सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दशगजामा २५ सय नेपाली अझै अलपत्र अवस्थामा

बुटवल । भारतसंग सीमा जोडिएका रुपन्देही र कपिलवस्तुका विभिन्न नाकामा झण्डै २५ सय जना नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न शहरमा रोजगारी गरेर स्वदेश फर्कने क्रममा लकडाउनमा परेर भारतीय क्वारेन्टाइनमा २४ दिन बसेका उनीहरू अझै स्वदेश फर्कन पाएका छैनन् ।

रुपन्देहीको बेलहिया नाका हुँदै नेपालका विभिन्न जिल्ला आउनुपर्ने एक हजार तीन सय बढी नेपाली नौतनवामा रोकिएका छन् । उनीहरुमध्ये धेरैजसोले नौतनवाको क्वारेन्टाइनमा २४ दिनको बसाई पूरा गरेका छन् ।

यस्तै कपिलवस्तुका मर्यादपुर, चाकरचौडा, कृष्णनगर र हर्दौना लगायतका नाकामा स्वदेश फर्कनुपर्ने झण्डै एक हजार नेपाली चार दिनदेखि अलपत्र परेका छन् । कपिलवस्तुको सीमा क्षेत्रमा अलपत्र परेकाहरु भारतीय भूमिमा टेन्टमुनि असुरक्षित तरिकाले रात गुजारिरहेका छन् । कतिपय भने लुकिछिपी नेपाल भित्रिरहेका छन् ।

यसैबीच प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न मुलुकमा अलपत्र परेका र विदेशबाट फर्कन चाहेका नेपालीलाई तत्कालै स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबार बसेको बैठकले नेपाल फर्काएपछि उनीहरुलाई नेपालमा कहाँ कसरी राख्ने सोसम्बन्धी कार्य अविलम्ब गर्न पनि निर्देशन दिएको छ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित तबरबाट तत्काल नेपाल फर्काउन सर्वोच्च अदालतले दिएको परमादेशको परिपालना गर्न पनि सरकारलाई निर्देशन दिएको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए।

यसैगरी बैठकले लकडाउनको समयमा स्वदेशभित्र रहेका मजदूरले भोग्नुपरेको समाधान गर्न र ती मजदूरलाई आवश्यक सहयोग उनीहरुको खाना तथा बस्ने प्रबन्ध मिलाउ पनि निर्देशन दिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »