धनकुटा । धनकुटामा मंगलबार पुनः पाँच जना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना भाइरस पोजिटिभ पाइएको हो ।
धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवारको सदस्य रहेका विपीका सहायक प्रवक्ता डा अशोक ऐरले बताए । थप चार संक्रमितमा एक महिला र चार पुरुष रहेका छन् । ३४ बर्षकी महिलासहित २८, २९, ३५ र ३७ बर्षीय पुरुषमा संक्रमण पाइएको हो ।
दुई दिन अघि धनकुटामा अस्पतालमा कार्यरत नर्सलाई संक्रमण पोजिटिभ पाइएपछि अस्पताल तथा उनीसंग सम्पर्कमा आएकाहरू ८३ जनाको स्वाब संकलन गरि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको हो । तीमध्ये पाँचजनामा कोरोना पोजेटिभ देखिएको हो । यस्को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि भने हुन बाँकी छ ।
धनकुटामा योसहित संक्रमितको संख्या ६ पुगेको छ ।
प्रदेश एकमा यस अघि संक्रमितको संख्या ५४ रहेको अवस्थामा पाँच संक्रमित थपिएपछि संक्रमित ५९ पुगेका छन् ।