सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दलित बस्ती सरसफाइमा नमुना बस्तीकाे रूपमा

बाजुरा । बडीमालिका नगरपालिका वडा नं. ६ मा पर्ने गैरीगाउँमा ३३ घर दलित परिवार बसोबास गर्छन । गैर दलित समुदायले दलित बस्तीलाई फोहोरको पर्यायको रुपमा लिईने पुरानै परम्परा हो । तर कोर्धको गैरीगाउँ दलित टोलले यो परम्परागत बिचारलाई गलत साबित गराई दिएको छ । पूर्ण सरसफाइ अभियान अन्तर्गत सरसफाइ सम्बन्धी जनचेतनामुलक तथा क्षमता विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन भएपछि सरसफाइ प्रति दलित समुदायको झुकाव बढ्न थालेको हो ।

हाल गैरी गाउँको प्रत्येक घरमा शौचालय छन, शौचालयमा जाँदा प्रयोग गरिने छुट्टै चप्पल र शौचालय सफा गर्न ब्रस राखिएका छन् । भाँडा धुने जुठ्यान र भाँडा सुकाउने चाङ पनि बनाएका छन् । घर आँगन सरसफाइयुक्त भएका छन भने २५ घरधुरीले शुद्ध खानेपानीका लागि फिल्टर प्रयोग गरिरहेका छन् । गैरीगाउँलाई सरसफाइमा नमुना बनाउन एक नमुना समुदाय मुल व्यवस्थापन समिति र हरेक सूचकको एक एक उपसमिति गरी ६ वटा उपसमितिहरु गठन गरिएका छन् । ती सबै उपसमितिले आ आफ्नो अभियान प्रभावकारी रुपमा सञ्चालन गरिरहेका छन् ।

गैरीगाउँ टोललाई नमुना बनाउन ६ नं. वडा कार्यालयले ८ बोरा सिमेन्ट उपलब्ध गराएको छ भने गाउँमा सुधारिएको चुलो जडानका लागि सहास नेपाल नामक गैह्र सरकारी संस्थासंग सहकार्य भईरहेको सो वडाका सरसफाइ सहजकर्ता विक्रम साउदले बताउनुभयो । सुधारिएको चुलोका लागि ७५ प्रतिशत संस्थाबाट अनुदान र २५ प्रतिशत घरधनीले व्यहोर्ने गरी कुरा भईरहेको उहाँको भनाई छ ।

बडीमालिका नगरपालिका र युएन ह्याबिट्याटले गैरी गाउँमा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेपछि अहिले गाउँका सबै जसो नागरिकले आफ्नो व्यक्तिगत सरसफाइलाई महत्व दिन थालेका छन् । गाउँलाई बडीमालिका नगरपालिकाकै सरसफाइमा नमुना टोल बनाउने योजना सहित काम भईरहेको टोलका युवा धन लवारले बताउनुभयो ।

नगरपालिकाका वडा नं. १ को खेतिपातल, वडा नं. २ को प्रतिभा टोल, वडा नं. ३ को सेरगाँउ टोल, वडा नं. ४ को भगवति टोल, वडा नं. ५ को दलित टोल, वडा नं. ६ को गैरीगाँउ टोल, वडा नं. ७ को ढम्कने टोल, वडा नं. ८ को रापक र वडा नं. ९ को चौराटा लाई पूर्ण सरसफाइको नमुना समुदायको रुपमा विकास गर्न लागिरहेको युएन ह्याबिट्याट बडीमालिका नगरपालिकाका संयोजक विरेन्द्र रावलले बताउनुभयो । वडा स्तरिय खानेपानी सरसफाइ तथा समन्वय समितिद्धारा पूर्ण सरसफाइमा नमुना बनाउने उद्देश्यका साथ बडीमालिका नगरपालिका र युएन ह्याविट्याटको सहकार्यमा नगरपालिकाका ९ वटै वडामा रहेका टोललाई नमुनाको रुपमा विकास गर्न सरसफाइ सम्बन्धी विभिन्न क्रियाकलाहरु सञ्चालन भईरहेका छन् ।

खुला दिसामुक्त भैसकेपछि नगरपालिकाद्धारा पूर्ण सरसफाइको अभियानलाई अगाडि बढाउन विभिन्न गैह्र सरकारी संघ संस्थाहरु सँग सहकार्य गरिरहेको बडीमालिकाका नगरप्रमुख पदम बडुवालले बताउनुभयो । बडीमालिका नगरपालिकाले युनिसेफ सँगको सहकार्यमा नगरपालिकाका सवै घरधुरीमा एक घर एक धाराको अभियान पनि अगाडि बढाईरहेको छ । त्यस्तै नगरपालिकाद्धारा फोहर व्यवस्थापनका लागि बजार क्षेत्रमा डस्विन, फोहर संकलनका लागि नियमित गाडीको व्यवस्था गरिएको ।

भर्खरै

सम्बन्धित खबर

Language »