सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल दाेस्राे अध्यक्ष कप शुरू, किन विवाद भयाे पहिलाे दिनमा नै ?

काठमाडौँ । खेलकुद विकास समिति काभ्रेको तेमाल गाउँपालिकाको आयोजनामा माघ २५ गते आइतबारबाट चापाखोरी रङ्खशालामा दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

सोनाम ल्होछारको पूर्व सन्ध्यामा आयोजित प्रतियोगिताको संविधानसभा सदस्य तिर्थ लामाले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामाले खेलले अनुशासन सिकाउने बताउनुभयो ।

४ दशक लामो जीवनकालपछि आफूले जीवनमा इमान्दारिताको महत्वपूर्ण भुमिका रहेको कुरा महसुस गरेको उल्लेख गर्दै प्रमुख अतिथि लामाले सफल र आनन्ददायी जीवनका लागि अनुशासन र इमान्दारिता नभुल्न युवाहरुलाई आग्रह गर्नुभयो ।

तेमालको विकासका लागि राजनीतिक आस्थामा विभाजित नभई सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिदै उहाँले यहाँको समृद्धिका लागि पक्की सडक पूर्वाधार,सुनकोशी तेस्रो जलविद्युत आयोजनालाई अघि बढाउनुपर्ने बताउनु भएको छ ।

विशिष्ट अतिथि पालिका अध्यक्ष सलाम सिं तामाङले तेमाल सरकारले युवा क्षमताको विकास र कदरका लागि खेलकुद लगायतका कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो–“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद,तेमालको पहिचानको लागि खेलकुद भन्ने हेतुले दोस्रो साल पनि हामीले यसखालको प्रतियोगिता आयोजना गरेका हौं ।” साथै पालिकाले चालु आर्थिक वर्षभित्र रंगशाला निर्माणको योजना सम्पन्न गर्नेगरी डिपिआर गरिसकेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँले तेमालको समग्र विकासका कार्यक्रम तथा योजना तिव्र गतिमा अघि बढाएको पनि बताउनुभयो ।

उद्घाटन समारोहका अतिथि संविधानसभा सदस्य निर्वाचन क्षेत्र नं। १ का प्रत्यासी उम्मेद्धार एवं समाजसेवी संग्रामजीत लामाले तेमालको विकासमा तेमाल सरकारले चालेका सकारात्मक कदमप्रति आफ्नो पनि साथ रहेको धारणा राख्नुभयो ।

स्वागत मन्तव्य राख्दै वडा नं। ७ का अध्यक्ष एवं तेमाल सरकारका प्रवक्ता ज्ञानबहादुर मोक्तानले आफ्नो वडामा पालिकास्तरीय रंगशाला बन्न लागेको उल्लेख गर्दै यसबाट आगामी दिनमा हुने प्रतियोगिताहरु व्यवस्थीत हुने विश्वास व्यक्त गर्नुभयो । यस योजनाका लागि पालिकाले ६० लाख बजेट विनियोजन गरेकोप्रति प्रवक्ता मोक्तानले धन्यवाद व्यक्त गर्नुभयो ।

पालिका उपाध्यक्ष एवं खेलकूद विकास समितिका अध्यक्ष दुर्गामाया तामाङले दोस्रो अध्यक्षकप सफलताका लागि जनप्रतिनिधि,युवा,खेलाडी,खेलप्रेमी सबैको साथ उत्तिकै महत्वपूर्ण रहने बताउनुभयो । खेल जसले जिते पनि आखिर तेमालकै जनताले जित्ने उल्लेख गर्दै उहाँले यिनै अवधरणासाथ यो प्रतियोगिता आयोजना गरिएको धारणा व्यक्त गर्नुभयो ।

“जसले जिते पनि तेमालको छोरोले जित्ने हो,तेमालकै गौरव हो ।” समिति अध्यक्ष तामाङले भन्नुभयो–“खेलको नीति नियममा रहेर,अनुशासनमा रहेर खेल खेल्न सबै खेलाडीहरुमा अनुरोध गर्न चाहान्छु ।” उहाँका अनुसार प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी ९ वटा टिम प्रतिस्पर्धाका लागि छानिएका छन् ।

अध्यक्ष कपको उद्घाटन खेल तेमाल गाउँपालिका वडा नं.१ को टिम र वडा नंं.७ को टिम बीच भएको छ । पहिलो खेल १–३ गोलले टुंगो लाग्यो । वडा नं १ को टिम विरुद्ध ७ नं. वडाका टिमले ३ गोल गरेर उसले खेल आफ्नो पोल्टामा पार्न सफल भएको हो । वडा नं. १ का तर्फबाट १ उत्कृष्ट गोल भएको थियो । दुबै टिमले ति सबै गोल हाल्फ समयपछि गरेका हुन् ।

त्यस्तै प्रतियोगिताको दोस्रो खेल वडा नं.४ को टिम र वडा नं.९ को टिमबीच भएको छ । यो खेलमा वडा नं. ४ को टिम ४ गोलले स्तव्ध भयो । वडा नं. ९ को टिमले ४ गोल गर्यो भने वडा नं. ९ को टिम विरुद्ध वडा नं. ४ को टिमले पनि १ गोल जवाफ दिन सफल भयो । यो दुई टोलीको खेल कडा प्रतिस्पर्धा जस्तो देखिएपनि वडा नं. ४ ले १ गोल मात्रै फर्काउन सकेको हो ।

प्रतियोगिता यहि २७ गते सम्पन्न गर्ने आयोजकको लक्ष्य छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख रुपैयाँ,दोस्रो हुने टिमले १ लाख ५० हजार रुपैयाँ,तेस्रो हुने टिमले १ लाख रुपैयाँ र सान्त्वना प्राप्त टिमले ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सबै भन्दा बढी गोल गर्ने खेलाडीले जनही नगद ५र५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका पुरस्कृत सबै टिम र खेलाडीलाई मेडल र प्रमाणपत्रद्वारा पनि सम्मान गरिनेछ ।


तेमालमा विभिन्न युवा समुहहरुले बेलाबेलामा सानातिना फुटबल प्रतियोगिताहरु गर्दै नै आएका छन् । तेमालमा आयोजित यो प्रतियोगितालाई दोस्रो ठुलो प्रतियोगिता मानिएको छ । तेमालमै यो ठूलो धनराशी पुरस्कार भएको प्रतियोगिता पनि हो । यसअघि पालिका आफ्नै आयोजनामा गत वर्ष पनि अध्यक्ष कप भएको थियो ।

यो पटकको प्रतियोगिताले युवामा उत्साह जगाएको छ । यो पटकको प्रतियोगिता केहि व्यवस्थित देखिएको छ । प्रतियोगिता राम्रो बनाउनकै लागि स्थानीय स्तरमा पनि तयारी भएको देखियो । वडा कार्यालयहरुले आर्थिक वर्ष २०७७र०७८ मा प्रत्येक वडास्तरबाटै तयारी बजेट विनियोजन गरी युवाहरुमा सकारात्मक सन्देश प्रवाह गरे ।

गत आर्थिक वर्षको तुलनामा यो पटक खेलाडी क्षमता विकासमा पनि ध्यान दिएको देखिएको छ । बाटो जोत्नुमा मात्रै विकास देख्दै आएका जनप्रतिनिधिहरुले यो पटक खेलकुदलाई सम्बोधन गरी युवा मनलाई जित्ने प्रयास गरेकोले तेमालका युवा जमातमा उत्साह देखिनु स्वभाविक नै हो । आफ्नो ठाउँको पहिचानका लागि पनि युवा र खेलकुदप्रति वडा स्तरका जनप्रतिनिधि सकारात्मक भएका छन् ।

खेल हार्ने वडा र ति वडाका युवा जमातले अझै केहि सिक्ने मौका भने प्रतियोगिताले दिएकै छ । जित्नेका लागि पनि खेल जीवनमा नयाँ उचाई हाँसील गर्न सिकाई नै हुनेछ ।

किन भयो त झगडा ?
उद्घाटन सत्रको वडा नं. ६ ठुलो पर्सेलसँगको तेस्राे खेलको अन्तिम चरणमा रेफ्रीसँगको सामान्य भनाभन हुँदा झडप हुने अवस्था सृजना भएको थियो । कोलाहल शुरुहुन थाले पछि खेल मैदान छोडेर रेफ्री बाहिरीएको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार रेफ्रीले खेलको निर्णयक परिणाम नदिएको कारणले उक्त टिम बीचको खेल के गर्ने भन्ने अन्योल सृजना भएको स्रोतले जानकारी दिएको छ ।


आयोजक टिमले यो समाचारलाई सामान्यरुपमा प्रस्तुत गरेता पनि नयाँ रेफ्री नआएसम्म खेल हुन नसक्ने समाचार स्रोतले सारा खबरलाई बताएका छन् । विस्तृत जानकारी सहितको समाचार भोलि प्रकाशन हुने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »