सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तराईमा विश्व चर्पी दिवस

सर्लाही। विश्व चर्पी दिवसको अवसरमा आज मंसीर ४ गते सर्लाहीमा अन्तरक्रिया तथा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नंं ७ स्थित गणेश टोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले चर्पी मानिसको लागि अति आवश्यक भएको बताउनुभएको छ ।


“मानिसलाई भोक मेटाउन खानाको आवश्यकता भएजस्तै चर्पी पनि मानिसको आधारभूत आवश्यकता हो ।” गणेश टोलस्थित प्रतिभा नमुना वस्तीका अध्यक्ष हिरा सिवाकोटीले भन्नुभयो “चर्पी नभएका घरमा चर्पी बनाउनका लागि पहल गरिएकोले अहिले लगभग सबै घरले चर्पी बनाएर चर्पी मै दिसापिसाब गर्न थालेका छन् जुन राम्रो कुरा हो ।”

उक्त कार्यक्रममा उपस्थित बागमती सेवा समाज नेपालका सहजकर्ता सरस्वती बुढाथोकी र दिपा खरेलले चर्पी मानिसको लागि किन आवश्यक छ र कस्तो प्रकारको चर्पी उपयुक्त हुन्छ भन्ने विषयमा प्रस्तुतिकरण समेत गर्नुभएको थियो । ६५ घरधुरीको बसोबास रहेको प्रतिभा नमुना वस्तीमा पछिल्लो चरणमा थुप्रै चर्पीहरु निर्माण भएको समेत वहाँले बताउनुभयो ।

यसैगरी चर्पी दिवसकै दिन पारेर बसवरिया गाउँपालिकाको वडा नं. २ स्थित नयाँ वस्ती नमुना टोलमा घरायसी चर्पीको अनुगमन गरिएको छ । नमुना वस्ती घोषणाको तयारीमा रहेको उक्त टोलमा चर्पीको अवस्था कस्तो छ, सरसफाइका सामाग्रीको उपलब्धता छ कि छैन, साबुनपानीले हात धुने स्थान निर्माण भएको छ कि छैन भनी अनुगमन गरिएको सहजकर्ता भोगेन्द्रलाल कर्णले जानकारी दिनुभयो । अनुगमनमा वडाध्यक्ष लालचन्द्र गिरी, कार्यपालिका सदस्य अन्जुदेवी पासवान, नमुनावस्तीको अध्यक्ष प्रमिलादेवी यादव लगायत सहभागी हुनुभएको थियो । यस्तै चर्पी दिवसकै अवसरमा सर्लाहीको इश्वरपुर नगरपालिका वडा नं. ३ स्थित मगरटोलमा समेत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी सहजकर्ता निरन्जन साहले दिनुभएको छ ।

यसैबीच युएन ह्याविट्याटको सहयोगमा बागमती सेवा समाज नेपाल, सर्लाहीले संचालन गरेको पूर्ण सरसफाइ परियोजना अन्तर्गत सर्लाही जिल्लाको हरिवन नगरपालिका, इश्वरपुर नगरपालिका र बसवरिया गाउँपालिकामा संचालन गरेको पूर्ण सरसफाइ परियोजनाको सहजीकरणमा नयाँ चर्पी निर्माण, चर्पी स्तरीकरण, साबुनपानीले हातधुने स्थान निर्माण, साबुनपानीले हातधुने अभियान, ठोस तथा तरल फोहोरको व्यवस्थापन, व्यक्तिगत सरसफाइ आदिका लागि जनचेतनामुलक अभियान संचालन गरिएको जानकारी टिमलिडर गजेन्द्र साहले दिनुभएको छ । यस अभियानबाट सरसफाइमा समुदायमा सकारात्मक परिवर्तन आउनुका साथै चर्पी नहुने घरधुरीले समेत धमाधम चर्पी निर्माण गरिरहेको र हातधुने स्थानहरु निर्माण गरिरहेको वहाँले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »