सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तातोपानी नाका १९ असोजबाट सञ्चालनमा आउने

सिन्धुपाल्चोक । लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएको छ । मंगलबार मितेरी पुलमा सम्पन्न दुई देशका अधिकारीबीचको बैठकले १९ असोजबाट नाका सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोरोना जोखिमका बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नाका सञ्चालन गर्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

मंगलबारको द्विदेशीय अधिकारीबीचको बैठकमा भएको सहमतिअनुसार १८ असोजमा चीन क्षेत्रको जाङमु पोर्ट सञ्चालनमा आउने र भोलिपल्टदेखि चिनियाँ सामान तातोपानी नाका हुँदै नेपाल भित्रिने र १९ गतेदेखि धमाधम सामान आउन थाल्नेछन् ढकालले बताए ।

नाका सञ्चालनका लागि चिनियाँले स्वास्थ्य सुरक्षाको सवाललाई गम्भीररूपमा लिन र ‘प्रोटोकल’ पूरा गर्न आग्रह गरेका छन् । सामान आयातका लागि जाने चालक, सहचालक र लोडर मजदुरका अनिवार्य पीसीआर गरिनेछ । चालक सहचालक र मजदुरसमेत गरी एक सिफ्टमा २९ जनासम्म नेपाली रहनेछन् । चिनियाँले नाका सञ्चालन भएपछि ५/५ दिनमा नाकामा खटिने चालक, सहचालक र मजदुरहरूको पीसीआर गर्ने सहमति भएको छ ।

२०७१ साउन १७ को जुरे पहिरोले तातोपानी नाकाको व्यापारमा धक्का लाग्यो । त्यसपछि २०७२ को विनाशकारी भूकम्पले सीमाक्षेत्र तहसनहस बनेपछि तातोपानी नाका पूर्णतया बन्द भएको थियो । २०७३ को भोटेकोसी बाढीले नाकाक्षेत्रको सडक क्षतविक्षत बनाइदिएका कारण नाका सञ्चालनमा थप कठिनाइ थपिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »