिबेला लज्जा र पीडा, रिस र हताशामा बदलिन्छ ।

डर र चिन्ता : सम्बन्धविच्छेदभन्दा पहिला र सबन्धविच्छेदपछि पनि महिलाको मनमा बच्चाको भविष्य के होला भन्ने डर र चिन्ता हुन्छ । अथवा कस्ता कस्ता आर्थिक समस्याको सामना गर्नुपर्ने हो भन्ने पीर उनीहरुलाई परिरहेको हुन्छ । छिटै नै कुनै उपयुक्त जीवनसाथी नपाएको खण्डमा उनीहरुको जीवन पनि निकै कष्टप्रद हुन सक्छ ।

विशेषज्ञहरु सम्बन्धविच्छेदलाई इज्जतसँग जोड्न नहुने बताउँछन् । सम्बन्धविच्छेदपछि पनि महिलाले आफूलाई दयनीय सोच्नु हुँदैन । सधै विभिन्न कठिनाइको सामना गर्नुभन्दा सम्बन्धविच्छेद गर्नु राम्रो बाटो रहेको विश्लेषकहरुको भनाइ छ ।

वास्तवमा विवाह यस्तो बन्धन हो कि जहाँ पति र पत्नीले एकअर्कालाई बुझ्ने र एकअर्काको सम्मान गर्नु निकै जरुरी हुन्छ । यदि यो सम्बन्धमा तपाइँलाई पर्याप्त सम्मान पाइरहेको छैन जस्तो लाग्छ भने एकसाथ रहनुको कुनै फाइदा पनि छैन ।

हरेक व्यक्तिलाई शान्ति र सम्मानपूर्वक बाँच्ने अधिकार हुन्छ । आफूले आफैंलाई कमजोर महसुस गर्नु हुँदैन । नकारात्मक कुराले मानिसलाई आत्महत्याको बाटोमा पनि लान सक्छ । जीवन अन्त्य गर्नुभन्दा राम्रो आफूले आफैंलाई एक नयाँ मौका दिनु नै हो ।

उदाहरणको लागि प्रत्युषा बनर्जीलाई दिन सकिन्छ । उनी शुरुमा मकरन्दसँग प्रेममा थिइन् । उनीसँग ब्रेकअप भएपछि उनी राहुलको सम्पर्कमा आइन् । यो सम्बन्धलाई उनी कुनै पनि अवस्थामा कायम राख्न चाहन्थिन् । उनी राहुलसँग भावनात्मकरुपमा निकै जोडिएकी थिइन् । जसको परिणामस्वरुप उनीहरुको प्रेमसम्बन्ध टुट्ने अवस्था आउँदा उनले आत्महत्या गरिन् ।

तर, आत्महत्या समाधान होइन र यो उचित पनि कुनै हिसाबमा होइन । यदि तपाइँको सम्बन्ध टुटेको छ भने नडराइकन आफूलाई बलियो बनाएर मानसिकरुपमा बलियो भएर आर्थिक मजबुती पनि बढाउनतिर लाग्नु राम्रो हुन्छ ।

हतारमा सम्बन्धविच्छेद नगर्नुहोस्

सधै सम्बन्धविगच्छेदको कारण आत्मसम्मान मात्र पनि हुँदैन । सम्बन्ध टुट्ने कारण स्थिति र स्वभाव सही नहुनु पनि हुन सक्छ । त्यसैले सम्बन्धविच्छेदको फैसला हतारमा लिने भूल गर्नुहुँदैन । कहिलेकाहीँ गल्ती तपाइँको पनि हुन सक्छ । यस्तो अवस्थामा आफ्नो गल्तीलाई ध्यानमा राख्दै त्यसलाई सुधार गर्दै जीवनसाथीको सोचलाई पनि ध्यान दिनु जरुरी हुन्छ ।

आवेशमा आएर निर्णय गर्नुभन्दा पनि केही समय आफूलाई र सम्बन्धलाई दिनु राम्रो हुन्छ । यदि कहिलेकाहीँ त्यस्तै समस्या लाग्छ भने केही दिन एकै छतमुनि पनि अलगअलग बस्न सकिन्छ । जसले तपाइँलाई आफ्नो गल्ती महसुस हुन सक्छ । साथै केही समय आफनतकोमा गएर बस्नाले पनि तपाइँको दिमाग शान्त हुन सक्छ ।

दोस्रो विवाहभन्दा अगाडि

दोस्रो सम्बन्धविच्छेद मानिसको लागि निकै ठूलो दुर्घटना हो । यो अवस्थाको पीडा सहनु निकै कठिन हुन्छ । त्यसैले दोस्रोपटक आफ्नो सम्बन्ध बनाउँदै गर्दा विभिन्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ । त्यसैले दोस्रो विवाहपूर्व एकअर्कासँग राम्रोसँग आफ्नो अपेक्षा र चाहनाको विषयमा इमान्दार भएर कुरा गर्नु हुन्छ । पैसा, सम्बन्ध, अभिभावकत्वको विषयमा तपाइँको विचार के छ भन्ने कुरा आफ्ना जीवनसाथीलाई स्पष्टरुपमा भन्नुहोस् । यसलाई त्यति धेरै सहजरुपमा नलिइने भए पनि सम्बन्ध गाँस्नुभन्दा पहिला यी कुरामा पनि ध्यान दिनु जरुरी हुन्छ ।

इज्जतको विषय बन्छ सम्बन्धविच्छेद

हालै बेलायतमा एक हजार सम्बन्धविच्छेद भएका मानिसमा गरिएको अध्ययनको क्रममा सम्बन्धविच्छेद एक समस्याको कारण बन्न सक्ने पाइएको थियो । छुट्टिएका दम्पतीमध्ये आधाले विवाहपछि उनीहरुले अप्ठ्यारो र असफलताको भावना उत्पन्न भएको बताएका थिए । उनीहरुलाई आफ्नो जिन्दगीमा ठूलो धब्बा लागेको महसुस भएको थियो ।

अनुसन्धानमा एक तिहाइ मानिसले कुनै पनि हालतमा विवाह बन्धनलाई बचाउने प्रयास गरेका थिए । किनकी विवाह सधैका लागि गरिन्छ भन्ने उनीहरुको सोचाइ थियो । ४६ प्रतिशतले आफूहरुले सधैं मानिसहरुको भनाइ सुन्नुपरेको बताएका थिए ।

सम्बनधविच्छेद भइसकेपछि धेरैले प्रायः सामना गर्नुपरेको प्रश्न थियो – तपाइँको सम्बन्धविन्छेद किन भयो ?

सधैं यो प्रश्न गलत मनसायले पक्कै पनि सोधिँदैन । कहिलेकाँहीले कसैले राम्रै सोचेर पनि यो प्रश्न गरेको हुन सक्छ । यो प्रश्नको जवाफले मानिसको चरित्र र उसको दास्रो पक्षहरुको विषयमा पनि जानकारी मिल्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »