सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’

काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छ । जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् ।

‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद विघटनको धारा ख्वै’, ‘हामी अरु जान्दैनौं, प्रतिनिधिसभा विघटन मान्दैनौं’ भन्दै चर्का नारा पनि लगाएका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँबानेश्वरसम्म आएर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सहसंयोजक तामाङले संसद विघटन नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।

जुलुसमा सहभागी भए पनि पूर्वमन्त्री भट्टराईले भने कोणसभालाई सम्बोधन गरेनन् ।

काठमाडौं उपत्यकामा लालटिन बालेर जुलुस प्रदर्शन गरिए पनि काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा लालटिन, सिटी वा लाठी जुलुस निकालेर विरोध प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।

मंगलबार बसेको अनेरास्ववियूको बैठकले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । मंगलबार मन्त्रीहरुलाई कालो झण्डा देखाउने र सबै कलेजहरुमा कालो ब्यानर राख्ने काम गरेको अनेरास्ववियूले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरेको छ ।

फाेटाे कान्तिपुर अनलाइनबाट

भर्खरै

सम्बन्धित खबर

Language »