सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालमा १०० केभीएकाे ट्रान्सफरमर १० वटा थपिँदै, संघीय सांसद गंगा बहादुर दाेङबाट उद्घाटन

काठमाडौँ । तेमाल गाउँपालिका वडा नं. ८ का जनताको मागलाई सम्बोधन गरेर संघीय सांसद गंगा बहादुर दोङको पहलमा १०० केभिए क्षमता भएको विद्युतीय ट्रान्सफर्मर उपलब्ध गराएको छ । शनिबार संघीय सांसद तथा प्रमुख अतिथि गंगा बहादुर दोङ, पूर्व राज्य मन्त्री तथा विशिष्ट अतिथि सूर्यमान दोङ, प्रदेश सांसद रत्न ढकाल, लगायतका व्यक्तिहरुको उपस्थितिमा सो ट्रान्सफर्मरको उद्घाटन गरिएको थियो ।

तेमाल विद्युत सामुदायिक विद्युतीकरण सहकारी संस्था लि. को आयोजनामा गरिएको उक्त कार्यक्रममा १०१ वर्ष पुगेका वृद्ध सिंगमान तामाङले कार्यक्रममा पुगेका सबैलाई खाता लगाएर स्वागत गरेका थिए । तेमाल गाउँपालिकाको सबै भन्दा जेष्ठ नागरीक उहाँ नै हुनुहुन्छ ।

तेमालको जनाताले चाहना गरेका हरेक विकासका ढोकाहरु खुलिसकेको हुनाले चाँडै ति विकासका आधारभूतहरु पनि पुरा हुने प्रमुख अतिथि तथा संघीय सांसद गंगा बहादुर दोङले बताउनु भएको छ ।

उहाँ भन्नु हुन्छ “चुनावको समयमा यहाँको जनताले विद्युतीय ट्रान्सफरमरको माग गरेका थिए । त्यो बाचा आज हामीले पुरा गर्यौ । यहाँको जनताको अर्को माग भनेको खानेपानी हो । यो पनि चाँडै पुरा हुँदैछ । किन भने हामीले तेमाल डाँडामा सुनकोशीको पानी तानेर यहाँको जनताको माग पुरा गर्नेछौँ । जनताको लागि अति आवश्यक सडक बाटो यो मेरो कार्यकालमा नै पुरा हुनेछ । मैले तेमालको सडक कालोपत्रे गर्नका लागि भनेर ३० करोड बजेट विनियोजन गरि सकेको छु । त्यो कार्य पनि अबको केही महिना भित्रमा शुरु हुने नै छन् ।”

तेमालको मेच्छे वडा नं. ८ का नेपाली कांग्रेसको केही नेता तथा कार्यकर्ताहरुले लक्ष्मी बहादुरले गरेको वडाको सडक बाटोको विषयमा कुरा उठाएको थियो तर संघीय सांसद गंगा बहादुर दोङले नपुगेको बजेट संघबाट हालिदिने तर त्यो नपुग बजेट माग्नलाई नेपाली कांग्रेसको वडा सभापति हिरालाल तामाङ नै आउनु पर्छ भन्दै सांसदले जनताको माग पुरा गर्नका लागि पार्टी वा कार्यकर्ता भनेर विभेद नगर्ने बताउनु भएको छ ।

तेमाल गाउँपालिकामा हालसम्म ५० केभीए को मात्र ट्रान्सफरमरको भरमा विद्युत प्रभाव हुँदै आएको थियो । सहकारीका सचिन इन्द्रमान तामाङको भनाईलाई आधार मान्ने हो भने सहकारीको ३ करोड ५९ लाख बजेटबाट १० वटा १०० केभीएको ट्रान्सफरमर थपेर विद्युत प्रभाव गराउने र हाल ५० केभीएको १२ वटा ट्रान्सफरमरको स्तरोन्नती गरेर तेमालमा घरी-घरी विद्युत जाने समस्यालाई हल गर्ने योजना रहेको छ ।

तेमाल गाउँपालिकामा रहेका काठको पोललाई परिवर्तन गरेर फलामको पोल राख्नका लागि पनि संघीय सांसद गंगा बहादुर दोङ र प्रदेश सांसद रत्न ढकालबाट १ करोड १९ लाख बजेट तेमाल सामुदायीक विद्युतीकरण सहकारी लि. लाई उपलब्ध गराएको छ ।

कार्यक्रममा पूर्व राज्य मन्त्री सूर्यमान दोङले आफू सांसद र मन्त्री भएको समयमा तेमालको लागि गरिएका विकासको बारेमा चर्चा गर्नु भएको थियो ।

यसैगरी प्रदेश सांसद रत्न ढकालले तेमाल गाउँपालिकाको वडा नं. ८ मा सबै भन्दा धेरै प्रदेशको बजेट रहेको जानकारी दिँदै उहाँले भन्नुभयो “लिफ्टीङ सिंचाई, सडक, कृषि लगायतको क्षेत्रमा करोडौं बजेटको व्यवस्था गरेको छ ।”

कार्यक्रममा नेकपाका जिल्ला सदस्य इन्द्र तामाङले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको निर्देशन अनुसार नै बजेटको व्यवस्था गरेको बताए । निर्वाचनमा पार्टीले जनतासमक्ष राखेको प्रतिबद्धता अुनसार नै मेच्छे गाउँमा ट्रान्सफर्मरको व्यवस्था गरेको बताए ।

सो गाउँमा ट्रान्सफर्मर नहुँदा जनताले विभिन्न खालका समस्याहरु व्यहोर्दै आएका थिए । हाल्फ बत्ती बल्ने, कुनै विद्युतिय मेशिन चलाउन नुहने लगायतका समस्याहरु व्यहोरेको स्थानीय पुस्कर रायमाझीलेजानकारी गराएका थिए ।

तेमाल सामुदायिक विद्युतिकरण सहकारी संस्था लिमिटेडका अध्यक्ष सार्कीमान तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मीबादुर घिसिङ, नेकपाका जिल्ला सदस्यहरु डिएम लामा, घनश्याम लामा, समिर लामा, राष्ट्रिय युव संघ काभ्रेका नेता हजारसिं तामाङ, नेपाली काँग्रेसका ८ नं. वडा सभापति लालबहादुर तामाङ लगायतका स्थानीय जनताको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »