सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थाहा नगरपालिका गैरीगाउँमा पहिरो जादा एकको मृत्यु

हरिस् गोले तामाङ,

मकवानपुर । थाहा नगरपालिका वडा–१२ अन्गर्तत गैरीगाउँ भन्ने स्थानमा पहिरो खस्दा ढुङ्गाखानीका एक कर्मचारीको मृत्यु भएको छ ।

बिहीबार साँझपख करिब ६ बजेको समयमा आएको पहिरोमा पुरिएर ढुंगाखानीमा काम गर्ने ५५ वर्षीय काले मोक्तानको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

ढुङ्गाखानीको रेखदेख गर्ने कर्मचारी रहेका मृतक मोक्तान टिपर फसेपछि हेर्न गएका बेला अचानक माथिबाट आएको पहिरोमा परेर ज्यान गुमाएको उनका छोरा राजकुमार मोक्तानले बताए ।

उनले खानीमा ढुंगा लोड गर्नका लागि पार्किङमा राखिएको ३ वटा ट्रिपर र स्काभेटर समेत पुरिएको बताए ।

राजकुमारले ट्रिपरमा अरु व्यक्ति हताहत भए नभएको यकिन नभएको बताए । साथै, उनले बुबा काले मोक्तानको शव पोष्टमार्टमका लागि हेटौंडा लैजाने तयारी भइरहेको बताए ।

विभिन्न सिमेन्ट उद्योगलाई कच्चापदार्थ बिक्री गर्दै आएको माइनिङ एण्ड माइनिङ कम्पनीले मापदण्ड पुरा नगरी लामो समयदेखि चुनढुंगा खानी उत्खनन गरिरहेकाले कम्पनीलाई आवश्यक कारवाही गर्नु पर्ने स्थानीयहरुले बताएका छन् ।

केहीले मापदण्ड पुरा नगरी र केहीले अवैधरुपमा समेत खानी सञ्चालन गरिरहेको कारण सुख्खा पहिरो झरेको हुनसक्ने भन्दै स्थानीय सूर्य लामाले नियमनकारी निकायले अवैध र मापदण्ड पुरा नगरी चलाइएका खानी र सञ्चालकहरुलाई अबिलम्ब कानुनी कारवाहीको दायरामा ल्याउन र मृतक मोक्तानका परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने बताए ।

इलाका प्रहरी कार्यालय पालुङले पहिरोमा पुरिएका मोक्तानको शव निकालिएको साथै पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध रहेको र तत्काल राजमार्ग सुचारु हुने अवस्था नरहेको जानकरी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »